सहरी पूर्वाधार विकासमा मात्र ५१ अर्ब डलरसम्म लगानी अपुग!

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 २२:०१:०० मा प्रकाशित

काठमाडौं- दिगो आर्थिक वृद्धिका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने एक अध्ययनले देखाएको छ। हालै गरिएको सो अध्ययनले सन् २०३० सम्ममा सहरी विकासमा मात्र ५१ अर्ब अमेरिकी डलरसम्म लगानी आवश्यक पर्ने देखाएको छ। 

पूर्वाधार सम्मेलनअघि सन् २०१९-२०३० सम्म कुन क्षेत्रमा कति लगानी आवश्यक हुन्छ भनी गरिएको सो अध्ययनमा सरकार र निजी क्षेत्रले आवश्यकता र उपलब्धताबीचको ग्याप व्यवस्थापन गर्न सहज नरहेको उल्लेख छ। 

सबैभन्दा बढी सहरी विकासमा लगानी आवश्यक हुन सक्ने अध्ययनको ठहर छ। ऊर्जा क्षेत्रमा करिब साढे ४ अर्बदेखि १९ अर्बसम्म, यातायातमा करिक ४९ अर्बसम्म, खानेपानी तथा सरसफाइमा १२ अर्बसम्म र सहरी विकासमा १६ अर्बदेखि ५१ अर्ब डलरसम्म लगानी अपुग हुने अनुमान अध्ययनको छ।

सरकारले मात्र यो लगानी जुटाउन नसक्ने अध्ययनको निष्कर्ष छ। यो ग्याप पूर्ति गर्न निजी क्षेत्रलाई अवसर दिइनुपर्ने अध्ययनको सुझाव छ। लगानीका लागि निजी क्षेत्रालाई उत्साहित गर्न लगानीको वातावरण सिर्जना गर्नुपर्ने अध्ययनले भनेको छ। 

सन् २०३० सम्म ५ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न पनि ३० अर्ब डलर लगानीको व्यवस्थापन गर्नुपर्ने अध्ययनले उल्लेख गरेको छ। यसैगरी ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न ३७ अर्ब डलर लगानी आवश्यक रहेको छ। दोहोरो अंकको आर्थिक वृद्धिका लागि कम्तीमा पनि ४५ अर्ब डलर लगानी गर्नुपर्ने अध्ययनले उल्लेख गरेको छ।