विमानस्थलमा पार्किङका हेलिकोप्टरबाट इन्धन चोरी

नेपाल लाइभ | २०७६ भदौ ३१ मंगलबार | Tuesday, September 17, 2019 २०:२१:०० मा प्रकाशित

काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई इन्धन चोरी भएको भन्दै नागरिक उड्डयन प्राधिकरणमा उजुरी परेको छ।

विमानस्थल स्रोतका अनुसार पार्किङ गरी राखिएका दुई कम्पनीका हेलिकप्टरबाट तेल चोरी भएको हो।

प्राधिकरणको उच्च व्यवस्थापनको बैठकमा हेलिकोप्टर व्यवसायीहरूले तेल चोरी भएको उजुरी गरेका थिए।

प्रभु हेलिकोप्टर र हेली एभरेस्टबाट तेल चोरी भएको भन्दै उजुरी परेको प्राधिकरण स्रोतले जानकारी दिएको छ। 

यी दुई कम्पनीका हेलिकोप्टरबाट ११ सय लिटर इन्धन चोरी भएको स्रोतले उल्लेख गरेको छ। 

'पार्किङमा राखिएको प्रभु हेलिकप्टरबाट ७ सय लिटर र हेली एभरेस्टबाट ४ सय लिटर इन्धन चोरी भएको गुनासो आएको छ,' विमानस्थलका एक कर्मचारीले भने।

यसअघि पनि नेपाल वायुसेवा निगमका जहाजबाट इन्धन चोरी हुने गरेको गुनासो आएको थियो। 

प्राधिकरणले यस विषयमा छानबिन गर्ने बताएको छ।

प्राधिकरणका प्रमुख राजन पोखरेलले भने, 'सत्यतथ्य के हो छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन गरिएको छ।'