गीत लेख्दा धेरै सर्जकहरूले सम्झिएको ठाउँ हो ‘बटौली’। जुन कतिपय गीतहरूमा लयबद्ध भएर सुनिएको पनि छ। उसो त बटौली इतिहास, किंवदन्ती र संस्कृतिको एउटा बलियो बिम्बसमेत बनिसकेको छ। कालान्तरमा बुटवल सहरमा विलीन भइसकेको यो बजार पुराना पुस्ताहरूको सुरक्षित स्मृति पनि हो। जुन, नव पिँढीहरूका निम्ति खोजी र रुचिको विषय बन्न सक्छ।
भर्खरै यही ठाउँलाई बोल बनाएर फेरि अर्को गीत बजारमा आएको छ- ‘बटौली’।
‘तिनाउँको तिरैमा बजार बटौली
हेरौली ऐनामा कपाल कोरौली
गुन्यु चोली लाइसकिछौ, अब त कम्मर कसौली’
केही दिनअघि मात्रै सार्वजनिक भएको यो गीतको शब्द, संगीत र लयले मन्त्रमुग्ध बनाउँछ। पूरै गीत सुनिसकेपछि लाग्छ- एउटा दुर्लभ गीत। यस अर्थमा कि, गीतले बटौलीको इतिहास र तीन दशकअघिको संस्कृति ‘रि-कल’ गराउन सकेको छ।
गीत एउटा कथानकमा बगेको छ। गाउँको आम प्रवृत्ति र मनोविज्ञानलाई शब्दले अनौठो ढंगले टपक्कै टिपेको छ। हिजोको ‘बटौली’ र त्यहाँको परम्परालाई गीतका प्रत्येक शब्दहरूले स्मृतिमा खिचेका छन्। अडियोको मात्र कुरा गर्दा गीत अपूरो हुन्छ। भिडियोको कुरा गरौं।
बटौली र पाल्पाको दृश्य। पुराना र साँघुरा घर, पुराना शैलीका कपडा। विशुद्ध ग्रामीण परिवेश। ५ मिनेट ४५ सेकेन्डको भिडियोमा कलाकार विपीन कार्कीको ‘जबरजस्त’ अभिनय। चलचित्रका ठूला पर्दाहरूमा देखिने विपीन ‘बटौली’को म्युजिक भिडियोमा देखिएका छन्, फरक चरित्रमा अब्बल अभिनयको साथ।
बेस्वादका संगीत र म्युजिक भिडियोको बाढी आइरहेको बेला नेपालमा नयाँपन झल्काउने यति स्तरीय गीत र म्युजिक भिडियो बन्नु अनौठो कुरा हो।
गीतले तानिसकेपछि पंक्तिकारलाई यसको पृष्ठभूमि जान्ने ‘हुटहुटी’ जाग्यो। यही ‘हुटहुटी’ले लेखक हर्क साउदको सम्पर्कसम्म पुर्यायो। साउदसँगको संवाद गीतका विषयमा केन्द्रित थिए। गीतको पृष्ठभूमिबारे जान्नु थियो।
गीतकार साउद रचनागर्भबारे बताउन ३ वर्षअघितर्फ धकेलिए।
०००
‘बटौली’का गायक हुन्, मनिष ढकाल। २/३ वर्षदेखि नै गायक मनिष र हर्कबीच संवाद चलिरहेको थियो। नयाँ गीतमा काम गर्नें उनीहरूको योजना थियो। पृथक र स्तरीय गीत लेख्नु चुनौतीको विषय थियो नै।
‘कस्तो गीत लेख्ने’ भन्ने सोचाइले हर्कलाई गहिरिन बाध्य बनायो। एकदिन अचानक उनको दिमागका क्लिक भएर आयो ‘बटौली बजार।’
हर्कको घर डोटी। तापनि परिचित थिए उनी बटौलीसँग। त्यहाँको रहनसहन र मौलिक संस्कृति बुझ्ने उनमा रुचिसमेत थियो।
‘त्यहाँको पुरानो समाज र संस्कृतितर्फ मैले फर्किएर हेरेँ, अनि गीत लेख्न मन लाग्यो,’ सम्झँदै हर्कले भने।

तीन दशक अघिको बटौलीको समुदाय। जहाँ बच्चा पेटमा हुने बितिकै सम्धी सम्धिना भन्ने चलन थियो। विवाह भन्ने थाहै हुन्थेन, बच्चाहरूको बाल विवाह हुन्थ्यो। बिहे गरिदिएर दुलही माइतैमा छाड्ने चलन थियो। १२/१४ वर्षपछाडि जब केटा–केटी ठूला हुन्थे तब दुलही भित्र्याउने चलन हुन्थ्यो।
