काठमाडौं- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले पनि परिवर्त्र्य विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था लागू गरेको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० अनुसार नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र पाएका लघुवित्त वित्तीय संस्थाहरुका लागि यस्तो व्यवस्था गरेको जनाएको हो।
लघुवित्त संस्थाले बैंक तथा वित्तीय संस्थाका साथै नियामक निकायबाट स्वीकृतप्राप्त विदेशी पेन्सन फन्ड, हेज फन्डलगायत अन्य संस्थाहरुबाट परिवर्त्र्य विदेशी मुद्रामा ऋण लिन सक्ने राष्ट्र बैंकले जनाएको छ।
लघुवित्त वित्तीय संस्थाले विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र, लघु उद्यम तथा व्यवसाय, लघु जलविद्युत तथा नवीकरणीय उर्जा, रोजगारी तथा स्वरोजगारी सिर्जनामार्फत आयआर्जन, गरिबी निवारण र उत्पादन अभिवृद्धिमा सहयोगका लागि यस्तो यस्तो ऋणको सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ।
यस्ता व्यवसायमा सहयोग पुग्ने गरी लघुवित्त संस्थाको कारोबार क्षेत्रभित्र पर्ने उद्यम, व्यवसाय, परियोजना, साना तथा मझौला उद्योग, अन्य उत्पादनमूलक क्षेत्र आदिमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न राष्ट्र बैंकले यो व्यवस्था ल्याएको हो।
लघुवित्त कम्पनीहरुले विदेशी बैंक तथा वित्तीय संस्थाहरुका साथै नियामक निकायबाट स्वीकृतिप्राप्त विदेशी पेन्सन फन्ड, हेज फन्डलगायतका श्रोतबाट परिवर्त्र्य विदेशी मुद्रामा ऋण लिन सक्नेछन्।
नेपाल राष्ट्र बैंकले तोकको पुँजीकोष पुर्याएका लघुवित्तहरुले मात्रै विदेशी परिवर्त्र्य मुद्रामा ऋण लिन सक्नेछन्। यस्तो ऋण लिँदा उक्त ऋण रकमसमेत जोड्दा आफ्नो प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म मात्र वित्तीय श्रोत परिचालन हुन सक्ने गरी यस्तो व्यवस्था मिलाउनु पर्नेछ।
राष्ट्र बैंककाअनुसार विदेशी परिवर्त्र्य मुद्रामा लिएको ऋणको भुक्तानी अवधि न्यूनतम एक वर्षदेखि ५ वर्षसम्मका हुनु पर्नेछ। तर राष्ट्र बैंकको स्वीकृति लिई त्यसलाई नवीकरण गर्न सक्ने जनाएको छ।
यस्तो ऋण लिन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्नेछ भने ऋण विदेशबाट भित्र्याउने प्रयोजनका लागि ऋण प्रदान गर्ने विदेशी संस्थालाई कुनै किसिमको धितो, जमानत, बैंक ग्यारेन्टी दिन पाइने छैन।
त्यसैगरी, ऋण रकम भित्रिसकेपछि पनि राष्ट्र बैंकमा लेखांकन गरिनुपर्छ। ऋणको ब्याज भुक्तानी गर्दा कानुन अनुसार लाग्ने कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्नेछ।
बैंकले ऋण भित्र्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।