यस्ता छन् नेपाली बजारमा उपलब्ध इन्ट्रिलेवल कार [मूल्यसहित]

नेपाल लाइभ | २०७६ भदौ ७ शनिबार | Saturday, August 24, 2019 ०८:३०:०० मा प्रकाशित

काठमाडौं- दुईपांग्रे सवारी प्रयोगकर्ताले त्यसलाई विस्थापित गरेर कार चढ्ने चाहना राख्छन्। उनीहरुका लागि उपयुक्त विकल्पको रुपमा 'इन्ट्रिलेवल कार' हुने गरेको छ।

पछिल्लो समय आममानिसको आय स्तरमा आएको वृद्धि र रेमिट्यान्सको प्रवाह बढेकाले कार चढ्नेको संख्यासमेत बढेको देखिन्छ। ४/५ वर्ष यताको साना सवारी दर्तामा आएको वृद्धिले नेपालीहरुमा कारको पहुँच बढेको बुझ्न गाह्रो पर्दैन।

कार चढ्ने रहर सडक सञ्जालले छोएका सबै ठाउँमा बस्ने मानिसमा हुनु स्वभाविक हो। तर, कार चढ्ने आयस्तर भएका सिमित मानिसको मात्र उक्त रहर पूरा हुने गरेको छ। नेपाली उपभोक्तामा सस्तो इन्ट्रीलेभल कार चढ्नेको संख्या बढ्दै गइरहेको व्यवसायीहरु बताउँछन्।

नेपाली बजारमा १८/२० लाखदेखि २५/२६ लाख रुपैयाँसम्मका कारलाई इन्ट्रिलेवल कारका रुपमा लिने गरिएको छ। केही वर्ष अघिसम्म कारलाई पूर्ण विलासी साधन र उच्च घरानियाहरुले चढ्ने साधनका रुपमा लिइन्थ्यो। तथापि अहिले पनि हाम्रो समाजले सवारी साधनलाई विलासीताको साधनका रुपमा नै हेर्ने गर्छ।

यसको मुख्य कारण चारपांग्रे सवारीमा लाग्ने भन्सारलगायतका कर अत्याधिक हुँदा सवारीको मूल्य महँगो हुन जानु हो।

हुन्डाईको सेन्ट्रोदेखि ग्रान्ड आइ-१० सम्म, मारुती सुजुकीको अल्टोदेखि सेलेरियोसम्म, होन्डाको अमेज सिरिज, फोर्डको फिगो सिरिज, टाटाको टियागो, डटसन रेडिगो, रोनो क्विडलगायत रहेका छन्। यी कारको नेपाली बजार मूल्य १४ देखि २५ लाख रुपैयाँसम्म रहेका छन्। अन्य कम्पनीका पनि यो सेगमेन्टका कारहरु नेपाली बजारमा उपलब्ध गराउने क्रम जारी नै रहेको देखिन्छ।

यसले उपभोक्तामा इन्ट्रिलेवल कार खरिदमा छनोटको अवसर दिएको छ नै व्यवसायीलाई पनि आफ्नो सवारी बिक्रीका लागि उपभोक्ता आकर्षण गर्न छुट तथा मूल्य घटाउनसमेत घचघच्याएको छ।

नेपाली बजारमा कार बिक्री बढ्नुको मुख्य कारण नै इन्ट्रिलेवल कार भएको व्यवसायीहरुको भनाइ छ। हाल बैंक तथा वित्तीय संस्थाले सवारी ऋण सहज र सरल रुपमा उपलब्ध गराएकाले पनि मोटरसाइकल चढ्दै आएका र आयस्तर सामान्य भन्दा अल्लि बढी भएकाहरुले इन्ट्रिलेवलका कार खरिद गर्ने गरेका छन्।

तर पछिल्लो समय सवारी कर्जामा राष्ट्र बैंकले सीमा तोकिदिएकाले केही समस्या परेको व्यवसायीहरुको गुनासो छ। नेपाली बजारमा बिक्री हुने सबै कारमध्ये इन्ट्रिलेवलका कारको हिस्सा करिब ४० प्रतिशत छ। जबकी महँगो कार (एक करोड रुपैयाँ माथिका) चढ्नेको संख्या कार चढ्ने कूल उपभोक्तामध्ये ५ प्रतिशतभन्दा कम रहेको बताइन्छ।

अटो शोमा आउने धेरै उपभोक्ताको चासो इन्ट्रिलेवल कारमै रहने गरेको छ। 'नाडा अटो शो २०१९' भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।

नेपाली बजारमा उपलब्ध केही ब्रान्डका इन्ट्रिलेवल कारहरु :

(स्रोत : नाडाद्वारा प्रकाशित मूल्यसूची)