उफ !!
बिहानैदेखि पानी। कस्तो दिक्कलाग्दो! मलाई यो पानी परेको उति निको लागेन। उसै पनि पानीमा भिजेर हिंड्न मेरो हर्मोनले मान्दैन।
मैले सिल्भियालाई फोन गरेँ- 'सरी आज भेट हुँदैन हाम्रो। अरु कुनै दिन समय निकाल।'
'हा हा हा हा...'
'किन यस्तो अट्टहास?'
'ओ मूर्ख, आई लाइक यू। तिमी मेरो ठीक विपरीत छौ। म यतिबेला पानीमा भिजी रा’की छु। मलाई आफूभन्दा विपरीत मान्छे भव्य मन पर्छ।'
उसले पानीमा भिजी रा’की छु भनी। ऊ भिजिरहेकी चित्र मैले दिमागमा कोरेँ। मनमा करेन्ट प्रवाह भयो। मन बेचैन भयो। तर, बाहिर पानी परेको छ।
उताबाट- खुरुक्क आऊ, सक्छौ निथ्रुक्क भिजेर।
यताबाट- सरी सेक्सी लेडी, मलाई यो बिहान भिज्ने रहर छैन।
उसले भनी- छि ! पानीमरुवा, धुवाँको बादल ओढेर सुत।
मैले भने- होइन सिरक ओढेर सुत्छु।
फेरि भनी- आज आएनौ भने तिमीले यो समयको मूल्य चुकाउनुपर्ने हुन्छ।
मैले केही भन्नै नपाई उसले फोन काटी। म सिरकभित्र गुटुमुटु योगमा लागेँ।
***
लगातार १५ दिनसम्म ऊसँग सम्पर्क हुन सकेन। याने कि लगातार १५ दिनसम्म मैले सम्पर्क गर्न खोजिरहेँ। अहो ! मलाई यो के भइरहेको हो, किन यत्रो छटपटी ममा हुर्किरहेको छ! सायद उसले भनेको मूल्य म चुकाइरहेको छु।
सिल्भियासँग मेरो पहिलो भेट थिएटर मलको बाहिर भएको थियो। राइटर सौरभको आन्दोलन हेर्न जाँदा। म काठमाडौं भर्खर ओर्लिएको थिएँ र राइटरले पुरानै काठमाडौंको चित्र सफा नगरी मेरो दिमागमा सेट गरिदिएछन्। म आफैंलाई लज्जाबोध भयो। म निर्धारित समयभन्दा केही पछि त्यहाँ पुगेको थिएँ, तर थिएटर मल हाउसफुल।
पुन:, काठमाडौंमा बाँच्ने मेरो रहर होइन। यो कथामा उभिन राइटरले मलाई यहाँ झिकाए। जिन्दगी एउटा पात्रमा साटिएपछि र पात्र राइटरलाई मन परेपछि जहाँसुकै जुनसुकै भूमिकामा उभिन आउनुपर्ने यो पात्रहरुको जिन्दगी हो।
त्यस दिन त्यो हाउसफुल समयको भोक मेटाउन सिल्भिया पात्रलाई राइटरले त्यहाँ झिकाएको हुनुपर्छ। निकै जबर्जस्त इन्ट्री थियो उसको। टाइट गेटअप, सेक्सी लुक्स, बायाँ हातमा हेल्मेट, दायाँ हातमा सानो ब्याग। म गेटकिपरसँग केही सोध्न खोज्दै थिएँ। किपर लक्का जवान।
ला... सुरु भइसक्यो, किन बाहिर तपाईंहरु? – सिल्भिया।
म - हाउस फुल।
किपर - भित्र जान मिल्दैन।
सिल्भिया – मिलाऔं न।
किपर - कसरी मिल्छ?
म ट्वाँ परेँ, के उत्पात केटी! च्याप्पै किपरलाई समातेर किस हान्दिई- लु यसरी मिल्छ, खोल ढोका!
किपर हेरेको हेर्यै, म हेरेको हेर्यै।
- ओ योङ म्यान, भूलोकमा ओर्ल, सपना नदेख।
म अर्को चकित! किपर त गेटकिपर होइन रहेछ। हामी जस्तै पात्र हाउसफुलको सिकार।
किसर केटी – क्या ल्याङ गरिस् ब्रो। मेरो किस बालुवामा पोखियो।
केटो चकित हुँदै हिंड्यो।
थिएटर मलको बाहिरबाट भूकम्पले सिकार गरेको धरहराको अस्थिपञ्जर रोइरहेको थियो। धुवाँ-धूलोको अन्तिम किनारमा स्वयम्भू धमिलो देखिन्थ्यो। मेरा आँखा बाहिर घुमिरहेका, ध्यान किसर केटीतिर केन्द्रीकृत हुँदै गइरहेको। काठमाडौं यति मोर्डन भइसकेछ, उ बेला मेरो एक किसले बरी ... ! उफ ! पूरै पुराना कुरा इन्स्टल भयो। उसको त्यही शब्द सापटी लिएर म भनिरहेछु, कस्तो उत्पातकी मात्तिएकी केटी!
किसरले शिर-पुच्छर सर्र हेरी - अरे ओल्ड ब्रो, कहिलेकाहीँ त्यस्तै हुन्छ। फोगटमा किन तिमी त्यो किसमा झुन्डिएर आत्महत्या गर्न खोजिरा’का छौ?
म - एक्सक्युज मी!
