असार–२७ को साँझ चलचित्र विकास बोर्डले राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट एकैपल्ट ‘होलसेल’मा तीन वर्षको नेसनल फिल्म अवार्ड बाँड्यो। ०७५ को उत्कृष्ट फिल्म घोषित भयो– ‘गोपी’।
त्यो साल फिल्म समीक्षकबाट एकदमै प्रशंसा बटुलेको फिल्म ‘हरि’ले कुनै पनि विधामा अवार्ड पाएन। नतिजाले फिल्म समीक्षक समाजका अध्यक्ष यज्ञशको पारो तात्यो। नतिजा आएकै रात उनले ट्विटर ह्यान्डलबाट ट्विट गरेः
‘नेसनल अवार्ड पाउने सबैलाई बधाई छ। खाली एउटै कुरो बुझिनँ, पोहोर ‘हरि’ भन्ने फिल्म पनि बन्याजस्तो ला’थ्यो! फिल्मको आफ्नै भाषा हुनुपर्छ भन्नेहरूले यसबारे गफ पनि निकै गरेजस्तो ला’थ्यो। ‘बुलबुल’सँगै ‘हरि’लाई फिल्म भाषा र प्राविधिक पक्षमा अब्बल भन्याजस्तो ला’थ्यो! हैन रै’छ क्यारे!’
त्यसपछि अवार्डको नतिजामाथि असन्तुष्टि पोखिने क्रम जारी रह्यो। असन्तुष्टि पोख्ने अधिकांशको एउटा समान प्रश्न थियो– अवार्डले ‘हरि’लाई किन सम्झिएन?
०७५ सालका लागि जुन फिल्मले अवार्ड जित्यो उसैका निर्देशक दीपेन्द्र लामाले समेत मुख खोले, ‘०७५ मा ‘बुलबुल’ र ‘हरि’ मलाई मनपरेका फिल्म हुन्।’
फिल्म समीक्षक गोकर्ण गौतमले नेसनल अवार्डको नतिजामाथि आलोचना गर्दै कान्तिपुरमा टिप्पणी नै लेखे, ‘नेपाली फिल्मको समृद्धि र दर्शकको सिनेमा सारक्षता अभिवृद्धिका लागि पनि ‘हरि’हरू बनिरहनुपर्छ। यसले केही विदेशी फेस्टिभलमा उत्साहजनक उपस्थिति जनाइरहेको छ। तर राज्यले नै बाँड्ने अवार्डमा भने ‘हरि’ लाई पूरै निषेध गरियो। कस्तो विडम्बना!’
उनको दाबी थियो– अघिल्लो वर्ष करिब ८० फिल्म प्रदर्शन भए, तीमध्ये गुणवत्ताको आधारमा दीर्घकालसम्म नेपाली फिल्म उद्योगले सम्झने दुई चलचित्र मात्र हुन्- ‘बुलबुल’ र ‘हरि’।’
तर, ‘हरि’ लाई त एउटै अवार्डको लायक पनि ठानिएन। ०७५ साल जेठ–४ गते हलमा रिलिज भएको यो फिल्म अहिले नेपाली दर्शकका लागि इतिहासको गर्तमा विलय भइसक्यो। सत्य के भने यो फिल्म त्यो साल रिलिज भएमध्ये एउटा यस्तो फिल्म थियो जुन भब्य तामझाम र पब्लिसिटीविनै ‘गुपचुप’ शैलीमा हलमा आएको थियो र थोरै दर्शकको मात्र मन हुँडल्न सफल भएको थियो।

फिल्म रिलिज लगत्तै यसले फिल्म समीक्षकहरूबाट साह्रै धेरै प्रशंसा बटुल्यो। तर हलमा दर्शकको संख्या बटुल्न सकेन।
दर्शक नआइदिनुको एउटा कारण पर्याप्त प्रचारको अभाव पनि होला तर यो नै पुर्ण कारण थिएन। नेपाली फिल्मको कथ्यशैलीमा विल्कुलै नयाँ प्रयोग गर्नु पनि सायद अर्को महत्वपूर्ण कारण थियो।
कस्तो थियो फिल्म?
