हुन्डाईको 'भेन्यू' नाडा अटो शोको मुख्य आकर्षण

नेपाल लाइभ | २०७६ श्रावण २८ मंगलबार | Tuesday, August 13, 2019 १३:३१:०० मा प्रकाशित

काठमाडौं- भदौ १० देखि काठमाडौंमा 'नाडा अटो शो २०१९' हुँदैछ। नाडा अटो शोमा सहभागी हुन अन्य कम्पनीहरु जस्तै हुन्डाई पनि तीब्र तयारीमा जुटेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ कार समेत सार्वजनिक गर्दैछ।

नाडा अटो शोमा हुन्डाईको मुख्य आर्कषणमा भेन्यूसहित कोना र सेन्ट्रो रहने कम्पनीले जनाएको छ। यो वर्षको अटो शोमा कोरियाली कार उत्पादक कम्पनी हुन्डाईको मुख्य आकर्षणको रुपमा सब-कम्प्याक्ट एसयूभी भेन्यू रहने लक्ष्मी इन्टरकन्टिनेन्टलका हेड अफ मार्केटिङ एन्ड कम्युनिकेकन अवाशिस ओझाले बताए।

सार्वजनिक भएको छोटो समयमा भारतीय बजारमा हुन्डाई भेन्यूले निक्कै चर्चा बटुलेको थियो। उक्त भेन्यू नेपाली बजारमा नाडा अटो शोमा सार्वजनिक हुँदैछ।

नेपाली बजारमा पनि भेन्यू अटो शोमा मुख्य आकर्षणमा रहने र कम्प्याक्ट एसयूभी लोकप्रिय हुने विश्वास कम्पनीले लिएको ओझा बताउँछन्। त्यस्तै, हुन्डाईको नयाँ इलेक्ट्रिक कार कोना इभीसमेत यो अटो शोको आकर्षणको रुपमा रहनेछ।

इलेक्ट्रिक सवारीप्रति उपभोक्ताको चासो र प्रयोग बढेकाले सवारी बिक्रेता कम्पनीहरुले इलेक्ट्रिक कार बिक्रीलाई प्राथमिकता दिएका छन्। इलेक्ट्रिक कारमा सरकारले कर छुट दिएकाले आकर्षण बढेको हो।

यसका साथै हुन्डाईले २०७५ फागुन २ गते नेपाली बजारमा ल्याएको नयाँ सेन्ट्रोसमेत अटो शोमा प्रदर्शनीका लागि राख्नेछ। त्यस्तै हुन्डाईको क्रेटा, आइट्वान्टी, ग्रान्ड आइटेन, टुसानसमेत प्रदर्शनीका लागि राखिनेछ।

नाडा अटो शोमा बिक्रीलाई भन्दा ब्रान्ड तथा प्रोडक्टको प्रवर्द्धनलाई जोड दिने कम्पनीले जनाएको छ।