ऊ - ह्वाट? म मान्छे हेरेर उसको नेचर पढिदिन्छु।
म - सरी, तिम्रो भ्रम हो त्यो म यतिबेला तिम्रो किसमा होइन, मेरै किसको इतिहास पल्टाइरहेको छु।
मान्छे अरु पनि आए र गए। हामी दस मिनट त्यहाँ बस्यौं। साइक्राइस्टले भित्र फोन गरी। सायद उसको केही परिचित हुनुपर्छ।
- ओए! हामी दुई जना छौं। यसो मिला त लु।
मैले हामी दुई बाहेक अरु त्यहाँ देखिनँ। उसको दुई जना मभन्दा अरु को हुन सक्छ? म सोच्दै थिएँ। साँच्चै ऊ मन पढ्दी रैछे।
- अरे यार! तिमी र म दुई जना। अरु खोज्न आँखा नपठाऊ।
'ओए'ले उताबाट भनेको हुनुपर्छ – 'के भन्छे यो?'
- होइन, यहाँ भनेको। छिटो मिला न।
उसले फोन राखी।
- 'म भित्र जादिनँ।' एक्कासी यो शब्द कहाँबाट चुहिहाल्यो र भनेँ- 'कसैलाई पर्खी बस्छु।'
- किन?
- सुरु भइसकेको नाटक बीचबाट हेर्दिनँ।
- कहिले हेर्छौ त?
नाटकका पोस्टर भित्ताभरि टाँसिएका थिए। म तिनै पोस्टरहरु हेर्दै – 'अब यो नाटकै हेर्दिनँ।'
- किन?
- आज सुरुबाट हेर्न पाएको भए यसको अन्त्यसम्म हेर्न मजा आउँथ्यो। यो खोसेला नंग्याइसकेको मकै पोलेर खान केको स्वाद!
उसले मुन्टो हल्लाई र भनी - पर्खिनुपर्ने को साथी?
- होलान् कोही न कोही। भेटिएलान् एक न एक तिमी जस्तै।
- हा हा हा क्या फन्नी म्यान!
'ओए'को फोन आयो- छिटो आइज।
उसले मलाई हेरेर आँखीभौं उचाली। मैले मुन्टो हल्लाएँ। ऊ गई, म त्यही रहेँ। मैले केही सोच्न सकिरहेको थिइनँ यो केटीको बारेमा। यसको इतिहासको चित्र दिमागमा क्रिएट नगर्दै ऊ दुई मिनेटमा फुत्त बाहिर आई।
मैले केही सोच्नै नभ्याई उसले च्याप्प मेरो हात समाती र 'जाऔं हिँड' भनेर मलाई लगी। ग्राउन्ड फ्लोरमा पुगेर मतिर हेर्दै – 'बाइक छ?'
मैले 'छैन' सूचक मुन्टो हल्लाएँ। उसले पनि ओठ ट्याप्प कसेर बुझेको भावमा मुन्टो हल्लाई।
हामी कहाँ जाँदै छौं, के गर्न जाँदै छौं, किन जाँदै छौं केही थाहा छैन। तर, जाँदै छौं। अझ भनौं, उसले मलाई लाँदै छे, आफ्नो स्कुटी पछाडि बसाएर।
काठमाडौं मलबाट निस्किँदा मैले भनेँ – 'म बसमा जान्छु।'
उसले शिर-पुच्छर हेरी र पुन: नजर पज गरेर मेरो जाँघमा लगेर रोपी। म झस्किएँ। उसले थाहा पाई। उसले आफ्नो तल्लो ओठ माथ्लो ओठको मुनि हुली र स्कुटीबाटै चारैतिर नियाली।
- तिमी साथी पर्खिन्छु भन्थ्यौ होइन?
- हो।
- अनि किन आयौ तल?
- तिमीले लिएर किन आयौ?
- उसो भए बस पछाडि।
म अल्मलिएँ।
- अरे यार! तिमी ब्रह्माको लास्ट नमुना पिस रहेछौ!
यति भनेर मेरो हात तानेर पछाडि बस्न लगाई।
मैले मनमनै भनेँ – 'म ब्रह्माको होइन, राइटरको पिस हुँ।'
यतिन्जेल हाम्रो परिचय भएको छैन। म बेनाम केटीको पछाडि बसेर हिँडीरहेको छु। ऊ बेनाम पुरुष बोकेर कुदाइरहेकी छे। चिन्नु-जान्नु केही छैन। सोध्न पनि के सोध्नु? सोधे पनि सीधा जवाफ दिनुको साटो उसको बेग्लै एक्टिभिटीको सामना भेग्नुपर्ने।
म चुपै रहेँ।
कस्तो उत्पातकी केटी! नमुना म होइन, उसको ब्रह्मा हो, अर्थात ऊ हो। हुन त म आफ्नै लागि पनि सत्य र असल छैन। मैले मेरो बारेमा भनिरहनु केही जरुरी छैन। म कति के छु, त्यो तपाईंले थाहा पाइहाल्नुहुनेछ।
कति बेसोमती! सीधै तिमी भनी। कम्तीमा उमेरको हेक्का राखेर त बोल्नुपर्छ! मभन्दा झन्डै २० वर्ष कान्छी केटीले नानाभाँती सम्बोधन गर्दै तिमी भन्छे। तपाईंलाई यादै होला, मलाई केटीको उमेर पत्ता लगाउन कुनै नौलो कुरो होइन। तर, जे होस् यो केटीमा अपनत्व भने डेन्जर झल्किन्छ। हाउभाउ र रुखो सम्बोधनमा बेग्लै मिठासको सुवास आइरहेको छ।
साँच्चै उत्पातकै केटी हो। चिन्नु न जान्नुको मान्छेलाई समाएर सीधै किस गर्छे। चिन्नु न जान्नुको मान्छेलाई पछाडि राखेर कुदिरहेकी छे। ऊ 'आन्दोलन' हेर्न आएकी, म 'आन्दोलन' हेर्न आएको। 'आन्दोलन' हेर्न पाएको भए यो केटीसँग भेट हुने नै थिएन। 'आन्दोलन' हेर्न पाएको भए हेरिसकेर हामी आ-आफ्नो गन्तव्यतिर हुने थियौं। तर, त्यसो भएन र योजनाहरु निस्क्रिय भए। अहिले सोच्दै नसोचेको कुरा, यो सेक्सी केटीसँग पछाडि बसेर कुदिरहेको छु।
कहाँ जान कुदिरहेका छौं, किन कुदिरहेका छौं, केटी नै जानोस्।
यो हटकेकका पनि त केही योजना हुँदा हुन्। योजनाभन्दा बाहिर कसरी बाँचिरहेकी छे, म अचम्मको फर्सी दिमागमा उसिनिरहेको छु। एउटा उन्मुक्त सिपाहीको जस्तो यो केटीको स्वभाव किन छ? अहिले नेपाली नारीको विकास यति तीव्र भइसक्यो? राइटर क्या हरामी! यो वर्तमान परिस्थिति मेरो भेजामा डाउनलोडै नगरी मिस हटको सामुन्ने राखिदियो।
उसले मेनरोडबाट स्कुटी स्वाट्ट भित्र छिराई। म झरेँ। ऊ पार्कङतिर गई। वरिपरि घुमेर हेरेँ। अहिले हामी ब्लुबर्ड मलमा आइपुगेछौं। एउटा मलबाट अर्को मलमा। उसैगरी हातमा हेल्मेट बोकेर आई र हिंड जाऔं भनी। म उसैका पछि लागेँ। हिमालयन जाभाभित्र लगी। टेबल सफाचट। बेग्लै मदहोस वातावरण। सानदार लाग्यो।
उसले दुई कप कफी मगाई। मैले कफी खान्नँ भने। उसले आँखा ठूला पारी र भनी - ह्वाट? कहिल्यै खाँदैनौ?
