दुर्घटनामा परेपछि विपीनलाई लाग्यो– 'ला... अब मेरो करिअर सक्कियो'

अनिल यादव  | २०७६ श्रावण २४ शुक्रबार | Friday, August 09, 2019 १९:११:०० मा प्रकाशित

‘ला... अब म अपांग भएँ। मेरो करिअर सक्कियो। अब अभिनय गर्न सक्दिनँ होला। खुट्टा भाँचिएको मान्छेलाई कसले फिल्म खेलाउला र?’

सात महिनाअघि जब अभिनेता विपीन कार्की मोटरसाइकल दुर्घटनामा परे, त्यतिबेला उनका मनमा यस्तै कुराले घर जमाइसकेका थिए। अस्पतालको अप्रेसन थिएटर पुग्नुअघिसम्म उनलाई पटकपटक लागिरहेको थियो, ‘मेरो जिन्दगीका स्वर्णिम दिनहरू अब सक्किए। अब त चाहेर पनि मैले जीवनमा केही गर्न सक्दिनँ होला।’

त्यो दिन २०७५ मंसिर ०४ गते थियो। त्यो बिहान ‘जात्रैजात्रा’को सुटिङ बालाजुमा भइरहेको थियो। जसमा विपीन प्रमुख भूमिकामा अभिनय गरिरहेका थिए। उनलाई लिन डेरासम्मै गाडी आउने तयारीमा थियो।

तर, बाइकका सौखिन उनलाई गाडी कुरिरहन मन लागेन । बाइकमै निस्किए सुटिङतर्फ। टेकु पुलमा पुग्नेबित्तिकै एउटा बाइक अनियन्त्रित तरिकाले आएको देखे। अलिकति साइड लाउन खोज्दै थिए, उनकै खुट्टातिर आएर ठ्याङ्गै ठोक्किइहाल्यो।

विपीनलाई लाग्यो– खुट्टा भाँच्चियो। दुख्यो पनि तर उनी बाइकमै रहे, लडेनन्। उता हान्ने मान्छे भागिसकेको थियो। यता विपीनले खुट्टा टेक्न खोजे, सकेनन्। बेहोस पनि भएनन्। मनमा अनेक तर्कना खेले।

‘अरे, यत्रो खुट्टा भाँच्चिदा पनि म बेहोस भइनँ,’ दुर्घटना हुनासाथ तत्काल मनमा खेलेका कुरा सम्झिन्छन्, ‘यसो आँखा छाम्छु, आँसु पनि आ’को छैन। फेरि मनमनै सोच्छु, यत्रो डेन्जर कुरा हुँदा पनि आँसु आँउदैन त यार! फिल्ममा भए त आँसु निकालेर धुरुधुरु रुनुपर्ने हुन्थ्यो। हामीले गरिरहेको अभिनय कति यथार्थपरक रै’छ, थोरै महसुस पनि गरायो।’

त्यतिबेला उनले ढलीढली भए पनि मोबाइल निकालेर फिल्मको प्रोडक्सन म्यानेजरलाई फोन गरे। दुर्घटना भएको निकै समयसम्म उनलाई उठाउन कोही आएनन्। सबै आउँथे, हेर्थे, विचरा भन्थे अनि जान्थे। अति भएपछि, गुहार माग्न थाले, ‘प्लिज मलाई उठाइदिनुस्, बचाइदिनुस्, ट्याक्सीमा हाल्दिनुस्।’ 

बल्ल उनी वरिपरि रहेकाहरूको सहयोगमा उठे। अनि पुगे नजिकै रहेको बल्खुस्थित वयोधा हस्पिटल।
सिधै इमरजेन्सी वार्डतिर लगियो। यो बेलासम्म उनले घरकी श्रीमती, नजिकै बस्ने दिदी र फिल्म युनिटलाई दुर्घटनाबारे जानकारी गराउन भ्याइसकेका थिए। 

