काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका चिनियाँ नागरिक बाई चाङले आफ्नो साथमा ५ वटा ल्यापटप ल्याए।
झिटीगुन्टा सम्बन्धी आदेशअनुसार चाङले आफ्नो साथमा रहेका ५ मध्ये ४ वटा ल्यापटपको कर तिर्नुपर्ने थियो भने एउटा ल्यापटप कर नतिरी नेपाल ल्याउन सक्थे।
विमानस्थल भन्सार कार्यालयले चाङलाई ४ वटा ल्यापटपको भन्सार तिर्न भन्यो तर उनले मानेनन्।
भन्सार तिर्नुको साटो उनले विवाद बढाउन थालेपछि भन्सार प्रशासनले उनलाई नियन्त्रणमा लियो।
विमानस्थल भन्सारले चाङले बोकेका ४ वटा ल्यापटपको १ लाख २० हजार रुपैयाँ मूल्यांकन गरी ४८ हजार ५ सय ६५ रुपैयाँ कर निर्धारण गर्यो।
चाङले भन्सार तिर्न अस्वीकार गरे र आफूसँग ल्याएका ४ वटा ल्यापटप भुइँमा खसालेर फुटाइदिए।
'हामीले उनलाई भन्सार तिर्न आग्रह गर्यौं तर उनले कर तिर्न मानेनन् र ल्यापटप फुटाइदिए,' विमानस्थल भन्सार कार्यालय स्रोतले भन्यो, 'उनले कर तिर्न नमानेपछि ६ घन्टा डिटेन्सनमा राखिएको थियो।'
अन्त्यमा चाङले सरकारी मूल्यांकन अनुसार भन्सार रकम तिरे र फुटाएका ल्यापटप साथमा बोकेर हिँडेका थिए।
व्यक्तिगत प्रयोजनका लागि एउटा मात्रै ल्यापटप ल्याउन पाउने कानुनी व्यवस्थाविपरीत उनले ५ वटा ल्यापटप ल्याएका थिए।
व्यावसायिक प्रयोजनमा ल्याउँदा १३ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्नेमा व्यक्तिगत प्रयोजनकै लागि ल्याइएको सामानमा ४० प्रतिशत भन्सार लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।