- त्यस्तो त होइन।
- त्यसो भए अहिले खाऊ।
- खाँदिनँ।
- केको भाउ खान्छौ हौ। खाऊ न खाऊ। यदि कफि खाएर मरेछौ भने म मलामी जाऊँला।
मैले ऊतिर हेरेँ। बल्ल खिस्स हाँसी- 'जोक गरेको क्या फन्नी मेन!'
कातिल हाँसोले भित्र कतै आनन्दको सारंगी रेट्यो।
कफी खान्नँ भन्दै थिएँ, तर यस्तो सुन्दर कफी मैले जीवनमा देखेकै थिइनँ। तरल पदार्थलाई पनि सजाउन मिल्ने रहेछ। क्या खुब! त्यसमाथl यतिविघ्न सुन्दरीले पिउन फोर्स गरिरहेकी छ। एउटा सर्तमा मैले कफी पिउने भएँ। उसले सहजै स्वीकार गरी।
कफीको स्वाद यति तीतो पहिलो पल्ट थाहा पाएँ। त्यसो त पहिलो पल्ट यस्ती केटीको फेला परेको छु।
उ कफीकी अम्मली नै रैछे। बडो मस्तीले सुरुप्प पारी। आफ्ना सेता खिरिला दुई औंलाले चुरोट समाती र मुखभरि धुवाँ भरेर बडो स्टाइलले धुवाँको सिक्री बनाउँदै हावामा छोडीदिई। एउटी सुन्दर केटी र धुवाँको सिक्री! उत्पाते केटी चुरोट पनि खाँदीरैछे। कस्तो पूरै बरीको झल्को दिलाई यो मोरीले। कि मान्छे नै उही हो! तर, अहँ यो सीधै किस गर्न झम्टिन्छे। ऊ यस्ती छँदै थिइन।
ऊ निकै फिलमा चुरोट र कफी पिउँदै थिई। म अलमल्लको भूमरी तापेर बसेको छु। कम्तीमा परिचय त गर्नुपर्छ। उसैले जोड गरेर ल्याई मलाई। उसैको पछि आएको हुँ। अब उसैले सुरु गर्नुपर्दैन? म आफू गरौं भने प्याच्चै केही भन्ली भन्ने डर। मलाई यो कुराको राम्रै अनुभव छ।
म चुपै बसेँ।
उसले एउटा चुरोट नसकिँदै अर्को सल्काई। मैले उसकै बट्टाबाट एउटा चुरोट निकालेर सल्काएँ। उसले मलाई हेरी – 'अँ, तिमी कसलाई पर्खी बसेका थियौ? ए पहिला सुन! मलाई यो औपचारिकता र उच्च आदर मन पर्दैन। नाटक जस्तो लाग्छ। त्यसैले सीधै बोल्छु बिनासम्बोधन। तिमी रिसाए रिसाऊ, तर म तपाईं, हजुर सकेसम्म कसैलाई भन्दिनँ। अँ भन, को थियो भित्र?'
- यो पछिल्लो पटक शहर प्रवेशपश्चात् यति धेरै सम्पर्क भएको पहिलो व्यक्ति तिमी हौ। मेरो अहिले शहरमा कोही साथी छैन र त्यहाँ पनि कोही थिएन। बस्, म जस्तैको खोजीमा थिएँ। कोही भेटिन पनि सक्थे, तर तिमीले मलाई भेट्यौ।
- म किन नाटक नहेरी निस्किएँ, अनुमान गर्छौ?
- यो विषयमा म कमजोर छु। तिमी आफैं भन।
- पहिलो कुरा, बिनासाथी तिमी साथी पर्खिरहेका थियौ। दोस्रो कुरा, सुरु भइसकेको नाटक नहेर्ने तिम्रो बानी र तेस्रो कुरा, तिमी बिनासिफारिस नाटक हेर्न आएका थियौ। यो शहरमा अर्थात् यो जमानामा बिनासिफारिस यसरी नाटक हेर्न हिँड्नु या कुनै प्रोगाममा जानु कस्तो इन्ट्रेस्टिङ कुरा! यहाँ हरेक काम सिफारिसमा हुन्छ र म पनि सिफारिसमै आएकी थिएँ। त्यसमाथि म जस्तो हट केटीले सँगै भित्र जाऔं भन्दा पनि गएनौ। करिब दुई मिनेट नाटक हेरिरहँदा मलाई नाटक र नाटकमा आउने पात्रभन्दा तिम्रो इन्ट्रेस्टिङ क्यारेक्टरले तान्यो। म नियालिरहेको छु, तिम्रो मनमा केही न केही उकुसमुकुस छ र मेरो यो अशिष्ट धृष्टताले तिमीलाई खल्बल्याइरहेको छ।
- हँ ! तिमीलाई कसरी थाहा भयो कि म खल्बलिएको छु?