विपीनकै भाषामा भन्नुपर्दा अप्रेसन थिएटरमा पुग्नुअघिसम्मको समय उनका लागि ‘एक्सिडेन्टको संक्रमणकाल’ थियो। शारीरिक र मानसिक दुवै रूपमा सबैभन्दा बढी पीडा भागेको समय पनि त्यही थियो। 

अस्पतालको बेडमा लगेर झार्दाझार्दैै ‘जात्रैजात्रा’को टिम त्यहाँ आइसकेको थियो। विपीन ठानिरहेका थिए, उनका कारण सारा फिल्म युनिटलाई अब असर पुग्ने भयो। निर्माताको लगानी डुब्ने भयो। त्यहीबेला डाइरेक्टर र प्रोड्युसर आएर सन्त्वना दिए, ‘यो फिल्म ठूलो कुरा होइन, सन्चो भएपछि गरौंला। मुख्य कुरा तिम्रो हेल्थ हो। त्यसैले फिल्मको तनाव नलेऊ।’ 

अप्रेसन थिएटरमै सेल्फी 
दुर्घटना बिहानको समयमा भएकाले विपीनले केही खाएका थिएनन्, चिया शिवाय। त्यसैले त्यही दिन तत्काल उनको अप्रेसन हुने भयो। इमरजेन्सी वार्डबाट सिधै अप्रेसन थिएटरमा लगियो। 

अप्रेसन थिएटरमा पुगेपछि बल्ल उनको मनले राहत महसुस गर्‍यो। त्यो पनि जब डाक्टरले उनलाई हौसला दिए, ‘कस्ता–कस्ता खुट्टा मैले जोडिसकेँ, तपाईंलाई केही पनि हुँदैन, खुट्टा जस्ताको तस्तै हुन्छ, टेन्सन नलिनुस्।’ 
डाक्टरले नै त्यसो भन्दिएपछि त कसको आत्मविश्वास नबढ्ला र! उनको पनि बढिहाल्यो। 

अप्रेसन थिएटरभित्रको उनको अनुभव पनि कम रमाइलो छैन। दुइटा सुई लाउनेबित्तिकै उनलाई खुट्टामा केही गरेजस्तो महसुस भएन। हाँस्दै सम्झन्छन्, ‘मजा आउँदो रै’छ। नर्सहरू त्यस्तै मिलनसार!’

सिकर्मीले काठको काम गर्दाजस्तो ठ्याङठ्याङ आवाज आएपछि उनी चिकित्सकसँगै जिस्किएछन्, ‘यो अप्रेसन भन्या त फर्निचरको कामजस्तै रै’छ त!’

डाक्टरले हाँस्दै जवाफ दिएछन्, ‘फर्निचरभन्दा हार्डजोर्नी त झनै डेन्जर हो नि।’

यसरी जिस्कँदा–जिस्कँदै अप्रेसन सकिएछ। त्यसपछि नर्स र डाक्टरले अनुरोध गरेछन्, ‘एउटा सेल्फी खिचौं है।’  
‘अप्रेसन थिएटरको त्यो सेल्फी म कसरी बिर्सूं?’ विपीन अहिले पनि ठट्टा गर्छन्। 

आमाको गुनासो
विपीनले आफू दुर्घटनामा परेको खबर विराटनगर रहेकी आमालाई सुनाएका थिएनन्। कारण, गाली खानुपर्ला भन्ने डर!

