काठमाडौं- २००३ माघ १२ र १३ मा राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन भएसँगै विराटनगरमा मजदुर आन्दोलन चर्कियो। मजदुर युनियनका अध्यक्ष गिरिजाप्रसाद कोइरालासहितका ४ नेता पक्राउ परे। यसपछि मालिक-मजदुरबीचको दुरी बढ्दै गयो। तर, मजदुरले कांग्रेसको साथ छोडेनन्। मजदुर आन्दोलन २००४ को बैसाखमा पुग्दा कांग्रेसको सत्याग्रह आन्दोलनसँग जोडियो।
यसरी कांग्रेसको जग मधेस बन्न पुग्यो।
नेपाली कांग्रेसले थालेको आन्दोलनमा ऊर्जा थप्न तराई-मधेसकै केही परिवारले विशेष योगदान दिएका थिए। मोरङमा कोइराला, महोत्तरीमा मिश्र, सप्तरीमा सिंह, सिरहामा गिरि/रेग्मी र झापामा प्रसाईं परिवार कांग्रेससँग जोडिएर प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए।
प्रजातान्त्रिक व्यवस्थाका लागि २००७, २०१५ हुँदै २०४६ मा ती परिवारमध्ये अधिकांशले कांग्रेस छाडेका थिएनन्। समय क्रममा कतिपय कांग्रेसबाट टाढिए। केहीले कांग्रेस छोडे। कतिपयलाई कांग्रेसले छोड्यो। पछिल्लो समय मोरङको कोइराला परिवारबाहेक अन्य परिवारको सक्रियता शून्यप्रायः छ। मधेसलाई कांग्रेससँग जोड्न सफल प्रभावशाली परिवारहरु हाल कांग्रेसको राजनीतिबाट विमुख भएका छन्।
कोइराला परिवारमा मूलतः तीन पात्र कांग्रेसको राजनीतिमा क्रियाशील छन्। कांग्रेस महामन्त्री डा शशांक कोइराला, केन्द्रीय नेताद्वय डा शेखर कोइराला र सुजाता कोइराला। नेतात्रयले कोइराला परिवारको विरासत बचाइरहेका छन्। तथापि, बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको समयमा मधेसमा देखिएको गतिशीलता हालका नेताले दिन सकेका छैनन्।
अहिलेका कोइरालात्रयको चर्चा त छ। तर मधेसमा उनीहरुप्रति खास आकर्षण भने देखिन्न।
मोरङकेन्द्रित रहेर उम्मेदवारी दिनेमा हाल शेखर कोइराला मात्रै छन्। पैतृक थलो छोडेर शशांक नवलपरासी पूर्वबाट विजयी हुँदै आएका छन्। नेतृ सुजाताको निर्वाचन क्षेत्र नै निश्चित छैन।
लामो समय कोइराला परिवारसँग निकट रहेर कांग्रेसको राजनीति गरेका जेपी गुप्ता भन्छन्, ‘सुजाताको निर्वाचन क्षेत्र यकिन छैन। निश्चित निर्वाचन क्षेत्र देखाउनै सकिन्न।’
गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र सुनिश्चित थिए। सुनसरी ५ र मोरङ १ लाई उनले पकड निर्वाचन क्षेत्र बनाएका थिए। जहाँबाट उनी निरन्तर विजयी भए। तर उनकै पुत्री सुजाताको पकड क्षेत्र कहाँ हो? मोरङ र सुनसरीमै पनि उनले दाबी गर्ने निर्वाचन क्षेत्र छैन।
बिपीपुत्र प्रकाश कोइराला एकपटक रौतहटबाट उम्मेदवार भएका थिए। नेपाली कांग्रेस नै परित्याग गरेका उनी अहिले राजनीतिबाट अलग छन्। गुप्ता भन्छन्, 'कांग्रेसको पारिवारिक राजनीति अब मधेसमा सकियो।'
