के फिल्म संगीत हो? अवश्य होइन।
तर, यो फिल्मको भावनात्मक पक्षलाई बलियो बनाउँदै कथ्य शैलीमा सघाउ पुर्याउने एउटा महत्वपूर्ण तत्वचाहिँ पक्का हो।
बलिउडले लामो समयदेखि गीत/संगीतलाई फिल्म प्रचारको बलियो अस्त्रका रुपमा प्रयोग गरिरहेको छ। र, यसैलाई पछ्याउँदै नेपाली फिल्मले पनि वर्षौंदेखि आवश्यकताविनै एउटै फिल्ममा तीन/चार वटा गीत राखेर दर्शक नचाउँदै आइरहेको छ।
नेपाली फिल्म क्षेत्रमा निर्देशक विकास आचार्यलाई एउटा ठूलो ट्याग लागेको छ– ‘आँसुका व्यापारी’। सही पनि हो किनभने उनले बनाएका अधिकांश फिल्मले हलमा जबर्जस्ती रोदन सिर्जना गरेर दर्शक रुवाएका छन्। हलमा जति धेरै दर्शकको आँसु भरेको छ, उति धेरै उनको फिल्मको टिकट बिकेको छ।
आचार्यले ‘नाइँ नभन्नु ल’ पाँचौ सिरिजसम्म बनाइसके। यी सबै सिरिज हेर्दा लाग्छ, उनले यी फिल्म हिट बनाउन एउटै कुरामा मात्र बल लगाए– त्यो हो फिल्मको संगीत पाटो। दर्शक हलसम्म जानुको प्रमुख कारण देखिएको थियो– गीत/संगीत। ‘नाइँ नभन्नु ल’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आँखामा तिमी छौ’ जस्ता गीतले दर्शक हलसम्म तान्ने काम गरेको थियो।
फिल्मलाई यदि संगीतभन्दा पनि कथाहरुको कलात्मक प्रस्तुति स्विकार्ने हो भने अब निर्देशक आचार्यले गीतमा जस्तै मेहनत फिल्मको पटकथा र निर्देशनमा पनि गर्न थाल्नुपर्छ। नत्र उनी र उनका फिल्मलाई दर्शकले पछिसम्म सम्झिरहने कुनै आधार रहँदैन।
पहिल्यैदेखि निर्देशक आचार्यले गर्दै आएको एउटा भुल के हो भने उनले सधैं फिल्मको कथा, कथ्य शैली र सौन्दयर्गत पक्षमा भन्दा बढी ध्यान गीत/संगीतमा देखाए। ‘हजार जुनीसम्म’ यस्तै एउटा फिल्म हो, जुन उनको यही कमजोरीका कारण कमजोर भयो।
उदय र मनिला सोताङको एउटा पुरानो प्रेमिल र हिट गीत ‘हजार जुनीसम्म’कै बोललाई सापटी लिएर निर्देशक आचार्यले यो फिल्म बनाएका हुन्। फिल्मको कथा पनि यही गीतको थिमबाट निर्देशित छ।
तर, विडम्बना फिल्मले यो गीतको मर्मलाई आत्मसात गर्न सकेको छैन। यो गीत आफैसँग दर्शकको मन हुँडल्ने शक्ति छ, पुरानो प्रेमलाई सम्झाउने सामर्थ्य छ। त्यसैले दृश्यभाषामा प्रयोग गरिँदा त फिल्म झन् बलियो हुनुपर्ने हो। तर त्यसो देखिएन। पर्दामा प्रेम महसुस गर्न दर्शकले यही गीतको प्रतीक्षा गर्नुपर्छ। एउटा निर्देशकका लागि योभन्दा ठूलो असफलता अरु के हुन सक्छ?
यो प्रेम कथामा आधारित फिल्म हो। तैपनि बिलकुल ताजा कथाचाहिँ होइन। अलग्गिएको प्रेम खोजीको कथामा यस्तै थुप्रै लभस्टोरी फिल्म बनिसकेका छन्।
पात्रको स्थापनामै निर्देशक चुकेका छन्। पटकथामा उही कमजोरी दोहोर्याएका छन्। परम्परागत कथ्य शैलीको पर्खालबाट उनी अझै बाहिरिन सकेका छैनन्।
फिल्मभित्र प्रमुख पात्र छन्, गायक सिद्धान्त (आर्यन सिग्देल) जो १४ वर्षअघि विछोडिएको प्रेमकै सम्झनामा अझै तड्पिरहेका छन्। एकदिन यसको पत्तो पाउँछन्, उनका दुई छोरा अथर्व (अखिलेश प्रधान) र निशान्त (सलोन बस्नेत) ले। त्यसपछि दुई छोराको जिद्दीले तय हुन्छ– पोखरादेखि सिक्किमसम्मको यात्रा।
सिक्किम अर्थात्, त्यो ठाउँ जहाँ सिद्धान्तको मायासँग माया गाँसिएको थियो। त्यतिबेला उनी त्यहाँको लाउन्जमा गीत गाउँथे। थाहा छैन, अहिले उनको माया कहाँ के गर्दैछिन्? तैपनि मायाको खोजीमा उनी सिक्किम आइपुग्छन्।
तर विछोडिएको त्यो प्रेम उनले भेट्लान् त? आफ्नो गुमेको प्रेमको खोजीमा सिद्धान्त र उनका छोराहरुले गर्ने संघर्ष नै यो फिल्मको मुल कथा हो।
