५० लाखभन्दा माथिको ऋण लिँदा अब स्थायी नेखा नम्बर अनिवार्य

नेपाल लाइभ | २०७६ श्रावण २१ मंगलबार | Tuesday, August 06, 2019 १४:०६:०० मा प्रकाशित

काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँभन्दा माथिको ऋण लिनका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले सोमबारदेखि नयाँ निर्देशन पालना गर्न बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको छ।

बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी ५० लाख वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ। यसअघि १ करोड रुपैयाँसम्मको ऋण लिनका लागि प्यान अनिवार्य थियो।

यसका साथै राष्ट्र बैंकले एकीकृत निर्देशनको बुँदा नम्बर ४(६) मा पनि संशोधन गरी नयाँ व्यवस्था कायम गरेको छ। कुनै समूहले ५० लाख रुपैयाँसम्मको ऋण लिइसकेको अवस्थामा त्यस्तो समूहको कुनै पनि सदस्यले थप ५० लाख रुपैयाँसम्म ऋण लिँदासमेत प्यान अनिवार्य गरिएको छ।

यसअघि ऋणी एउटै समूहअन्तर्गत पर्ने भएमा त्यस्तो समूहको १ करोड वा सो भन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूहअन्तर्गतको कुनै पनि व्यक्तिलाई १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्दा स्थाथी लेखा नम्बर अनिवार्य लिएको हुनुपर्ने व्यवस्था गरेको थियो।