‘जीवनमा पहिलोपल्ट रोएको क्षण याद छ?’
गत बिहीबार नेपाल लाइभको स्टुडियोमा आइपुगेका अभिनेता प्रमोद अग्रहरीसँग गफैगफमा पंक्तिकारले विल्कुलै ‘क्याजुअल’ प्रश्न गर्यो।
जवाफमा उनी भावुक सुनिए। ‘एकपल्ट सानोमा प्लास्टिकको बन्दुक किन्नका लागि बुबाको खल्तीबाट १५ रुपैयाँ चोरेको थिएँ,’ उनले सम्झिए, ‘त्यतिबेला बुबाको खुब रामधुलाई भेटेको थिएँ। निकै रोएको थिएँ।’
रोएको क्षण सुनाउने क्रम रोकिएन। उनले अझै थप्दै गए- ‘त्यस्तै एकचोटि घरमा ममीबुबालाई नभनिकन साथीसँग माछा मार्न गएको थिएँ। त्यतिबेला घोँगी बटुलेर खाइएको थियो। पछि आमाले थाहा पाएर गालामा चड्कन हान्नुभएको थियो। खुब मिस गर्छु त्यो चड्कन।'
अब प्रमोदसँगको ‘आँशु संवाद’ रोकिने छाँटकाट देखिएन। पंक्तिकारले फेरि सोध्यो, ‘अनि जीवनमा पछिल्लोपटक चाहिँ कहिले रुनुभएको थियो?’
एकछिन सम्झिए। सम्झदा-सम्झदै मुहारको मौसम बदलिएर अचानक अँध्यारो भयो। ‘दुई दिनअघि मात्रै राति सपनामा ममीलाई देखेँ। एकदमै गाह्रो भयो मलाई,’ बोली अक्कमकिँदै थियो, उनी बोलिरहेका थिए।
‘कस्तो सपना?’
‘डरलाग्दो सपना,’ उनी सुनाउँदै गए, ‘ममी घरको तल बसिरहनु भएको रैछ रे, म चाहिँ माथि चढेछु। अचानक पूरै घर भत्किएछ। तर, कसैलाई केही भएनछ। सि वाज सेफ।’
‘सि वाज सेफ’ भनिरहँदा उनको मुहारमा कुनै चमक थिएन।
होस् पनि कसरी, उनको जीवन केवल उनले देखेको सपनामा पो बाँचेको थियो। यथार्थमा त १९ वर्षअघि नै उनकी आमा यो धर्तीबाट परलोक भइसकेकी थिइन्।
सपनाबाट ब्युँझिनासाथ उनी खुब रोएछन्, आमा सम्झिएर। यसरी आमा सम्झिएर उनी धेरैपल्ट रोएका छन्।
.JPG)
त्यसदिन सपना देखेर उनी निकै डराएछन्। भोलिपल्ट बिहानै गुरुजीलाई फोन गरेर सबै सुनाए। गुरुजीले आत्तिनु पर्दैन भनेपछि मन अलि हल्का भयो। ‘त्यसपछि सधैँझै पूजा गरियो,’ उनले सुनाए।
‘धर्मप्रति निकै आस्था राख्नुहुन्छ हो?’
भावुक माहोललाई थोरै ‘डाइभर्ट’ गर्न पंक्तिकारले प्रश्न मोड्यो। तर, जवाफमा फेरि आमाकै प्रसंग निस्कियो, ‘हो, धर्मप्रति आस्था त राख्छु। पशुपति पनि जान्छु तर अगरबत्ति चाहिँ सधैँ म ममीलाई मात्रै बाल्छु।’
ममी उनको सबैभन्दा ठूलो भगवान् हुन्। उनी पनि सानैदेखि ममीको मुटुको टुक्रा थिए। ९ सन्तानमध्ये सबैभन्दा कान्छा उनी ममीका प्यारा थिए। भन्छन्, ‘ममीले मलाई गर्ने प्रेम देखेर दाइहरू पनि डाह गर्थे।’
फेरि अनायस उनका आखा रसाए। बोली अड्कियो। सानो छँदा आमाले सधैँ उनलाई भन्नुहुन्थ्यो, ‘ओइ, हिरो।’
आज उनलाई लाग्छ आमाको त्यही सम्बोधनले कलाकार बनायो।
‘म फिल्म लाइनमा त आएँ तर मैले मेरो काम उहाँलाई देखाउनै पाइनँ,’ उनले भावुक हुँदै भने, ‘जिन्दगीमा केही कुराको अभाव खड्किन्छ भने त्यो यही कुरा हो। ममी जिवित हुनुभएको भए आज मेरो काम देखेर कति खुसी हुनुहुन्थ्यो होला। उहाँले मेरो लागि धेरै गर्नुभयो तर मैले केही गर्न पाइनँ। अहिले त केही गर्न सक्ने भइसकेको छु। उहाँ मसँग हुनुभएको भए साडी भए पनि किनेर दिनसक्थेँ होला भन्ने लाग्छ।’