बच्चाबेला हात काट्दा, लड्दा पनि उनलाई उपचारभन्दा बढी चिन्दा आमाबाले थाहा पाउलान् कि भनेर हुन्थ्यो। एकपल्ट बकैनाको रुखबाट झरेर चोट लाग्दाको घटना पनि उनले बिर्सिएका छैनन्। भन्दै थिए, ‘त्यतिबेला आफूलाई खुट्टाबाट रगत बग्दा पनि बाउले देख्लान् या आमाले कराउलिन् कि भन्ने डर हुन्थ्यो।’

अहिले पनि त्यही बाल्यकालकै प्रभाव होला, आमाले विपीन दुर्घटनामा परेको खबर मिडियामा समाचार पढेर थाहा पाउनुपर्‍यो। विराटनगरबाटै दाइ पनि आमालाई थाहै नदिई सुटुक्क अस्पताल आइपुगेछन्। 
यो सब थाहा पाएपछि आमा रिसाइन्। आमा रिसाएको विपीनले थाहा पाए। त्यसपछि अप्रेसन गरेको भोलिपल्टै पहिलो कल आमालाई गरे। 

‘मँ त तेरो कोही रै’नछु, तँ दुर्घटनामा परेको खबर पनि अरूबाट थाहा पाउनुपर्ने’ भन्दै गुनासो गरिन्। विपीनले ‘त्यस्तो होइन’ भन्दै सम्झाए। आमा न हो, फकिन पनि समय लागेन। 

हस्पिटलमै अभिनय 
विपीनको १२ दिने हस्पिटल बसाइ कम अविस्मरणीय रहेन। उनले सोचेका थिए– अब पढ्न बाँकी पुस्तक यतै सकाउँला। श्रीमतीले किताब पनि ल्याइदिइन्। तर, प्रशंसकको प्रेमले उनको त्यो चाहना पूरा हुन दिएन। 

दिनहुँ १ सयभन्दा बढी प्रशंसक उनलाई भेट्न आउँथे। उनलाई भेट्न आउने हुल देखेर अस्पताल प्रशासन नै तनावमा पर्‍यो। भेटघाटको नियम नै परिवर्तन भयो। 

अस्पताल प्रशासन मात्रै होइन, भेट्न आउनेको संख्याले विपीन स्वयंलाई तनाव हुन्थ्यो। ‘पिसाब फेर्नलाई पनि प्रोगाम बनाउनुपथ्र्यो,’ उनले सम्झिए, ‘कतिखेर यो मान्छे जाला अनि पिसाब फेर्छु भनेर प्लान बनाउनुपथ्र्यो। त्यस्तै खाजा खाने, खाना खाने सबै कतिखेर को गएपछि गर्ने भनेर तयारी गर्नुपर्थ्यो।’

भेट्न आउनेको हुलदेखि हस्पिटलमा काम गर्ने गार्डसम्म आजित भइसकेका थिए। एकपल्ट त विपीनकी श्रीमतीलाई नै ढोकामा रोक्दिएछन्। अनि थर्काएछन्, ‘तपाईंको मान्छे मात्रै भिआइपी, अरू चाहिँ भिआइपी होइनन्?’

पछि श्रीमतीले त्यही कुरा विपीनलाई सुनाइन्। सुनेर रिस होइन, बरु हाँसो उठेछ। अस्पताल रहुन्जेल उनलाई भेट्न बाहिरका मान्छे मात्रै होइन, भित्रकै नर्स, डाक्टर र बिरामीसमेत आउँथे। नियमित हेरचाह गर्ने नर्सले पनि उनलाई अनुरोध गर्थिन्, ‘मेरो साथी तपाईंको फ्यान हो, तपाईंसँग फोटो खिच्छ रे।’

कतिपय नर्सले आफ्नो ‘प्रोफाइल’ बलियो बनाउनका लागि विपीनलाई हेरचाह गरिरहेको तस्बिरसम्म खिचाएछन्। ‘म अस्ट्रेलिया जाँदैछु, सेलिब्रेटीलाई हेरचाह गरेको तस्बिर धेरै काम लाग्छ भनेर फोटो खिचाउँथे,’ विपीन सुनाउँछन्, ‘त्यसोभए सिरियस भा’को एक्टिङ गर्दिऊँ? भन्दै म पनि जिस्किन्थेँ। उनी क्यामेरातिर नहेर्नु भन्थिन्। आइया... भनेर सिरियस बिरामीको अभिनय गर्दिन्थेँ।’