केही गीत, केही द्वन्द्व, केही कमेडी, केही आँसु र केही रोमान्सका दृश्य राखेपछि फिल्म बनिहाल्छ अनि बजारमा चलिहाल्छ भन्ने कमजोर परम्परागत मानसिकताबाट पूरै पर रहेर बनेको फिल्म थियो–‘हरि’। न फिल्ममा अनावश्यक चुट्किला थिए, न अनावश्यक रोनाधाना र ग्ल्यामर।
कसैले छाड्ने हिम्मत गर्न नसकेको नेपाली फिल्मको परम्परागत कथ्य संरचनालाई यसले सजिलै छाडिदिएको थियो। हिजो नेपाली फिल्ममा जसरी कथा भनिन्थ्यो, यो फिल्मले त्यसरी कथा भनेको थिएन। सायद बजारले अस्वीकार गर्नुको एउटा निर्मम कारण यो पनि थियो।
दुई युवा निर्देशक सफल केसी र प्रतीक गुरुङले संयुक्तमा रुपमा हिम्मत गरेर बनाएको फिल्म थियो यो। यो सिनेमामार्फत् नेपाली फिल्मले पहिलोपल्ट सन् १९२१ मा फ्रान्सको पेरिसबाट सांस्कृतिक क्रान्तिका रुपमा सुरु भएको सररियालिज्म (अतियथार्थवाद)लाई आत्मसात गरेको थियो। निर्देशकले पात्रमार्फत् अवचेतन र अलौकिक मनको यथार्थलाई आत्मसात गरेका थिए।
‘हरि’ यही नाम बोकेको पात्रको कथा थियो। चार पुस्ताको पारिवारिक परिचयबाट सुरु हुने यो फिल्मले ३० वर्षीय विष्णुहरि (विपिन कार्की)को कथा भनेको थियो। जो फिल्ममा रामहरिका पनाति, कृष्णहरिका नाति र शिवहरिका छोरा थिए।
फिल्ममा विपीनले चारवटै भूमिका आफै निर्वाह गरेका थिए। विष्णुहरि फिल्मका न्यारेटर पनि थिए, जो आफ्नो कथा आफैं सुनाउँथे। धर्म र अन्धविश्वासमा बढी विश्वास राख्ने उनको आफ्नै बाँच्ने शैली थिएन, आफ्नो पुर्खा र आमाले बनाएको नियममा बाँचिरहेका थिए।
फिल्मभित्र उनी लक्ष्मी फाइनान्स कम्पनीका म्यानेजर थिए जो बाइकमा घर–अफिस आउजाउ गर्थे। भगवानप्रति यतिसम्म आस्तिक थिए कि अफिस जाँदा र अफिसबाट फर्कदा बाटोमा ठोक्किने ८ वटा मन्दिरलाई ढोग्न कहिल्यै छुटाउँदैन थिए। क्यान्टिनको मःम पनि चल्दैनथ्यो, घरबाटै टिफिनमा खाजा बोकेर अफिस जान्थे।
एकदिन सधैँजसरी बाइकमा अफिस गइरहेका बेला उनको टाउकोमा चराले आची गरिदिन्छ। त्यसपछि उनको मनमा तनाव सुरु हुन्छ। तनाव आचीले भन्दा पनि काग या परेवा कसको भन्नेमा हुन्छ। परेवा उसका लागि शुभ संकेत हो भने काग खराब समयको संकेत।
यही तनावकै बीचमा उनमा एकाएक बदलाव आउँछ। आफ्नै ऐनाअगाडि उभिएर जब उनले ‘म को हुँ’ भनेर आफूले आफैँलाई प्रश्न गर्छन्, त्यसपछि फिल्मले लिने नयाँ मोड र उत्पन्न हुने अप्रत्यासित घटना नै यसको मूल कथा हो।
एउटा निर्दोष र इमान्दार व्यक्ति थाहा नपाउँदा–नपाउँदै कसरी अपराधको भूमरीमा फस्छ? निर्देशकले हरिमार्फत् समाजको यो यथार्थ देखाउन खोजेका छन्। फिल्ममा ‘हरि’ सपना देखिरहन्छन्। उनको द्वन्द्व उनकै मनसँग छ। बाहिरी संसारभन्दा पनि आफ्नै यथार्थसँग उनको अन्तरक्रिया छ। उनको खास द्वन्दव आफ्नै पहिचानसँग छ।
अतियर्थाथवाद (सररियालिज्म)लेझैँ ‘हरि’ले पनि परम्परागत व्यवस्थालाई अस्वीकार गरेको छ। फिल्मले बढी अव्यक्त जीवन र प्रकृतिका पाटालाई उजागर गर्न खोजेको थियो।
फिल्ममा पात्र र दृश्यलाई बलियोसँग स्थापित गराउन क्यामेराले राम्रो भूमिका खेलेको थियो। क्यामेराको चालसँगै दृश्यका रङ परिवर्तन हुन्थे, जसले पात्रहरूको अवस्थालाई चित्रण गरिरहेको जनाउँथ्यो।
साउन्डको प्रयोग त्यस्तै सुन्दर थियो। दर्शकलाई फिल्मको लयसँग गाँस्न र इन्गेज गराइरहन ब्याकग्राउन्ड म्युजिकले जीवन्त भूमिका खेलिरहेको थियो।