- तिम्रो डुबाइले भनिरहेछ। तिमी मलाई कोहीसँग कम्प्यारिजन गर्दै छौ र तिम्रो नजर छटपटिरहेका छन् मेरो ब्रेस्टको आक्रमणले। यदि म राइट छु भने तिमी मलाई जान्न चाहिरहेका छौ। होइन, होइन, म राइट नै छु, तिमी परिचय गर्न आतुर देखिन्छौ। ठीक छ, गेस गर। मेरो बारेमा कति कुरा मिलाउँछौ तिमी। म पनि गेस गर्नेछु। आज यसलाई गेम ठान, जस्ले जित्यो उसकै मर्जी।
- मर्जी?
- हो, मर्जी।
- होइन, होइन। यस्तो आत्मघाती प्रस्ताव अगाडि नराख। ममा हिम्मत पलाउँछ कि यो खेल हारिदिऊँ।
- इन्ट्रेस्टिङ मान्छे! एउटी जवान केटीका सामु प्राय: सबै लोग्ने मानिसको धारणा उस्तै-उस्तै हुन्छ र यसबाट तिमी चाहिँ कसरी अलग रहन सक्छौ र? ए हिंस्रक मान्छे, ममा दया देखाउन नखोज। यस्ता पुरुष मलाई मन पर्दैन।
- सुन, तिमी हक्की स्वभावकी लागिरहेकी छ्यौ। आफ्नो मर्जीको मालिक आफैं मलाई तिमीसँग गफिरहन रमाइलो लाग्दै गएको छ। तिमी यही शहरकी बासिन्दा हौ र एक अविवाहित सेक्सी स्वास्नीमानिस। तिमी अरु जो हौ, त्यो मेरो चासोको विषय होइन। तर, तिम्रो बारेमा केही जानूँ भन्ने उत्सुकता पलाइरहेको छ र तिमी एक नेवार समुदायकी सदस्य झल्किरहेकी छ्यौ।
उसले बिल तिरी। मैले अर्को चुरोट सल्काएँ र हामी तल झर्यौं। उसले मेरो सर्त मुताबिक जाने ठाउँ सोधी। मैले वानेश्वर आसपास जहाँ गए पनि हुने कुरा राखेँ। यो स्वास्नीमानिसले एक अपरिचित अधबैंसे पुरुषलाई आफ्नो स्कुटीमा बोकेर कुनै भट्टी पसल पुर्याउनेछे र मेरो बारेमा मनलाग्दी बोल्नेछे।
प्रसूति हस्पिटलको बाटो हुँदै उसले बबरमहल निकाली। आक्कलझुक्कल उसको शरीर र मेरो शरीर बीचबाट हावा बाइपास हुने बाटो रोकिन्छ। शरीरमा एक प्रकारको तरंग फैलिन्छ। म बुझ्दिनँ, किन ऊ बिनाकारण घरिघरि ब्रेक दबाइरहन्छे। म फाइदा उठाउन सकिरहेको छैन।
अहिले यो शिरीष फुल्ने याम होइन। शिरीषका नीला फूलहरु छैनन्। उसो त शिरीषका रुखहरु नै बचेका छन् र कहाँ? त्यसैले नीलो आकाश छैन। सफा सडक छैन। सफा हावापानी छैन। बाक्लो सवारी चाप छ। सबैका चेहरामा मास्क छ। यो शहर एउटा अशिष्ट जिन्दगी जस्तो। यो शहर एउटा बिग्रिँदै गएको फर्सी जस्तो।
बुद्धनगरमा उसले स्कुटी साइड लगाएर रोकी र फोन उठाई। सम्भवत: त्यो फोन 'ओए'को हुनुपर्छ।
- भो नकरा! बीचबाट हेर्न मजा आएन र निस्किएँ। अँ सुन्, स्कुटी पानीट्यांकी अगाडि हुन्छ। लैजा है।
उताको संवाद सुन्न सकिएन। उसले फोन राखी।
- महोदय, जाबो स्कुटीमा पनि अलग्गै बस्न मिल्दोरैछ है? अलि अगाडि सरेर पनि तिमी शान्त बस्न सक्छौ। बुझ्यौ नी?
ओहो! चलाउन अप्ठेरो भएछ। म उसको कुममा हात राखेर अगाडि सरेँ। कुमबाट हात निकालिहाल्न पनि मन भएन, राखिराख्न पनि अप्ठेरो। कस्तो महक मिसिएको यो स्वास्नीमानिसको शरिरमा। मन नलागीनलागी हात निकाल्छु।
एउटी सुन्दर महिला साथैमा हुँदा जे-जस्तो सोच र भावना पुरुषमा आउनुपर्ने थियो त्यो सबै ममा स्व:स्फूर्त आइरहेछ। यो केटीको यस प्रकारको सामीप्यताले म खनिओप्पालाई सम्झिन्छु। ऊ मेरा निम्ति आफूलाई सुम्पिन्थी। म हेड हन्टरकी छोरी र भैंसी गोठाल्नीलाई पनि सम्झिन्छु। त्यो कत्रो भोक थियो शरीरको, जबर्जस्ती गरीगरी परिपूर्ति गर्नुपर्ने!