डाक्टरको झुट पनि प्यारो
विपीनलाई मान्छेहरूले झुट बोलेको मन पर्दैन। झुट कसलाई पो मन पर्छ र? तर, कहिलेकाहीँ यस्तो परिस्थिति आइदिँदो रहेछ, झुट पनि प्यारो लाग्छ। 

अस्पतालमा रहँदा डाक्टरको तालिका अनुसार सधैं औषधि खाएर सुत्नुपथ्र्यो। तर, एक रात उनी सुतिरहेको वार्डमाथि नयाँ कोठाको निर्माण भइरहेको थियो। घ्यारघ्यार आवाजले उनलाई सुत्न दिएन।‘बिरामी भएर अस्पताल गएको मान्छे झन् टर्चर पो भयो,’ विपीनले सम्झिए, ‘त्यसपछि भोलिपल्ट बबाल गर्नुपर्‍यो भनेर नर्स, गार्ड सबैलाई म्यानेजमेन्टको हेड बोलाउन लगाएँ।  पछि डाक्टर सा’ब फलोअपमा आउनुभयो।’

डाक्टर आउनासाथ विपीनले ‘रातभरि सुत्न सकिएन’ भन्दै मात्र थिए, डाक्टरले रोकिहाले र भने, ‘त्यही त विपीनजी, मेरो मुनिको कोठा साँघुरो भएर माथि मेरै लागि नयाँ कोठा बनाइरहेको छ। त्यसैले तपाईंलाई डिस्टर्ब भयो होला रातभरि।’

आफूलाई निको पार्ने डाक्टरकै कोठा बनिरहेको भनेपछि विपीनको मन पग्लिहाल्यो। जवाफमा डाक्टरलाई मुन्टो हल्लाउँदै भने, ‘हैन, केही छैन डा’साब, ठिकै छ।’

तर, हस्पिटलबाट डिस्चार्ज भएको दिन डाक्टरसँग बिदा माग्न उनको कोठा पुगे। त्यतिबेला थाहा भयो– डाक्टरले आफ्नो कोठा बनिरहेको भनेर झुट बोलेका रहेछन्। 

‘उहाँको कोठा त ठूलो र फराकिलो रै’छ,’ विपीनले भने, ‘हस्पिटललाई बचाउन पो गफ दिनुभएको रै’छ। तर पनि रिस उठेन। मुस्कुराउँदै घर फर्किएँ। झुट पनि प्यारो लागेको सायद त्यहीबेला हो।’

नतिजाबाट दंग 
अस्पतालमा रहँदा डा अभय यादवले विपीनलाई भनेका थिए, ‘अब ५० दिनमा मज्जाले निको हुनुहुनेछ।’ उनलाई पनि हो जस्तो लाग्यो। त्यसपछि फिल्म युनिटलाई ढुक्कसँग भने, ‘ल अब ५० दिनपछि सुटिङ राख्नु, त्यतिबेलासम्म म निको भइसक्छु।’

तर, दुई महिनाको बेड रेस्टपछि मात्रै सुटिङ राखियो। पहिलो दिन खुट्टालाई दबाब सिर्जना हुने सिन राखिएन, त्यसैले विपीनले सहजै गरे। त्यसको दुई दिनपछि अर्को सुटिङ राख्दा उनी फेरि झन्डै दुर्घटनामा परे। ‘त्यसपछि डेढ महिनाबाट गर्ने भन्ने थियो तर सकिएन,’ विपीनले भने, ‘एकैचोटि ६० दिनपछि गरियो। मेरा डाक्टरले भनेकाले ५० दिनपछि ठमठम हिडूँला भन्ने लागेको थियो तर सकिएन। मेरो मनोबल बढाउन पो उहाँले त्यसो भन्नुभएको रहेछ।’

सुटिङ अवधिभर पनि विपीनलाई एउटै कुराको टेन्सन थियो, कतै खुट्टाको कमजोरी पर्दामा देखिने पो हो कि!त्यसैले उनी निर्देशकलाई सोधिरहन्थे, ‘खुट्टा त ठिक छ नि?’