ती पुराना समयलाई सम्झेपछि हर्कमा नयाँ उत्साह थपियो। शब्दहरू उनिन थाले। केही महिनाहरू त सोच्दा, लेख्दा र बुन्दामै बिते। गीत लेखेपछि मनिष र हर्कको नयाँ प्रोजेक्ट बनिहाल्यो। गीतलाई संगीत दिनु थियो। संगीत दिने भए संगीतकार एस डी योगीले। संगीत फाइनल भएपछि गीत रेकर्डिङमा गयो।
रेकर्ड भएर आएको गीतले उनीहरूको टिमलाई प्रसन्न तुल्यायो। गीत तयार भएपछि एउटै काम बाँकी रह्यो, भिडियो। नेपालमा म्युजिक भिडियोमा खासै मेहेनत हुन्नन्। २ दिनमा काम सकिने गरी म्युजिक भिडियो बनाइन्छन्। तर, यो गीतको म्युजिक भिडियोको कहानी फरक छ।
‘म सबै काम परिपक्व ढंगले गर्न चाहन्थेँ। गीतको बलियो पक्ष भिडियो पनि हो,’ हर्कले भने, ‘त्यसकारण राम्रो भिडियोको लागि धेरै सोच्यौं।’
केही निर्देशकसँग कुरा भयो। कतिले चासो देखाएनन्। जो–कोहीलाई दिन उचित थिएनन्। हर्कको एकदिन निर्देशक नवीन चौहानसँग भेट भयो।
युवावयका निर्देशक नवीनले ‘लुकिछिपी’ भन्ने म्युजिक भिडियो बनाएका थिए। हालै इमेज अवार्डमा ‘लुकिछिपी’ले सर्वोत्कृष्ट म्युजिक भिडियोको अवार्ड र नवीनले वेस्ट डिरेक्टर अवार्ड समेत जितेका छन्।
हर्कसँग नवीनको पुरानो चिनजान। ‘लुकिछिपी’ रिलिज भएपछि हर्कले नवीनलाई बोलाए र आफ्नो प्रोजेक्टबारे सुनाए। त्यसमा काम गर्न प्रस्ताव गरे।
नवीन काम गरिहालौं भन्ने मुडमा थिएनन्। तर, नाइँ भन्न सकेनन्। ‘जसरी नि गर्नुपर्छ’ भन्ने हर्कको अनुरोधलाई नवीनले लत्याउन चाहेनन्। त्यसपछि नवीनले निकैबेर बटौलीको गीत सुने। गीतको म्युजिक र शब्दले उनलाई भित्रैबाट छोयो। उनलाई लाग्यो, ‘अब मैले यसको भिडियो बनाउनुपर्छ।’
त्यसपछि बाँकी चुनौती नवीनको हातमा थियो।
गीतमा कथाको खोजी
भिडियोलाई लिएर कथा नै भन्नुपर्छ भन्ने नवीनलाई लाग्यो। एक दुई दिनमा भिडियो गरेर सक्ने नवीनको सोचाइ थिएन। सर्वप्रथम त भिडियोको लागि स्टोरी डेभलप गर्नु थियो। नवीनले धेरै सोचे– कुन बिन्दुमा रहेर कथा भन्नेर।
‘त्यसका लागि मैलेधेरै पल्ट सुने गीत,’ उनले भने।
गीत सुन्दै गर्दा उनले एउटा कुरा पत्ता लगाए–गीतमा एक जना केटा मान्छे यात्रामा छ। मायालुको लागि भेट्न निकै उत्साही छ, तड्पिएको छ।
‘त्यो केटा मान्छे किन यति उत्साहित हुन्छ भन्ने कुरा मैले भेट्टाएँ। त्यो यौन हो। उसले केटीलाई भेटेर अंगालो मार्न मात्र उत्साहित भएको हैन। त्यसपछिको परिकल्पना गर्दा पनि मान्छे उत्साहित र उमंग भएर आउँछ,’ नवीनले आफ्नो परिकल्पनाबारे बताए।
.JPG)
जब कथाको विकास भयो, तब उनले हर्कलाई गएर सुनाए। उनीहरूको कुरा मिल्यो। ५ मिनेटको अवधिमा पात्रको चरित्र र कथा भन्न निकै गाह्रो कुरा थियो। नवीनले अवस्थालाई सजिलै बताउन गीतका अगाडि डाइलगहरू थपेर झनै आकर्षक बनाए।
भिडियोमा उनले पुरानो कल्चरलाई टिपेर गाउँ घरको स–साना कुराहरूलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।
गाउँ घरमा कसरी संवाद हुन्छ? केटाकेटी कसरी पौडी खेल्न रुचाउँछन्? सेलरोटी कसरी चोर्छन्? जस्ता यावत् कुराहरूलाई उनले बुनेका छन्।