फिल्ममा तडकभडक, धुमधमाका र मसला खोज्नेहरुलाई त भन्न सकिन्न तर गम्भीर फिल्मप्रेमी र विपीनका अभिनय पारखीका लागि यो फिल्म सानदार थियो।
फिल्म रिलिजताका समीक्षक गौतमले लेखेका थिए, ‘हरिको करिब ९० प्रतिशत दृश्यमा विपीन देखिन्छन्। एउटा कलाकारले एउटै फिल्ममा यति विविधता भएको र गतिलो चरित्र पाउन ज्यादै मुस्किल हुन्छ। उनले सबै चरित्रमा जीवन दिएर अभिनेताका रूपमा आफूलाई चिरायु बनाएका छन्।’
तर, ०७५ को नेसनल अवार्डमा विपीनले ‘हरि’बाट होइन, ‘प्रसाद’फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड उचाले। तर यो नतिजाले प्रशंसक त के विपिन स्वयम् खुसी देखिएनन्। त्यसपछि नेपाल लाइभसँग कुराकानी गर्दा उनले सिधै भने, ‘म ‘हरि’ हुँदाहुँदै प्रसादबाट अवार्डको हकदार थिइनँ।’
‘हरि’ले एउटै विधामा अवार्ड नपाएकोमा पनि उनी दुःखी सुनिन्थे। जुरीतिर व्यंग्य गर्दै भनिरहेका थिए, ‘फिल्म त राम्रै बनेजस्तो लाग्थ्यो तर के गर्नु जुरीले बुझ्नुभएनछ।’
दुःखी छैनन् निर्देशक
‘हरि’ त नेपाली फिल्ममा नवीन प्रयोग छँदै थियो तर सँगैसँगै यो फिल्म निर्देशक पनि नयाँ नै थिए। यसरी नयाँ प्रयोग गर्दागर्दै दर्शकले नबुझिदेलान् कि भन्ने डर उनीहरूमा सुरुदेखि नै थियो।
‘हामी कस्तो फिल्म हेर्न रुचाउँथ्यौं, त्यहीअनुसारको फिल्म बनाएका थियौं,’ दुई निर्देशकमध्ये एक प्रतिक गुरुङ भन्छन्, ‘सबै दर्शकले बुझ्दैनन् भन्ने त त्यतिबेलै लागेको हो। त्यहीपनि हामीले फिल्म बनाउँदा कन्टेन्टमा केही पनि सम्झौता गरेनौं। कथा जसरी भन्न चाहेका थियौं, त्यसरी नै भन्यौं। जतिले हेरिदिनुभयो, राम्रै तारिफ गर्नुभयो। त्यही तारिफले हामीसँगै हाम्रो प्रोड्युसरलाई पनि खुशी बनायो।’
त्यतिवेला फिल्म सुटुक्क रिलिज हुनुको पछाडि पर्याप्त बजेट अभाव पनि एउटा कारण हो। ‘एक त बजेट थिएन अर्को अनुभवको कमी थियो,’ प्रतिकले भने, ‘फिल्म प्रमोट कसरी गर्ने भन्ने आइडिया पनि थिएन। त्यो कुरामा खासै दिमाग पनि गएन। किनकि प्रचार हाम्रो मुख्य प्राथमिकता थिएन।’
फिल्म युनिटको दाबी अनुसार यो फिल्म निर्माणमा करिब ८० लाख खर्च भएको थियो। यति लाख खर्चिएर बनेको फिल्म बजारले अस्वीकार गरिदिँदा पक्कै नरमाइलो त हुन्छ नै। प्रतीक भन्दै थिए, ‘बजारले नहेरिदिँदा मन त दुख्ने नै रैछ तर विस्तारै ‘मुभअन’ पनि भइनेरैछ।'
राम्रोसँग प्रमोसन गर्न नसक्नुलाई यो टिमले एउटा प्रमुख भुल ठानेको छ। नयाँ फिल्मको तयारीमा रहेका प्रतिक–सफल अर्कोपल्ट यो सुधार गर्ने पक्षमा पनि छन्।
तर उनीहरूको फिल्मलाई नेसनल अवार्डले नसम्झिदिएकोमा भने उनीहरुलाई रत्तिभर गुनासो छैन। ‘अवार्ड त हाम्रो दिमागमा अलिकति पनि थिएन, यसले हामीलाई मोटिभेट गर्ने पनि होइन,’ उनले भने, ‘एउटा फिल्म मेकरले अवार्डतिर ध्यान दिन थाल्यो भने पागल भइहाल्छ नि। त्यसैले हामी इमान्दार भएर हामीले भन्न खोजेको कथातिर ध्यान दियौं। र, हामी त्यसमा सफल भयौं भन्ने लाग्छ। ’
‘हरि’मार्फत उनीहरूले हाम्रै समाजमा भेटिने पात्रको कथा भन्न खोजेका थिए। ‘पात्रमा कतैकतै हामी आफैं थियौं, कतैकतै हामीले देखेभेटेका पात्रहरू थिए, तिनै पात्रहरुबाट प्रभावित भएर हामीले ‘हरि’ बनाएका थियौं,’ उनले भने।
बजार किन निर्मम हुन्छ?