आफ्नो आमालाई कसले पो ‘मिस’ गर्दैन र? धेरै व्याख्या गर्नैपर्दैन।
फिल्म इन्डस्ट्रीमा प्रवेश गरेपछि प्रमोदलाई धेरैपल्ट त्यो सम्बन्धको अभाव खड्कियो। एउटा फिल्म छ, जसले जीवनमा उनको फिल्म करिअर खासै प्रभाव नपारे पनि व्यक्तिगत जीवनमा पार्यो।
त्यो हो, करिश्मा मानन्धरले बनाएको फिल्म ‘फागु’, जसले उनलाई चर्चा दिएन तर सम्बन्ध दियो। ‘मलाई फागु फिल्मले दिएको सम्बन्ध हो, गौरी मल्ल। मैले उहाँलाई आफ्नो आमाको रूपमा पाइरहेको छु। खाना, खाजा खाइरहँदा प्रायः मलाई सम्झिरहनु हुन्छ। छोराझैँ प्रेम गर्नुहुन्छ, केयर गर्नुहुन्छ। त्यसैले म खुसी छु।’
०००
प्रमोदको अभिनय यात्राले एक दशक पार गरिसक्यो। यो बीचमा उनले दर्जनौं फिल्ममा काम गरिसके। फिल्मवृत्तमा उनले एउटा असल र प्रतिभाशाली अभिनेताको छवि बनाएका छन्।
‘एक दशकको अभिनय यात्रालाई आफ्नै जीवनसँग जोडेर हेर्नुपर्दा कसरी हेर्नुहुन्छ?’
पंक्तिकारको प्रश्नमा उनले भने, ‘कुनै बेला मसँग कोही पनि थिएन, यो फिल्डमा काम गर्नुपर्छ भन्ने। तर, आज मसँग पुरै इन्डस्ट्री छ, मिडिया छ, फ्यान हुनुहुन्छ। उहाँहरु मेरो राम्रो कामको तारिफ गर्नुहुन्छ, गलत काम गर्दा सुझाव। जे होस्, खुसी लाग्छ।’
उनी सानैदेखि नाच्नमा माहिर थिए। मार्सल आर्ट पनि राम्रो खेल्थे। एकदिन बुटवलका एक जना गायक साथीले उनलाई म्युजिक भिडियोमा खेल्न अफर गरेछन्। नाच्नमा सौखिन उनले सहजै अफर स्वीकार गरे।
सानो छँदा आमाले सधैँ उनलाई भन्नुहुन्थ्यो, ‘ओइ, हिरो।’ आज उनलाई लाग्छ आमाको त्यही सम्बोधनले कलाकार बनायो।
तर, त्यतिबेला उनलाई एक्टिङको ‘ए’ पनि थाहा थिएन। त्यत्तिकैमा निर्देशक राजेश विश्वकर्माले उनलाई ‘तिम्रो मायामा’ फिल्मका लागि सानो रोलमा अफर गरे। उनीसँगै त्यतिबेला एक महिनाको एक्टिङ वर्कसप गरे।
त्यसपछि अभिनय मोह बढ्दै गयो। अब ठूलै एक्टर बन्छु भन्ने संकल्पका साथ उनी सन् २००७ तिर दिल्ली लागे। साथीहरूले त्यहाँ रामलीला गर्थे। गएकै वर्ष उनले पनि त्यसमै काम गरे।
त्यहाँका लोकल टिभी च्यानलको सिरियलमा पनि काम गर्न थाले। दिल्लीको नेसनल स्कुल अफ ड्रामामा ‘कृष्णा’ भन्ने नाटकमा पनि काम गरे। बिस्तारै दुईवटा भोजपुरी फिल्म खेल्ने अवसर पनि जुर्यो।
त्यसरी अभिनयका लागि संघर्ष गर्दागर्दै उनको ६ वर्ष भारतमा बित्यो। एकपल्ट तिहार र छठ मनाउने भनेर नेपाल आएका थिए। त्यहीबेला ‘उमा’का लागि अफर आयो। त्यसयता उनी यतै संघर्षरत छन्।
०००
त्यसो त त्यत्रो समय भारतमा रहँदा उनले बलिउड छिर्ने प्रयत्न नगरेका होइनन्। उनी दिल्लीबाट संघर्षकै क्रममा मुम्बई पनि पुगे।
खास गरी उनको टार्गेट भोजपुरी फिल्म खेल्नु थियो। खल्तीमा त्यतिबेला एक सुका पैसा हुँदैनथ्यो। त्यसैले उनलाई बलिउडमा त त्यति धेरै आशा पनि थिएन।