स–साना कुराहरूले व्यक्तिको यात्रालाई कसरी याद्गार बनाउने भन्ने कुरामा निर्देशकले धेरै ख्याल गरेका छन्।यात्राको क्रममा साँझ बाटोमा बास बस्दा सहयात्रीको घरमा बस्ने पुराना चलनलाई भिडियोमा उनले उतारेका छन्।अहिले त्यस्ता धेरै कुराहरू नामेट छन्। अहिले महिलाले चुरुट खाँदा हामीलाई अचम्म लाग्छ। तर, पहिला–पहिला बुढा बुढीको घर झगडा भयो भने पनि चुरोट सुर्तीले कुरा मिलाउँथे।
नवीनले भिडियोमा तीनै पुरानो समयको स्टोरी बताए।
भिडियोमा एउटा रोचक दृश्य छ– केटी पात्र माइतीबाट दुलहा(विपीन कार्की)सँग घर जाँदैछिन्। बाटोमा कुरालाई खुलाउनको लागि पनि दुलाहाले चुरोटको साहारा लिएका छन्। दुवैले चुरोट ठोसेको देखाइएको छ।
.JPG)
नवीन हुर्के बढेको पाँचथरमा। जुन एकदमै ग्रामीण भेग थियो। गाउँभित्रको मनोविज्ञान बुझ्न उनलाई त्यसैले पनि गाह्रो भएन।
त्यो समय, कुनै पनि घरमा केटाको बिहे भयो भने ‘आज राति सुन्न जाने है, कसरी बोल्छ त्यो। सुहागरातमा उसले के भन्छ’ भन्ने अल्लारे केटाहरूको योजना नै हुन्थ्यो।
त्यो मनोविज्ञान र यथार्थलाई उनले भिडियोमा प्रस्तुत गरेका छन्। त्यो समयको लबज र बोलीचालीलाई निर्देशकले आकर्षक ढंगले भिडियोमा प्रयोग गरेका छन्।
विपीन कार्कीको इन्ट्री
कुनै फरक पात्रमा रहेर अभिनय गर्नु चानचुने कुरा होइन। भिडियोको कन्सेप्ट आएलगत्तै नवीनको मस्तिष्कमा कलाकार छाए– विपीन कार्की। ‘हो, यसमा विपीन कार्कीको विकल्प छैन,’ उनले सोचे।
तर, कसरी खेलाउने विपीनलाई। विपीनसँग पुग्नु नै अफ्ठेरो कुरा थियो। विपीनलाई प्रोजेक्टमा सामेल गराउनु नै सबैभन्दा ठूलो चुनौतीको विषय बन्यो।
कारण, विपीन म्युजिक भिडियोमा सक्रिय कलाकार थिएनन्। फिल्ममै उनको व्यस्तता चुलिएको थियो। छानेर मात्रै काम गर्ने बानी।
गायक मनिषले भने, ‘प्रयास गरौं न। सम्भव पनि त हुन सक्छ नि।’
विपीनलाई भेट्नकै लागि धेरै पटक फोन गर्नुपर्यो। एकदिन विपीनले भेट्नका लागि नवीनलाई समय दिए।
भेट भयो।
भेटमा कुराकानी भयो। नवीनले विपीनलाई भिडियोको कथा सुनाए। कथा सुनिसकेपछि विपीनले भने, ‘भाइ तपाईंले कथा त भन्नुभयो। तर, कथामा भनेजसरी यो देखाउन सजिलो छैन नि त। एउटा भनेर गयो, अर्को भएर आउँछ। नियती त मैले भोगेको छु।’
नवीनले विपीनलाई कन्भिन्स गर्नका एउटा अनुरोध गरे, ‘दाइ मेरो यो तेस्रो भिडियो हो। मैले बनाएको दोस्रो भिडियो त हेर्नुस् न एकपल्ट।’
त्यसपछि विपीनले नवीनको ‘लुकिछिपी’ हेरे। भिडियो हेरेलगत्तै विपीनमा एकाएक परिवर्तन आयो। लगत्तै विपीनले हौसिएर भने, ‘ल, भाइ तपाईंले सक्नुहुन्छ जस्तो लाग्यो। गर्नैं लेख्या रैछ त, गरौं न त एकपल्ट। नयाँ टेस्ट पनि हुन्छ। यतिको गर्ने मान्छेले गर्नुहुन्छ भन्ने मलाई विश्वास भयो।’
त्यसपछि सुरु भयो म्युजिक भिडियोको काम। ‘भिडियो बनाउन चार महिना लाग्यो, निकै दुःख र मिहेनत गरेर बनाइएको म्युजिक भिडियो हो यो,’ नवीन उत्साहित हुँदै भन्छन्।
गीतको भिडियोमा विपीन लगायत अनू काफ्ले, सुमन मगर, मनाङ लावती र गीतकार हर्क लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।