हामी जुन सिनेमालाई राम्रा र गुणात्मक भन्छौं, त्यस्तो सिनेमा हाम्रो फिल्म बजारले किन रुचाउँदैन? ‘हरि’जस्तो सिनेमालाई किन हामी बिर्सन्छौं? साँच्चै कुन मनोविज्ञानबाट हाम्रो बजार निर्देशित छ? बडो चिन्तनको विषय हो यो।
फिल्म निर्देशक एवम् समीक्षक नवीन सुब्बा एउटा इमान्दार फिल्मकर्मी कहिल्यै बजारबाट निर्देशित नहुने बताउँछन्। ‘हाम्रो नेपाली राजनीति, मिडिया, प्राज्ञिक क्षेत्र जस्तो छ, हाम्रो बजार त्यसकै प्रतिबिम्ब हो,’ उनी भन्छन्, ‘अमेरिकी बजारमा त अलेजान्द्रो गोन्जालेज इनारित,' अल्फान्सो कुरान जस्ता कलात्मकतामा विश्वास राख्ने मेकर्सका फिल्म आउँदा भव्य चर्चा हुन्छ त, भव्य रुचाइन्छ पनि। हाम्रो मिडियाको समस्या के छ भने अल्फान्सोको फिल्म ‘रोमा’माथि लेख्दाधरी फिल्म चलेन भनेर लेखियो। तर, ‘रोमा’कस्तो थियो भनेर छलफल नै गरेनौँ। भाषिक रुपमा त्यसले के उपलब्धता हासिल गर्यो, जान्नै खोजेनौँ। फिल्मको स्तर अघि बढाउन त्यसले के योगदान पुर्यायो, छलफल नै गरेनौँ। मात्रै बजारमा चलेन भन्यौँ। तर यो खासमा बजारमा पनि चलेकै हो। स्पेनी भाषामा बनेको यो फिल्म संसारभर एकदमै धेरै हलमा रिलिज भएको थियो। पैसा पनि राम्रै कमाएको थियो। अमेरिका बाहेकको भाषाको फिल्मले पनि यसरी धुम मच्चाउनु चानचुने कुरा होइन। तर विडम्बना हामीले यसरी हेरेनौँ।’
उनी यसलाई खासमा हाम्रो रुचिको स्तरको समस्या ठान्छन्। ‘नत्र हामीकहाँ किन सस्ता कमेडी चलचित्रहरू चलिरहेका छन्?’ उनी भन्छन्, ‘अत्यन्तै भद्दा संवाद बोकेका चलचित्रहरू किन चलिरहेका छन्? के गर्ने, यो हाम्रो रुचिको स्तर हो। हामी जे मन पराइरहेका छौँ। त्यो हामी बसेकै समाजको रिफ्लेक्सन हो। हामीले राम्रो फिल्म बनाउन नसक्नुको कारण पनि हाम्रो समाजकै रिफ्लेक्सन हो। हाम्रो समाज राम्रो साहित्य पढ्न थाल्यो, राम्रो संगीत सुन्न थाल्यो, राम्रो पेन्टिङ हेर्न थाल्यो भने स्वाभाविक रुपमा राम्रो फिल्म हेर्न थाल्छ। त्यसको बोध पनि गर्छ। सिनेमामा कलात्मकता खोज्न पनि थाल्छ।’
आशा गरौं, पक्कै एकदिन आउनेछ जब हाम्रो समाज सुब्बाले भनेझै विकसित हुनेछ अनि ‘हरि’जस्ता सिनेमाहरू न बजारबाट अस्वीकृत हुनेछन्, न फिल्म अवार्डबाटै।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।