काठमाडौं- नेपाल राष्ट्र बैंकले सिन्डिकेटधारी यातायात समितिको बैंक खाता फुकुवा गरेको छ। सोमबार राष्ट्र बैंकले रोकिएको अवस्थामा रहेका साविकका यातायात व्यवसायी समितिका बैंक खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो।
गत साउन १६ गते मन्त्रिपरिषद् बैठकको निर्णयपछि अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले भदौ १२ गते राष्ट्र बैंकलाई पत्राचार गर्दै साविकका सबै यातायात समितिका खाता फुकुका गर्न भनेको थियो। सोही पत्रका आधारमा त्यस्ता बैंक खाताहरु फुकुवा गर्न निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।
रोक्का राखिएका साविक यायायात व्यवसायी समितिका नामा रहेको चल/अचल सम्पत्ति (बैंक खातामा रहेको रकमसमेत) प्रचलित नियमानुसार रुपान्तरिक कम्पनीको खातामा सार्ने व्यवस्था गर्न गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले पत्राचार गरेको हो।
राष्ट्र बैंकका अनुसार प्रदेश नम्बर १ का ३२, प्रदेश २ का १०, प्रदेश ३ का १ सय १८, प्रदेश ४ का २४, प्रदेश ५ का ४०, प्रदेश ६ का १२ र प्रदेश ७ का ९ गरी २ सय ४३ वटा समितिका बैंक खाता फुकुवा गर्न निर्देशन दिइएको हो।
सरकारले सिन्डिकेट अन्त्य गर्नका लागि भन्दै सिन्डिकेटधारी सबै यातायात समितिका बैंक खाता रोक्का गरिदिएको थियो।
हाल सबै यातायाता व्यवसायी समिति खारेज गरी कम्पनीमा जान तयार भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।