जवाफ आउँथ्यो, ‘ए, गज्जब छ।’ 

‘तर, मलाई थाहा हुन्थ्यो उहाँ सान्त्वना दिइरहनुभएको छ,’ विपीनले भने। 

यति ठूलो संघर्ष र त्यागपछि तयार भएको फिल्मको नतिजा राम्रो निस्किएपछि अहिले विपीन दंग छन्। भन्दै थिए, ‘फिल्म हेर्दा कतै खुट्टाको मिस्टेक देखिएला भन्ने डर लागिरहेको थियो। तर, रिलिज भइसकेपछि दर्शकहरूले ‘क्या मिलाएर हिँडेको। हिँडाइमा पनि क्या ख्याल गरेको विपीन दाइले’ भन्दा त कति खुसी लाग्यो–लाग्यो।’

अहिले पनि विपीनको खुट्टा पूरै निको भइसकेको छैन। खोच्याउँदै हिँडिरहेका हुन्छन्। तर, कसैले ‘अझै प्रोब्लम रै’छ है’ भनेर सोध्यो भने उनी त्यसलाई सहजै स्वीकार्न सक्दैनन्। ‘खोइ किन हो, मनले हो भन्न सक्दो रहेनछ,’ विपीनले हाँस्दै स्वीकारे। 

जतिबेला विपिन बाइक दुर्घटनामा परे त्यो बेला उनी फिल्ममा एकदमै व्यस्त थिए। व्यस्त भइरहेका बेला दुर्घटनामा परेपछि करिब चार महिना उनी सुटिङ सेटबाट टाढिनुपर्‍यो। 

त्यतिबेला सुटिङ सेट कति मिस भयो होला? 

भन्छन्, ‘धेरै मिस हुन्थ्यो तर म चित्त बुझाउँथे। योभन्दा ठूलो दुर्घटना भएको भए त मैले कलाकारिता गर्न पाउँथिन होला, धन्न यति मात्रै भयो भन्दै आफूले आफूलाई फकाउँथे।’ 

बैसाखीमा प्रमोसन 
धरै फिल्मकर्मीको गुनासो सुनिन्छ, ‘नेपाली कलाकारहरू फिल्मको प्रमोसनमा साथ दिँदैनन्। पारिश्रमिक थाप्नासाथ आफ्नो बाटो लागिहाल्छन्।’ 

बजारमा यस्तो गुनासो व्यापक भइरहेका बेला विपीन भने खुट्टा भाँचिदा पनि फिल्मको प्रमोसनमा देखिए। ‘प्रसाद’ फिल्म रिलिजका बेला उनी बैसाखी टेकेर भएपनि फिल्मको कार्यक्रममा पुगेका थिए। खुट्टा खोच्याइखोच्याइ भएपनि उनले ‘गोपी’ फिल्मको प्रमोसनमा समय दिए।

‘के गर्नु, आफ्नो प्रोडक्ट (फिल्म) हो, माया लाग्दो रै’छ,’ विपिन भन्छन्, ‘फेरि मेरो बानी के छ भने मैले कुनै फिल्ममा हात हालेपछि त्यो फिल्म निर्माता/निर्देशकको भन्दा पनि मेरो हो भन्ने लाग्छ। सुटिङका बेला पनि कुनै दृश्यका लागि केही पनि आवश्यक कुरामा कम्प्रोमाइज गर्न दिन्नँ। बरु झगडा गरेरै भए पनि पर्फेक्ट बनाउने कोसिस गर्छु।’

‘प्रसाद’ फिल्म रिलिजका बेला नै दुर्घटनामा परेका कारण उनले त्यतिबेला भनेजति प्रमोसनमा समय दिन नपाउँदा पछुतो महसुस हुन्छ। ‘त्यतिबेला पनि बैसाखी टेकेरै म दुईपल्ट हलमा पुगेको छु,’ उनले सम्झिए, ‘नम्रता (श्रेष्ठ) एक्लै हिँडेको देख्दा मलाई तनाव हुन्थ्यो। मैले पनि साथ दिन पाए हुन्थ्यो भन्ने फिल हुन्थ्यो। निर्माताले त्यत्रो पैसा हालेर फिल्म बनाएको हुन्छ, हामीले वास्तै गरेन भने त चित्त दुखिहाल्छ नि!’