यो केटी यति नजिक हुँदा पनि छुनलाई मनमा विभिन्न विचारको ठेलमठेल हुन्छ। निकै अप्ठेरो अनि मूल्यवान् मृत्युवरण गरी बरीले र मलाई निस्सार अँध्यारो छाडेर गई। म यो केटीमा मुजुरा पनि देख्छु, प्रेमविहीन स्वास्नी भित्तामा टाँगिएकी। अब यो स्वास्नीमानिसको अर्को रुप कस्तो हुनेछ, मनमा प्रश्नवाचक चिह्न उभिएको छ।
वानेश्वर नबिल बैंकको आँगनमा पुगेर स्कुटी रोकियो। उसले यहाँ चाहिँ सिट खोलेर हेल्मेट डिक्कीमा हाली र पानीपुरीवालालाई चाबी दिँदै भनी- 'भैया, स्मिता आउँछे, मेरो नामको एक प्लेट देऊ है त्यसलाई।'
ऊ निकै व्यस्त थियो मान्छेको बाक्लो भीडले उसलाई छोपेको थियो र पनि उसको आवाज भीड छिचोल्दै बाहिर निस्कियो- 'हस्।'
हामी त्यहाँबाट चोकतिर फर्कियौं। उसले आफ्नो ठेगाना बताई- 'स्मिताकै घरमा रुम छ।' तर, मैले सोधिनँ- स्मिताको घर चाहिँ कहाँ छ?
शहर आजको दिन निलेर अँध्यारो भित्र्याउने तरखरमा छ। निस्क्रिय ल्याम्पोस्टहरुको सजीवता झल्किन सुरु गरिसकेको छ। शहरभरि सडकभरि जताततै मेलम्चीको डोब गन्हाइरहेको छ। गाडीहरु प्यासेन्जरभन्दा ज्यादा धूलो र धुवाँ बोकेर गुडिरहेका छन्। यो काकाकुल शहर मुर्दा मेलम्चीको कात्रो ओढेर धूलो र धुवाँको चिहानमा पल्टिरहेको छ। गाडीहरु निरन्तर शंख फुकिरहेका छन्। गाडीहरु निरन्तर मलामी बगिरहेका छन्। कतिविघ्न मान्छे सल्बलाइरहेका हुन् यो बानेश्वरमा!
यो काकाकुल शहरको सन्ध्याकालीन समयमा धमिलो ल्याम्पपोस्ट, मेलम्चीको गन्ध, ठेलमठेल गाडी, धूलो र धुवाँ अनि सँगसँगै सल्बलाइरहेका मानिसहरु।
मध्य सडकमा उसले चुरोटको प्याकेट निकाली। बट्टा मतिर सारी, एक खिल्ली निकालेँ। लाइटर मसँगै थियो। लाइटर ऊसँगै थियो। धुवाँको साम्राज्यमा फेरि अरु धुवाँ।
कति बेपरवाह हो यो केटी! चुरोट बुङबुङ तान्दै हिंडिरहेकी छे। मान्छेहरु एकतमासले उसलाई हेरिरहेका छन्। उसलाई कसैको परवाह छैन।
हामी शंखमूलको ओरालोमा छौं। ऊ यो शहरको दुर्गन्धित व्यवस्थाको बयानमा छे। आजभोलि प्राय: सबै मान्छे यही खेतीमा छन्।
छिनेको कम्मर, कस्सिएको खिरिलो शरीर, पोइन्टेड हिप, अलि अस्वाभाविक उठेका आकर्षक छाती र झन्डै साढे पाँच फिट हाइटकी यो स्वास्नीमानिसलाई हेरेर थुक ननिल्ने लोग्नेमानिस सडकमा कोही देखिनँ। ऊ भनिरहेकी छे – 'यो शहरका नजरले दिनदिनै बिहानदेखी साँझसम्म र साँझदेखि बिहानसम्म जहाँ-जहाँ म पुग्छु, त्यहीँ त्यहीँ बलात्कार गरिरहन्छन्। यो बलात्कारी शहर र यी बलात्कारी नजर!'
म भन्छु – 'यो शहर बलात्कारी र यहाँका नजरहरु बलात्कारी हुनलाई तिमी छौ नै त्यस्ती खतरनाक, जो कोही पनि मोहित भइजाने।'
- यसमा मेरो के दोष त?
- दोष होइन, उपहार हो। उपहार भन। तिमी जस्तै हुने रहर कतिको हुँदो हो। तिमी भने दोष खोजी बसेकी छौ।
- देख्नु र भोग्नु नितान्त फरक कुरा हो मिस्टर ओल्ड म्यान!