यता परिवार आर्थिक हिसाबले सबल भए पनि उनको रुचिप्रति 'सपोर्टिभ' थिएन। त्यसैले घरबाट कुनै किसिमको सहयोग थिएन। तैपनि मुम्बईमा रहँदा प्रमोदले सुनेजति सबै फिल्म र सिरियलमा अडिसन दिए।
मेरो कोठा भाडा ४५ सय रुपैयाँ थियो भने मलाई त्यहाँबाट ३५ सय रुपैयाँ तलब आउँथ्यो।
करिब डेढ/दुई सय वटा हिन्दी फिल्म र सिरियलमा अडिसन दिएको दाबी गर्छन् उनी। ‘तर, त्यहाँ सबै पैसाको खेल रहेछ,’ उनी भन्छन्, ‘त्यसैले मेरो औकातभन्दा माथिको कुरा थियो बलिउड। त्यहाँ टिक्नका लागि त म आइसक्रिम पार्लरमा काम गर्थें भने बलिउडको मौका त परको कुरा। दिनभरि अडिसनमा जान्थेँ, बेलुका पाँच बजेदेखि १० बजेसम्म आइसक्रिम बेच्थेँ। मेरो कोठा भाडा ४५ सय रुपैयाँ थियो भने मलाई त्यहाँबाट ३५ सय रुपैयाँ तलब आउँथ्यो। राति एक बजेसम्म ओभरटाइम गर्थें। त्यसरी दिल्लीमा चार र मुम्बईमा दुई वर्ष बिते।’
उनलाई लाग्छ, संघर्षका ती दिन नभएको भए आज उनीसँग यी दिनहरु हुन्थेनन्। ‘राति १ बजेसम्म आइसक्रिम बेच्दा मज्जा आउँथ्यो, ’उनी सम्झन्छन्,‘ती जुठा कप, ती जुठा गिलास डस्टबिनमा लगेर हालेको। हातमा लागेको अझै सम्झन्छु। राति बाटोमा हिड्दा ढुंगा बोकेर हिँडेको, कुकुरले भुक्दै लखेटेको कसरी बिर्सिनु? त्यही चिजहरुले गर्दा त आज मलाई यो समाज, यो फिल्म क्षेत्रप्रति सम्मान बढाएको छ। साँच्चै संघर्षले मान्छेलाई निखार्दो रहेछ।’
०००
धेरैलाई जिज्ञासा होला- भारतमा संघर्ष गर्दागर्दै अचानक प्रमोदलाई नेपालबाट ‘उमा’का लागि अफर कसरी आयो?
यसको संयोग पनि रोचक रहेछ। उनी तिहार मनाउन घर आएका बेला काठमाडौँबाट निर्मात्री आशा मंग्रातीको फोन आयो, ‘मधेशी क्यारेक्टर चाहिएको छ, फोटो पठाउनुस्।’
अचानक फोन आयो, ‘बधाई छ, तपाईंले ‘उमा’ गर्दै हुनुहुन्छ। तर, सरी पैसा चाहिँ छैन।’
उनले आफ्ना पुराना फोटो पठाइदिए। तर ‘रिजेक्ट’ भए। पछि विशेष कामका कारण काठमाडौं जाँदा फेरि उनीसँग भेट भयो। प्रतिक्रिया आयो, ‘फोटोमा र रियलमा त फरक रहेछौ।’
त्यसपछि नयाँ फोटो खिचाइयो। स्क्रिन टेस्ट गराइयो। एक दिन उनी जिमखानामा व्यायाम गरिरहेका थिए, अचानक फोन आयो, ‘बधाई छ, तपाईंले ‘उमा’ गर्दै हुनुहुन्छ। तर, सरी पैसा चाहिँ छैन।’
तैपनि हाँसीहाँसी उनले प्रस्ताव स्वीकार गरे। किनकि, उनलाई नेपाली फिल्ममा काम देखाउने मौका चाहिएको थियो। पछि ३० हजार पारिश्रमिक पनि पाएछन्। यो फिल्मका लागि उनले १९ दिनमा १२ केजी तौल घटाएका थिए।
तर, संघर्षले त प्रमोदलाई भारतमा मात्रै होइन, नेपालमा पनि छाडेन। ‘हिजोको दिनमा ‘गुडबाई काठमाडौं’मा काम गर्दैगर्दा म बागबजारमा राहुल केसीको डबिङ र एडिटङ स्टुडियोमा हरियो कार्पेट बिछ्याइएको भुइँमा सुत्थे भने आज मसँग बेड छ,’ उनी आफ्ना संघर्षका दिन सम्झेर दंग पर्दै भन्छन्, ‘आज आफ्नै गाडी छ। मेरो जिन्दगीमा यो सब परिवर्तन फिल्मकै कारण भएको हो।’