मोरङमा चैतुलाल चौधरी कांग्रेसका प्रभावशाली नेता थिए। उनको देहान्तपछि उनको परिवारबाट राजनीतिमा धेरै समयसम्म कोही देखिएनन्। चौधरी परिवारबाट वीरेन्द्र चौधरी हाल प्रदेशसभा सदस्य बनेका छन्।
कांग्रेसको आन्दोलनमा सप्तरीमा सिंह परिवारले प्रभावकारी भूमिका निर्वाह गरेको थियो। रामेश्वरप्रसाद सिंहको प्रतिष्ठा सप्तरीमा उच्च थियो। जयमंगलप्रसाद सिंह पनि प्रजातान्त्रिक आन्दोलनमै थिए। सिंहद्वयले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागिता जनाएर हनुमाननगर जेल ब्रेकको अगुवाइ गरेका थिए।
सप्तरीमै इन्द्रदेवप्रसाद सिंह कांग्रेसको झन्डा बोकेर २०४६ को आन्दोलनमा होमिएका थिए। उनीसँगै मधुकान्त सिंह पनि आन्दोलनमा सहभागी भएका थिए। सप्तरीमै गजेन्द्र नारायण सिंहको भूमिका उल्लेखनीय थियो।
सप्तरीका दुई शक्तिशाली व्यक्ति रामेश्वरप्रसाद सिंह र गजेन्द्र नारायणलाई बिपीले समदुरीमा राखेका थिए। वा, समान अवसर दिएका थिए। आफ्नो इच्छा अनुसारै रामेश्वरप्रसाद सिंह बाचुन्जेल कांग्रेसको जिल्ला सभापति भए। गजेन्द्रनारायण कांग्रेसमा रहुन्जेलसम्मै (३२ सालसम्म कांग्रेसमा रहे) केन्द्रीय समितिको सदस्य रहिरहे।
सिंह परिवारबाट सप्तरीमा मात्रै झन्डै आधा दर्जन नेता उत्पादन भए। तर वर्तमानमा सिंह परिवारको नेतृत्वदायी सक्रियता छैन। सिंह परिवार कांग्रेसको राजनीतिबाट निष्क्रिय बनेको छ। सिंह परिवारबाट कांग्रेसको जिल्ला राजनीतिमा क्रियाशील व्यक्ति नभएको सप्तरीका कांग्रेस जिल्ला सभापति दिनेश यादवले जानकारी गराए।
महोत्तरीमा कांग्रेस आन्दोलनलाई शसक्त बनाउन मिश्र परिवारले भूमिका निर्वाह गरेको थियो। रामनारायण मिश्रको परिवारले कांग्रेस आन्दोलनलाई महोत्तरीबाट उचाइमा पुर्याएको इतिहास छ। २०१५ को निर्वाचनमा महोत्तरीबाट विजयी भएका उनी बिपी कोइरालाको मन्त्रीमण्डलका सदस्यसमेत थिए। उनले उद्योग तथा वाणिज्य मन्त्रालयको कार्यभार सम्हालेका थिए। मिश्र परिवारकै शंकर मिश्रले कांग्रेसबाट संसदको टिकट प्राप्त गरेका थिए। पचासको दशकमा कांग्रेसमा सक्रिय उनी हाल निष्क्रिय छन्। पारिवारिक लिगेसी बोकेर महोत्तरीमा कांग्रेस राजनीति गर्ने मिश्र परिवारबाट अहिले कोही देखिन्नन्।
सिरहामा रेग्मी र गिरि परिवारले कांग्रेसको आन्दोलनलाई साथ दिए। २०१५ सालको निर्वाचनमा कांग्रेसको सिट संख्या सराहामा रेग्मी परिवारले बढाएको थियो। बुनुदेवी रेग्मीले २०४८ पछि दुई पटक टिकट पाए पनि निर्वाचित हुन भने सकिनन्। उनका छोरा अमर रेग्मीले पनि टिकट पाए। तर,जित्न सकेनन्। सिरहामा रेग्मी परिवार कांग्रेस राजनीतिको दृश्यबाट अहिले बाहिरिएको छ।