उसले फेरी मेरो चेतनामा हिर्काई बूढो भनेर। उसले बलात्कारी शहर भनी। मैले हेड हन्टरकी छोरी र भैंसी गोठाल्नी देखेँ। उसो त मार्टिन्चीलाई पनि मैले बलात्कारै गरेको हो, एक सौहार्द बलात्कार! र यो सुन्दर केटी बलात्कारी शहर र बलात्कारी नजरहरु त्यसमाथि मिसिएको छ। यो बूढो मान्छे अर्थात् ओल्ड म्यान र पुन: बलात्कारी नजर।
यो सन्ध्याकालीन समयले हामीलाई शंखमूलको पुल क्रस गराएर एउटा नेवारी खाजाघरभित्र प्रवेश गरायो। छ्यालब्याल पोखिएको थियो काँचो गन्ध खाजाघरमा, जस्तो कि खिचापोखरीतिर कसाइखाना गन्हाउँछ।
उसले सरासर भित्र सिंगल टेबल भएको क्याबिनमा लगी। भित्र अलि तन्किएको ठाउँ थियो। झन्डै त्यहाँ टेबल र चार कुर्सी आँटेका ६/७ वटा क्याबिन थिए। मलाई लाग्यो, यो केटीको अड्डा हो यो। तर, सर्त त मेरो थियो। साउन्ड सिस्टमको कामचलाउ व्यवस्था गरिएको त्यस भट्टी पसलमा पुराना हिन्दी गजल छाइरहेको थियो।
काम गर्ने एउटा ठिटो हाम्रो टेबलमा झुल्कियो। उसले मतिर इसारा गरी। मैले उतै इसारा मोडिदिएँ। उसले चार शिल सेकुवा, दुई प्लेट साँधेको भटमास र फ्रुट सलाद भनी। ठिट्टोले 'ड्रिंक्स' भनेर सोध्यो। उसले मतिर हेरेर कुन भनी। मैले 'प्योर लोकल छ' सोधेँ। ठिटोले छ नभन्दै ऊ बोली- 'साला सिपाहीहरु! गुन्द्रुकको झोलमा जात फाल्छन्।'
उसले ओल्ड दरबार हाफ मगाई।
कत्रो हिम्मत यो केटीको? मेरो आत्मसम्मानको पिरामिड गर्ल्यामगुर्लुम भत्काइदिई एकै झड्कामा। उसलाई औपचारिकता मन पर्दैन भन्दैमा यतिविघ्न निकृष्ट हुन पनि के एक स्वास्नीमानिसलाई शोभा दिन्छ? ऊ लामो जुगदेखिका घनिष्ठहरुसँग जस्तै उठबस गरिरहेकी छे मसँग। मेरो मन यति बाक्लो सान्निध्य पचाउन आनाकानी गरिरहेको छ। मसँग मभित्रको पुरुषत्व क्वाँक्वाँ रोइरहेको छ।
हाय! यो के लीला हो, म बुझिरहेको छैन। एक मोडर्न युवती, असुहाउँदो भाषाशैली, हार्ड ड्रिंक्स र साथमा एक अपरिचित लोग्नेमानिस। आज किन हो, बेलाबेला यो समयलाई म विस्वासै गरिरहेको छैन।
उसले मतिर चुरोटको बट्टा लम्काई, मैले एक खिल्ली निकालेँ। गुलाबी ओठबाट धुवाँ उसैगरी सिलिङतिर धकेली। धुवाँ ब्रेकडान्स गरे झैं मर्किँदै उकालो बग्यो।
- यसरी तारन्तार चुरोट खानु उति लाभदायक छैन, होइन र?
- के म एक छोरीमान्छे भनेर तिम्रो दिमागमा यस्तो चेतना जागृत भएको हो? यदि हो भने भन ए पुरुष, महिला जातिले चुरोट खान हुँदैन भनेर कुन शास्त्रमा लेखिएको छ?
- होइन होइन, यति गहिराइमा जानुपर्दैन। मेरो संकेत यो मात्र हो कि, तिमीले चुरोट खाइरहेको त्यति सुहाइरहेको छैन।
- हाहाहाहा
एउटा लामो अट्टहास पोखियो। हामी पर्दाभित्र छौं। बाहिरको गाइँगुइँ एकछिन बन्द भयो।
ऊ - तिम्रो र मेरो भेट भएको दुई घन्टा बित्न पाएको छैन, तिमी अहिले नै मलाई आफ्नो प्रभुत्वमा पार्न खोजिरहेका छौ।
म – यसलाई हक जमाउनु नै भनिन्छ त?
ऊ – अभियस्ली! हेर, यो पुरुषप्रधान समाजमा पुरुषहरु हावी हुने प्रवृत्ति जताततै छ। तिमी मलाई मेरो हेल्थ या संस्कार तेर्स्याएर चुरोट नखान सुझाइरहेका छौ। यो पुरुष प्रवृत्ति हावी होइन त? अरे यार ! हेल्थ त तिम्रो पनि छ नि तिमी पनि नखान सक्छौ, होइन?
म- (भनिहाल्न मन भयो, जो नभने पनि हुने कुरा हो) ठीकै छ, यो प्रवृत्तिको खोल ओढेर तिमीलाई नखाऊ भन्दा तिमी के गर्छौ?
ऊ - (खिस्स हाँस्दै ) सानले यो बट्टा यहीँ सकिदिन्छु।
फेरि मेरो चेतना घाइते भयो। फेरि मेरो पुरानो याद ताजा भयो। ऊ भन्थी- सानले दस वटा चुरोट खाइदिन्छु। यो केटी मलाई बिलकुल उही जस्तो लागिरहेकी छे। यसमा म उसलाई किन खोजिरहेछु?
उसको अर्डर बमोजिम अहिले टेबलमा हरियाली छाएको छ। पुन: चुरोट सल्काई र आफ्नो लागी एक पेग बनाई। मैले गिलासभरि लोकल सारेँ। साँधेको भटमास एक चम्ची चपाउँदै भनी- 'वाह ! भनेजस्तै पिरो भएछ।'
गिलास उठाएर 'चियर्स' बोली। मैले पूरै गिलास स्वाट्ट पारेँ। उसले एक चुस्की मात्रै लिई।
- तिमी एक भूपू सिपाही।
- कसरी थाहा भयो तिमीलाई?
- सिपाहीहरु लाउन र खानमा सौखिन हुन्छन्, त्यो तिमीमा देखिन्छ। कठोर नियमको पालनाले सिपाहीहरु पत्थर जस्ता हुन्छन्, महिलाप्रतिको हेराइ अरु मान्छेको भन्दा अलि फरक हुन्छ। सायद लामो समय महिलाबाट टाढिनुको कारण पनि हो त्यो, अर्थात् सिकारी हेराइ।
यो लेडी के-के भन्छे-भन्छे। म बूढो मान्छे भूपू सिपाही, सिकारी हेराइ र लाउन-खानको सौखिन। वाह! तर, कसरी मलाई पढिरहेकी छे ऊ? म चकित छु।
- तिमी पूर्वी पहाडतिरको बूढो हुँदै गएको एक भूपु सिपाही, तर किन बिहे गरेनौ?
- मैले बिहे गरेको छैन भनेर कहाँ लेखिएको छ?
