काठमाडौं– निर्माता तथा कलाकार अशोक शर्माले निर्देशन गरेको फिल्म ‘रातो टिका निधारमा’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। यो फिल्मबाट उनका छोरा अंकित पहिलोपल्ट अभिनेताका रुपमा फिल्ममा डेब्यू हुँदैछन्, साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी बनेर।
फिल्म रिलिजको पूर्व सन्ध्या अर्थात् मंगलबार। निर्देशक अशोक शर्मा, अंकित, साम्राज्ञी र रवीन्द्र झा लगायतको टोली गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा व्यस्त देखिन्थे। त्यहाँ रहेका दृष्टिविहीन र अनाथ बालबालिकाहरूसँग थिए उनीहरू। ती बालबालिकाहरूलाई नयाँ कपडा उपहार दिएर टिमले आत्मीयता प्रकट गरेजस्तो देखिन्थ्यो। वेमेन्स रूम्स रिलोटेड (ध्च्च्) को सहकार्यमा असोज १० गते रिलिज हुने सिनेमा ‘रातो टिका निधारमा’ले फाउन्डेसनलाई सहयोग गरेको थियो।
झट्ट हेर्दा त्यो दृश्यले कलाकारहरूको उदारपनलाई देखाउँछ। ‘कलाकारहरू संवेदनशील र भावुक हुन्छन्। चलचित्र टिमले गरेको यो सहयोग त्यसकै उदाहरण हो,’ यो दृश्यले मनमा यही कुरा उब्जाउँछ।
यद्यपि, अनाथ तथा अशक्त बालबालिकालाई एकैछिनको सदासयताले कलाकारको कर्तब्य पूरा हुन्छ र? फिल्म रिलिजकै पूर्वसन्ध्यामा मात्र अनाथ बालबालिकाहरूलाई माया दर्शाउनुलाई कुन अर्थमा लिने? सम्भवत् नायिका सम्राज्ञीको सहयोगको यो जीवनकै पहिलो अनुभव हुनुपर्छ। उनी आफैंले भनेकी छन्, ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइन्। पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सानो सहयोग गर्न पाउँदा खुशी लागेको छ।’
जीवनमै पहिलो पटक यी बालबालिकालाई सहयोग गरेजस्तो गर्नु नै साम्राज्ञीको सस्तो भावुकता हो। उसो त यसलाई फिल्म प्रचारको हतियारमात्र बनाएको टिप्पणी बजारमा चलिरहेको छ। ‘कतै यो एउटा कपडा उपहार दिई माया बटुलेजस्तो गरेर दर्शकलाई हलसम्म तान्ने इमोसनल रणनीति त हैन ?,’ फिल्म युनिटको यो प्रचार काइदामाथि फिल्म वृत्तमा यसरी पनि टिप्पणी भइरहेको छ।
सोझो अर्थमा भन्नुपर्दा देखिएको पनि त्यस्तै छ। त्यसो त फिल्म हलमा लाग्नूपूर्व फिल्मकर्मीले अनेक फन्डा अपनाउने शैली नेपाली फिल्म क्षेत्रमा नयाँ पनि होइन। कलाकार आफैंमा सिर्जनशील हनुपर्छ। आफ्नो सिर्जनीशलतामा विश्वास गर्नुभन्दा दर्शकको भावुकतालाई ‘क्यास’ गर्न खोज्नु त्यति उचित हुन्न।
कलाकारलाई एकैछिन बालबालिकासँग रमाएको देख्दा केहीसमय दर्शक भावुक हुन सक्लान् तर यसकै कारण फिल्म हेर्न हलसम्म पक्कै नजालान्। फिल्म युनिटले प्रिमियर शो आयोजना गरेर खर्च गर्ने रकम यसरी बालबालिकाका लागि खर्चिएको दाबी पनि गरिरहेको छ। हुन त यो सुःखद खबर नै हो।


तर, सधैँ फिल्म रिलिजताका नै किन? यो त कहिल्यै गाउँ नपस्ने नेताहरु चुनावताका प्रत्येकको घरदैलो पसेजस्तो भएन र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।