कुरुवा बस्दाबस्दै ‘भष्मे डन’
फिल्म ‘पशुपतिप्रसाद’ हेर्नुभएको छ भने पक्कै विपीनले निर्वाह गरेको ‘भष्मे डन’ क्यारेक्टरलाई ख्याल गर्नुभएको होला। यो क्यारेक्टरको पहिलो परिकल्पना पनि विपीनले अस्पतालमा रहँदारहँदै गरेका हुन्। 

त्यतिबेला उनकी आमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल काठमाडौं) मा भर्ना भएकी थिएन्, कलेजोको समस्या लिएर। १५ दिन उनी अस्पतालमा कुरुवा बसेका थिए। हस्पिटलमा उनको यो पहिलो बसाइ थियो। त्यतिबेलै उनले ‘पशुपतिप्रसाद’को स्क्रिप्ट पढेका रहेछन्।

‘आमालाई भेट्न खगेन्द्र लामिछाने (फिल्मका निर्माता तथा कलाकार) आउनुभएको थियो। त्यतिबेलै उहाँले स्क्रिप्ट थमाएर जानुभएको हो,’ विपीनले सम्झिए, ‘भष्मे डनको क्यारेक्टर निर्माण मैले लगभग त्यहीँ गरेको थिएँ। पछि दर्शकले मन पराउँदा खुसी लाग्यो।’

विपीनले हस्पिटलमा बस्नु कतिपय पीडादायी हुन्छ भन्ने पहिलोपल्ट त्यतिबेलै थाहा पाएका हुन्। कुरुवा बस्दा सबैभन्दा ठूलो समस्या सुत्नुको हुन्थ्यो। सम्झिन्छन्, ‘भुइँमा सुतिएको हुन्थ्यो, बिहानै चार बजे पोछावाला ‘उठ्नु, उठ्नु’ नत्र जिउमै पोछा लाउनुपर्ला भन्दै आइपुग्थिन्। कम्ती रिस उठ्थेन त्यतिबेला।’ 

त्यतिबेला पनि तीन वटा फिल्म त खेलिसकेका थिए उनले। तर, खासै चर्चामा थिएनन्। नर्सलाई पनि केही सहयोग माग्नुपर्‍यो भने खुब अनुरोध गर्नुपथ्र्यो। ‘तर यसपालि आफैं बिरामी हुँदा त्यसो गर्न परेन,’ विपीन दंग पर्दै भन्छन्, ‘उल्टै नर्सहरू आफैं मिठो–मिठो खानेकुरा ल्याइदिन्थे। मान्छेको प्रोफाइलले हस्पिटलमा ठूलो अर्थ राख्दो रै’छ। सेलिब्रेटी हुनुको फाइदा यही रहेछ।’

अस्पतालमा आफैं बिरामी भएर जाँदा होस् या बिरामीको कुरुवा भएर, यी सबै अनुभव विपीनका लागि अभिनयको कक्षा जस्तै भएछन्। भन्दै थिए, ‘कलाकारिता पेसा नै यस्तै रहेछ, कुनै पनि अनुभव खेर जाँदैन।

आफूले भोगिसकेको कुरा भोलि पर्दामा अभिनय गर्नुपर्दा मलाई कसैले सिकाउनुपर्दैन। आफैं गर्न सक्छु। अब बिरामी या कुरुवाको रोल गर्नुपर्‍यो सायद राम्रो निभाउन सक्छु।’