- तिम्रो स्वभाव र आचरणमा। बरु केही केटीसँग राम्रै उठबस गर्यौ तिमीले र त यति खुसी छौ। फकिर जस्तो आफ्नै मनको मालिक छौ।
- किन बिहे गरेका मान्छे खुसी रहँदैनन् र?
- खुसी त्यो पनि बिहे गरेका मान्छे? यो पूरै असम्भव कुरा हो!
- कसरी? तर धेरै हाँसीखुसी परिवार देखेको छु मैले।
- त्यो भ्रम हो। समाजका लागि देखाइने एक नाटक।
म - त्यसो त जिन्दगी एक भ्रम हो होइन र?
ऊ - कसरी? जिन्दगी एक वास्तविकता हो। जिन्दगी चलाउन सजिलो होस् भनेर जति पनि मूल्य-मान्यता र नियमहरुको चाङ लगाइएको छ र जुन विश्वासको नाम रटेर हामी जिन्दगीतिर ढल्किएका छौं, त्यो भ्रम हो। जिन्दगी आफैं भ्रम होइन। हामी भ्रममा चाहिँ बाँचिरहेका हुन्छौं। र जुन परिवार खुसी देखेका थियौ र त्यसलाई तिमीले बिहेको खुसी भनेर चिन्यौ भने त्यो चाहिँ सरासर गलत र खतरनाक भ्रम हो। यो भ्रमले त तिमीलाई विवाहतिर अग्रसर गराउँछ।
भूपु सिपाही - अनि के विवाह नै नगरी बस्नु? के यो सम्भव छ?
स्मोकर - (चुरोट सल्काउँदै) मैले त्यसो भनेकी कहाँ छु र। मेरो मनसाय त खुसीको भ्रमबाट बाहिर निस्क भन्ने पो हो त। तर, सम्भवको नै कुरा गर्छौ भने त असम्भव केही छैन। यो सामाजिक सुव्यवस्थाको हाउगुजी देखाएर ज-जसले जुन-जुन अवस्थामा जे-जे मूल्य-मान्यताहरु स्थापित गरे, त्यो सबै आफ्नो हित हेरेर गरे। अझ भनौं, शक्तिशाली वर्गले कम शक्तिशालीमाथि गरेको राजनीति हो सब। जबसम्म यो संसारमा मान्छे रहिरहन्छन्, तबसम्म यो प्रक्रिया कुनै न कुनै रुपले चलिरहन्छ। तिम्रै आँखाले देखेको सामन्य कुरा विचार गर न, के गाईगोरुले कहिल्यै बिहे गरेका देखेका छौ? मान्छेको उदय कालदेखि नै गाईबस्तु थिए र अहिले पनि छन्। खै बिहे त कहिल्यै भएको देखिँदैन!
मैले अर्को बोतल थपेँ। उसले भटमास र चुरोट मगाई। सेकुवा फेरि अघि आइसकेको छ। खाने क्रम अहिले नै रोकिहाल्ने अवस्था छैन। होटलमा चाप बढ्दै इ रहेको यो रक्स्याहा रात हो।
म – 'यो त भयंकर असमाजिक र समाज विरोधी कुरा भएन र?'
ऊ – 'वस्तुगत तथ्य याने कि प्रकृतिप्रदक्त कुरालाई अस्वीकार गरेर मान्छे भाग्छ कतिन्जेल? सत्य जे छ, त्यसलाई त अंगीकार गर्नैपर्छ होइन र? यो विवाह भन्ने चिज पनि त्यस्तै हो, प्रकृतिप्रदत्त होइन। तिमीलाई ज्ञात हुनुपर्छ, संसारमा विवाह नगरेका पनि थुप्रै मान्छे छन्, तिमी छौ, म छु। र सुन, विवाहको मतलब भन्नु प्रजनन प्रक्रियालाई निरन्तरता दिनु हो, यो कार्यसिद्धिको निम्ति त विवाह नै आवश्यक छैन नि। यो त एउटा व्यवस्था बनाइयो र सामाजिक संस्कार भनेर नाम भजाइयो। यसको पछाडि पनि मतलब छ- नारी दण्डहीनता । तिमी न्युट्रल भएर हेर, यो समाजमा जति पनि संस्कारहरु छन्, त्यो सबै नारी थिचोमिचोका निम्ति बनाइएका छन्। तर, तिम्रो पुरुष चेतनाले यो कुरालाई स्वीकारै गर्दैन। मुख्यतया पुरुषहरु महिलालाई एक स्टेप माथि भएको हेर्नै चाहँदैनन्। स्विकार्नु-नस्विकार्नु आफ्नो ठाउँमा छ, तर वस्तुगत सत्य यही हो।'
अहिले उसको विचारको अग्नि तेजवान भइरहेछ। म उसको लागि एक पेग बनाइदिन्छु र एउटा चुरोट सल्काउँछु। उसको हातमा अलरेडी चुरोट छ। मैले दुई बोतल लोकल सकिसकेको छु। ऊ एक्लैले आधीभन्दा बढी ओल्ड दरबार सकिसकेकी छ। म आफूलाई ओल्ड दरबार एक पेग बनाउँछु। ऊ मेरो पेग हेरिरहेकी छे।
म- यो सुयोग, सुयोगबीर सिंह अब तिमीलाई तिम्रो नामले सम्बोधन गर्न चाहन्छ।
निकै छोटो मुस्कान उस्को चेहराको बाटो भएर गुज्रिन्छ र ऊ मेरै नक्कल गरेर बोल्छे – 'म सिल्भिया, शिल्भिया शाक्य। एक अविवाहित जीवित कुमारी देवी, जो यो समाजका कुरीतीहरुका विरुद्धमा छे।'
हामी दुवै पहिलाकै अवस्थामा छैनौं, बोतलहरु हामीमा चढेका छन्।
सुयोग - ओ सिल्भिया, यदि विवाहको पवित्र बन्धन यो समाजमा नहुँदो हो त समाज सबै कुसंस्कारको जञ्जालमा फसेर मान्छेको अस्तित्व नै सक्कइसक्थ्यो, होइन र?
