काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशीले २००७ सालपछि गुठीलाई दशा लागेको बताएका छन्।
डा गोविन्द टण्डनको पुनर्मुद्रित पुस्तक ‘नेपालमा गुठीव्यवस्था’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै जोशीले नेपाली इतिहासमा राज्यव्यवस्थाको कुरा गर्दा गुठीको बारेमा चर्चा नगरी सुख नपाइने बताए।
‘पाँचौं शताब्दीदेखि गुठीको विकास भएको हामी पाउँछौं। पछिसम्मै राम्रोसँग चलेको हामी पाउँछौं’, जोशीले भने, ‘के भो, कसो भो २००७ साल लागेपछि दशा लाग्यो। गुठी नै गुठी जस्तो भएन। धर्म, संस्कृति, परम्परा कसरी रक्षा गर्नुपर्छ, सुरक्षा गर्नुपर्छ, सञ्चालन गर्नुपर्छ, सम्बर्द्धन गर्नुपर्छ भन्ने नै भएन। ‘कल्चर ग्रोथ’को कुरा पनि आएन, ‘एकेडेमिक ग्रोथ’को कुरा पनि आएन। बरु गुठीका जग्गा सखाप भयो।‘
पुस्तकका लेखक टण्डनले गुठीव्यवस्थालाई नेपालभित्रको अनेकतालाई एकतामा जोड्ने सूत्रको दर्शनको रुपमा अर्थ्याए। डा पुरुषोत्तमलोचन श्रेष्ठसँगको अन्तरसंवादमा उनले एकथरि मान्छेले गुठी व्यवस्थालाई नरुचाएको बताए। ‘गुठी रहिरह्यो भने धर्म रहिरहन्छ’, उनले अर्थ्याए, ‘त्यो रहिरह्यो भने उनीहरुको मनमश्तिष्कमा अरु चिज घुसाउन सकिँदैन।‘
गुठी व्यवस्था भनेको साम्यवाद र समाजवादको पराकाष्ठा भएको टण्डनले बताए। कारण खोतल्दै उनले भने, ‘कसैले जग्गा आफूले किनेर भगवानको नाममा राखेर कुनै व्यक्तिलाई कमाएर खाऊ भन्न अहिले संसारका कुनै साम्यवादी र समाजवादीले सकेका छन्? तर, हाम्रा पुर्खाहरुले गरेर देखाइदिए।’

२००७ सालअघि मानिसहरुमा गुठीप्रति असाध्यै श्रद्धा रहेको उनले बताए। ‘गुठी र रैकर जग्गा जोडिएको छ भने रैकरवालाले गुठीको अन्न पर्छ भनेर एकहात अन्न काट्दै काट्दैनथ्यो। गुठीको एक अन्न मकहाँ आयो भने सात पुस्ता बिग्रिन्छ भन्थे’, उदाहरण दिँदै उनले भने, ‘अहिले गुठी जग्गा पायो कि अतिक्रमण गर्ने प्रचलन बढ्यो।’
उनले गुठी संस्थान रक्षकको नाममा भक्षक भएर आएको बताए।
२४ वर्षअघि नै प्रकाशित पुस्तकलाई सांग्रिला बुक्सले पुनर्मुद्रण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।