०००
यो समय अजिबको हुन्छ। कतिखेर आफूसँग हुन्छ, कतिखेर आफूबाट फुत्किन्छ, पत्तो हुन्न।
प्रमोदकै कुरा गरौं न। एक वर्षअघिमात्रै उनले पंक्तिकारसँगको एक कुराकानीमा भनेका थिएँ, ‘हिजोका दिनमा मसँग आजजस्तो आत्मविश्वास थिएन। अडिसन दिन जाँदा फिल्म पाउँछु र पाउँदिन भन्ने डर हुन्थ्यो। तर, अहिले समय फरक छ, मसँग फिल्मका चाङ छन्।’
त्यो सही पनि थियो किनभने अघिल्लो सालको पुससम्म मात्रै उनका करिब आधा दर्जनजति फिल्म रिलिज भए। ‘कथा काठमाडौं’, ‘सुश्री सम्पत्ती’ लगायत। टेलिसिरियल ‘सिंहदरबार’ पनि प्रसारणमा थियो।
तर, अहिले समय फेरिएको छ। ‘कथा काठमाडौं’ रिलिज भएपछि करिब एक वर्ष उनी फिल्मविहीन हुनुपर्यो। फिल्म खेल्ने त परको कुरा कुराकानीसमेत नहुँदा उनी ठूलो चिन्तामा छन्।
फिल्मकर्मीका लागि मसँग भएको र दिन सक्ने एउटै चिज छ, अभिनय।
‘एउटा कलाकार कहिलेसम्म क्यामेरादेखि टाढा बस्ने?,’ उनको दुखेसो छ,‘कामको कुरा पनि नहुनु कति डरलाग्दो अवस्था हो? यस्तो अवस्था आउँदा त कतै मैले केही गल्ती नै पो गरेँ कि भन्ने पनि लाग्दोरैछ। भलै मैले अरुसँग सेयर गरिनँ तर काम नपाउँदा मेरा मनमा खेलेका प्रश्नहरुको साक्षी मेरो कोठा, मेरो बेड र सिरानी मात्र हुन्।’
उनी अभिनित फिल्म ‘जाइरा’ शुक्रबारदेखि रिलिज हुँदैछ। तर, यो फिल्मको सुटिङ भएको पनि डेढ वर्षअघि नै हो। यो फिल्ममा उनी 'एन्टागोनिस्ट' छन्। उनी ‘राजा’को भूमिकामा छन्। ती राजा शक्तिको आडमा आतंक मच्चाउन खोज्छन्, समाजमा डर सिर्जना गर्न चाहन्छन्।
.JPG)
फिल्मको प्रमोसनमा हिँडिरहेका प्रमोदलाई पंक्तिकारले सोध्यो, 'यो इन्डस्ट्रीमा फिल्म पाउनलाई अभिनय मात्रै जानेर हुँदैन रहेछ, हो?
जवाफमा उनले भने, ‘हो, त्यतिले मात्रै नपुग्ने रैछ। मलाई जी-हजुरी गर्न आउँदैन। ठाडो बोल्छु। सायद तराईको भएर होला, त्यो गर्मीको असर अलिकति मभित्र पनि होला। त्यसैले घिउ लाएर चिल्लो बोल्न आउँदैन। काम माग्न आउँदैन। कुनै स्क्रिप्ट मेरै लागि लेखिएको छ या म नै फिट हुँदैछु भने मलाई नै अफर आउँछ भन्ने लाग्छ। तर, त्यसो गरेर चल्दैन रहेछ।’
उनी आफ्नो क्यारेक्टरलाई जीवन्त बनाउन भने कुनै कसर बाँकी नराख्ने बताउँछन्। ‘म क्यारेक्टरका लागि त बहुला हुन पनि तयार हुन्छु,’ उनी भन्छन्, ‘फिल्मकर्मीका लागि मसँग भएको र दिन सक्ने एउटै चिज छ, अभिनय। मलाई विश्वास छ, उहाँहरुले पक्कै अफर गर्नुहुन्छ।’
‘यो फिल्म इन्डस्ट्री नयाँ र संर्घर्षरत कलाकारका लागि निकै निर्मम र कठोर छ, है?’
पंक्तिकारले गफैगफमा प्रमोदलाई सोध्यो। जवाफमा उनले भने, ‘कठोर हुनुपर्छ। तर, यति पनि नभइदेओस् कि भोलि इन्डस्ट्री नै छाडेर जानुपर्ने अवस्था सिर्जना होस्। यति कठोर पनि नभइदिओस् कि भोलि डरदेखि पनि डराउनुपर्ने अवस्था सिर्जना होस्।’
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।