सिल्भिया - तिमीलाई त्यस्तो लाग्दो हो, तर मलाई लाग्दैन। संस्कार जस्तो बसाउँदै गयो, उस्तै बस्दै जाने हो। विवाह त महिलाको भन्दा पुरुषहरुको हितमा ज्यादा छ।
म - तिमी त विवाहभन्दा पनि बढी पुरुषविरोधी जस्तो पो देखिन्छ्यौ!
ऊ- त्यसो हैन । तिमीले गलत बुझ्यौ, म पुरुषभोगी चैं हुँ। मेरा विचारहरु पुरुषविरोधी जस्ता देखिएलान्, तर त्यसो होइन। पुरुष चैं एक मानिस मात्रै नभएर संस्कारमा परिणत भएको छ। म त्यो संस्कारको चैं विरोधी हुँ, पुरुषको होइन। बरु लोग्नेमान्छेहरु आइमाईका भोगी हुन्। महिलालाई उपभोग्य वस्तु जस्तो प्रयोग गर्छन्। घरमा विवाह गरेका स्वास्नी हुँदाहुँदै लोग्ने बाहिरी केटीसँग मोजमस्ती गरिरहेका हुन्छन्। त्यो छोड, अझै पनि दुइटा तिन्टा स्वास्नी छरछिमेकमा कतिका प्रशस्तै देख्न सकिन्छ। यो त सरासर पक्षपात हो नि! पुरुष संस्कार कस्तो छ हेर न, एक महिला परपुरुषसँग बोल्दा समाजमा त्यो महिलाको कत्रो कुरा काटिन्छ, तर पुरुषले बोल्दा तिमीले त्यस्तो भएको कहिल्यै थाहा पाएका छौ?
म - ओ विवाहविरोधी सेक्सी सिल्भिया अनि सेक्स सम्बन्धीको धारणा चैं? त्यो पनि बताऊ न।
ऊ - तिमी लोग्नेमानिसहरु जतिसुकै जेन्टलमेन भए पनि घुमिफिरी आउने ठाउँ नै त्यही हो। सुन मिस्टर सेक्सी सिपाही, हाम्रो समाजमा सेक्सलाई अति नै गौण राखियो र यही सेक्स परिपूर्तिको निमित्त लाइसेन्स हो बिहे चैं। त्यसैले बिहेपछि मात्रै सेक्स र एकै जनासँग मात्रै सेक्स भन्ने बुझाइले मान्छेलाई खुसी हुनै दिँदैन। त्यसमाथि आजको जेनेरेसन नेटमा सेक्स मुभी हेरीहेरी चालु भइसकेको छ। तिनका लागि एकै मात्र सेक्स पार्टनर हुनु भनेको जीवनकै सबैभन्दा ठूलो सजाय हो।
म - ए महिला, तिमी कत्रो विरोधाभास बोलिरहेकी छ्यौ, कत्रो धृष्टता तिमीमा। भो, बन्द गर यी कुरा। मलाई यो रक्सी लाग्न देऊ।
ऊ - कसरी धृष्टता, कसरी विरोधाभास? सिम्पल कुरा सुन, मानिस बिहान खाएको खाना बेलका खान नपरोस् भन्छ, खाइ हाले पनि भोलिपल्ट खान नपरोस् भन्छ। सेक्सलाई त मानिसले खाना जतिको पनि महत्व दिएन, अनि कसरी खुसी हुन्छ? भित्रैबाट खुसी हुनु र खुसी भएको अभिनय गर्नु फरक कुरा हो मिस्टर सिंह। मिस्टर ओल्ड म्यान, तिम्रो फोन नम्बर टिपाऊ मलाई। म तिमीलाई सेक्सको निम्तो दिनेछु। त्यो दिन तिमीले थाहा पाउनेछौ, खुसीको परिभाषा।
विडम्बना! मसँग फोन थिएन। मैले उसैको नम्बर लिएँ।
सेक्सको निम्तो पाएको मिस्टर सिंह – 'तिमी जीवित कुमारी देवी?'
होटल बन्द गर्ने बेला भएछ। गेम मैले हारेको घोषणा भयो। मर्जी सेक्सी लेडीको चल्यो, बिल मैले तिरेँ।
बाहिर निस्केर एक-एक खिल्ली चुरोट सल्कायौं। खुट्टाहरु हल्का लुलो भए पनि दुवैको बोली बिल्कुल ठीक छ।
जीवित कुमारी देवी – 'हो, म जीवित कुमारी देवी। मलाई जान्न एकदमै उत्सुक भएका छौ तिमी, होइन?
भूपु सिपाही – हो, निकै उत्सुक छु।
ऊ – 'ब्यागबाट कलम र सानो कागज निकालेर केही लेखी र मलाई दिँदै भनि यो पुस्तक किनेर पढ, मलाई जान्नेछौ मिस्टर सुयोगवीर सिंह! एक नामर्द सिपाही! एक किस किलर! अब तिमी जान सक्नेछौ' भन्दै मलाई धकेली र फेरि भनी – 'फोन लिएपछि खबर गर, तिमीलाई सेक्स गर्न सिकाउँछु मिस्टर बलात्कारी सिपाही।'
आह! उसले फेरि मेरो चेतनामा घन ठोकी।
र सोचेँ, यसले शिरीषको जंगलभित्र त्यो एक चोक्टो हरियो चौरमा मलाई पढिसकेकी रैछे। यो रक्स्याहा केटीसँग शिवराजको कति पनि तालमेल छैन। ऊ मलाई रक्सी पिउँदा पनि सम्मान गर्थ्यो। डेरामा पुगेर बत्तीको उज्यालोमा सिल्भियाले दिएको चिर्कटो हेरेँ।
एक शब्द लेखिएको थियो-
‘मिस्टिका'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।