एक वर्षमा सरकारले पायो २० अर्ब ५० करोड लाभांश

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १८:३०:०० मा प्रकाशित

काठमाडौं- सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा सार्वजनिक संस्थानमा गरेको लगानीबाट २० अर्ब ५० करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ।

सरकारले लगानी गरेका सार्वजनिक संस्थान तथा नेपाल राष्ट्र बैंकसमेतबाट यो रकम लाभांशका रुपमा प्राप्त भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 

एक वर्षको अवधिमा सरकारले १७ अर्ब १७ करोड रुपैयाँ ब्याज प्राप्त गरेको छ। एक वर्षमा सरकारले साँवा फिर्ता ३ अर्ब ५ करोड रुपैयाँ पाएको महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको विवरणमा उल्लेख छ।

सरकारले एक वर्षको अवधिमा ५६ अर्ब ९५ करोड रुपैयाँ शेयर लगानी गरेको थियो। सार्वजनिक संस्थानमा ११ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी भएको महालेखा नियन्त्रकको प्रतविदेनमा जनाइएको छ। सरकारले चालु वर्षको अन्त्यमा मात्रै गत वर्ष प्राप्त गरेको लाभांश र संस्थानहरुबो वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने गर्छ। 

९६ अर्ब आन्तरिक र ८१ अर्ब बाह्य ऋण
महालेखाका अनुसार सरकारले गत आर्थिक वर्षमा ९६ अर्ब ३८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ। एक वर्षमा ८१ अर्ब ४७ करोड रुपैयाँ बाह्य ऋण लिएको छ। 

एक वर्षमा आन्तरिक ऋण फिर्ता भुक्तानी ३४ अर्ब २१ करोड र बाह्य ऋण फिर्ता २० अर्ब ३ करोड रुपैयाँ रहेको छ। गत वर्ष सरकारले वैदेशिक ऋणको ब्याज भुक्तानीमा ४ अर्ब ५० करोड र आन्तरिक ऋणको ब्याज भुक्तानीमा ५ अर्ब ८० लाख रुपैयाँ खर्च गरेको छ।