झट्ट कथाको सार सुन्दा त राम्रै लाग्छ तर पर्दामा उतारिएको बिजोग महसुस हुन्छ। पात्रको स्थापनामै निर्देशक चुकेका छन्। पटकथामा उही कमजोरी दोहोर्याएका छन्। कथ्य शैली पनि उही पुरानै छ। परम्परागत कथ्य शैलीको पर्खालबाट उनी अझै बाहिरिन सकेका छैनन्।
फिल्मभित्र धेरै दृश्य दर्शकलाई अस्वभाविक लाग्छन्। न अवन्तिका (स्वस्तिमा खड्का) सँगको सुरुवाती भेटमै सिद्धान्तले राख्ने छोरासँगको बिहे प्रस्ताव स्वाभाविक लाग्छ, न अन्तिम दृश्यमा सिद्धान्तले गरेको निर्णय नै।
पक्कै पनि एउटा कलाकारको अभिनय निर्देशकको क्षमता भर पर्छ। यसमा कुनै शंकै छैन तर यदि कलाकारले आफूलाई सर्जकका रुपमा प्रस्तुत गर्ने हो भने फिल्मको छनोटमा ऊ पनि सचेत हुनुपर्छ। नत्र बल्लतल्ल पाएको प्रेम र प्रतिष्ठा पनि चाँडै गुम्ने खतरा हुन्छ।
अरु त अरु जुन प्रेमका लागि सिद्धान्त १४ वर्ष तड्पिए, त्यो प्रेमको स्थापना पनि कमजोर देखिन्छ। दुईबीचको प्रेम सम्बन्ध बलियो र गहिरोसँग स्थापित हुन सकेको भए पो त्यसको बिछोड र बिछोडपछिको तड्पनले दर्शकलाई छुन्थ्यो।
तर, यहाँ त निर्देशकको छिटो कथा भन्ने हतारोले फिल्मको भावनात्मक र कलात्मक पक्ष नै कमजोर देखिएको छ। फिल्मलाई यदि संगीतभन्दा पनि कथाहरुको कलात्मक प्रस्तुति स्विकार्ने हो भने अब निर्देशक आचार्यले गीतमा जस्तै मेहनत फिल्मको पटकथा र निर्देशनमा पनि गर्न थाल्नुपर्छ। नत्र उनी र उनका फिल्मलाई दर्शकले पछिसम्म सम्झिरहने कुनै आधार रहँदैन।
फिल्ममा आर्यन सिग्देलको अभिनय पनि जीवन्त छैन। उनले यस्तै फिल्म खलिरहने र यस्तै अभिनय गरिरहने हो भने उनको गुमेको क्रेज र स्टारडम नफर्किने पक्का छ। प्रियंका कार्कीले पनि अब महसुस गर्नैपर्छ, फिल्मको संख्यामात्रै बढाएर हुँदैन, अभिनयको स्तर पनि बढाउनुपर्यो। दर्शकलाई सम्झिनलायक फिल्म पनि दिनुपर्यो।
‘बुलबुल’मा आफूलाई टेम्पो महिला चालकको भूमिकामा सशक्त उतारेर नेसनल अवार्ड जितेकी स्वस्तिमा खड्काको प्रस्तुति यहाँ दर्शकलाई फिक्का लाग्छ।
‘हजार जुनीसम्म’ले जेनतेन चित्त बुझाऊला तर फिल्ममा नयाँपन, सिर्जनशीलता र कलात्मकता खोज्नेहरुलाई यसले हजार जुनी त के, एक जुनीसम्म पनि खुसी बनाउन सक्दैन।
पक्कै पनि एउटा कलाकारको अभिनय निर्देशकको क्षमता भर पर्छ। यसमा कुनै शंकै छैन तर यदि कलाकारले आफूलाई सर्जकका रुपमा प्रस्तुत गर्ने हो भने फिल्मको छनोटमा ऊ पनि सचेत हुनुपर्छ। नत्र बल्लतल्ल पाएको प्रेम र प्रतिष्ठा पनि चाँडै गुम्ने खतरा हुन्छ।
सलोन बस्नेत पनि अब नेपाली फिल्ममा टाइपकास्ट भइदिए। सबै फिल्ममा सधैं उस्तै। निर्देशकको नियत पनि उही– सलोनको चरित्रमार्फत हास्य सिर्जना गर्ने। सलोनलाई लिड रोल त फापेको छैन नै तर यसैगरी टाइपकास्ट भइरहने हो भने सहायक रोल पनि नफाप्ने खतरा देखिन्छ। फिल्ममा अखिलेश प्रधानको अभिनयले चित्त बुझाउँदैन।
बरु पोखरा र सिक्कमका मनोरम दृश्यले एकछिन भएपनि दर्शकलाई राहत दिन्छ। सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले त्यहाँको सुन्दरतालाई क्यामेरामा कथाको लय अनुसार नै कैद गरेका छन्। त्यस्तै, फिल्मको ‘एमजी रोडैमा’ गीतले दर्शकलाई एकछिन भए पनि रमाइलो महसुस गराउँछ।
निर्देशक आचार्य र ‘नाइँ नभन्नु ल’ मार्काका फिल्म मन पराउने दर्शकलाई त ‘हजार जुनीसम्म’ले जेनतेन चित्त बुझाऊला तर फिल्ममा नयाँपन, सिर्जनशीलता र कलात्मकता खोज्नेहरुलाई यसले हजार जुनी त के, एक जुनीसम्म पनि खुसी बनाउन सक्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।