मधेसमा कांग्रेसलाई मलजल गर्न गिरि परिवारको पनि हात छ। तुलसी गिरि र रुद्रप्रसाद गिरि कांग्रेसमै थिए। तुलसी गिरिले भने २०१७ राजा महेन्द्रलाई साथ दिए।
सिरहा र धनुषाको राजनीतिमा गिरि परिवारले विशेष दख्खल राखेको थियो। हाल गिरि परिवारबाट पर्दामा कांग्रेस राजनीतिमा प्रदिप गिरि मात्रै देखिएका छन्। उनका वुवा मित्रलाल गिरि कांग्रेसमै आबद्ध थिए। यद्यपि, उनी गिरि परिवारको लिगेसीबाट राजनीति गर्दैनन्। आफ्नै बौद्धिकता र अध्ययनका कारणले कांग्रेसमा उनको छाप बेग्लै छ।
कांग्रेस राजनीतिमा बारामा भागवत यादव अग्रपंक्तिमा आउने नाम थियो। यादव २०१५ सालको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी भएका थिए। लामो समय सक्रिय राजनीतिमा नदेखिएको उनको परिवारबाट छोरा विजयशंकर यादव गत निर्वाचनमा सिम्रौनगढ नगरपालिकामा कांग्रसका तर्फबाट मेयरमा विजयी भएका छन्।
रिजाल परिवार कांग्रेसको राजनीतिमा पर्साबाट उदाएको थियो। मेघनाथ उपाध्याय (रिजाल) मधेसमा कष्ट बेहोरेका नेतामध्येमा पर्थे। उनको पञ्चायतकै बेलामा देहावसान भएको थियो। उनका छोरा रमेश रिजाल पनि बाबुकै पथमा लागे। तर हाल उनको सक्रियता कम हुँदै गएको छ।
धनुषामा कांग्रेसको राजनीतिलाई महेन्द्रनारायण निधिले अगाडि बढाएका थिए। राणा शासनविरुद्ध भारतको बैरगनियामा ‘बैरगनिया सम्मेलन’ गर्ने अगुवामा उनी थिए। उनकै पदचाप पछ्याउँदै छोरा विमलेन्द्र निधि कांग्रेसका उपसभापति छन्। कांग्रेसको केन्द्रीय राजनीतिमा स्थान बनाएका उनी गुटको पछि लागेर उक्त स्थानमा पुगेको आरोप पनि लाग्दै आएको छ। उनको वर्चस्व धनुषामा ह्रास हुँदै गएको छ। २०४८ पछिका निर्वाचनमा धनुषामा उनले जित/हार बेहोर्दै आएका छन्।
‘महेन्द्र निधिको छोराको परिचय त प्राप्त छ उनलाई,' गुप्ता भन्छन्, 'उनी टिकेको आफ्नै कर्म र गुटले हो।'
२०१५ मा कांग्रेसले दुई तिहाइ सिट प्राप्त गरी सरकार बनाएपछि मन्त्रीमण्डलमा मधेसी अनुहार पनि परेका थिए। महोत्तरीका रामनारायण मिश्र मन्त्रीमण्डलमा समेटिएका थिए।
मिश्रजस्तै नेतालाई अवसर दिएका कारण २०१६ को मन्त्रिपरिषद्मा बिपीले समावेशी चरित्र देखाएको विश्लेषण गरिन्छ। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बिपी दुरदर्शी नेता भएकाले नै समावेशी मन्त्रीमण्डल बनेको बताउँछन्।
आचार्यको मतसँग गुप्ता सहमत देखिँदैनन्। गुप्ताले उक्त समयको मन्त्रीमण्डल समावेशिताको आधारमा नभई सहभागिताका आधारमा बनेको तर्क राख्छन्। उनी भन्छन्, ‘मधेसी अनुहार मन्त्रीमण्डलमा पर्नु समावेशी होइन, सहभागिता हो। त्यसबेला प्रतीकात्मक रुपमा स्थान दिइएको हो।'
राजा महेन्द्र कसरी खेले?
मधेसमा कांग्रेसको प्रभाव विस्तार भएपछि राजा महेन्द्रले मधेसीसँग मधेसी भिडाउने कार्य गरेका थिए। मधेसी मूलका व्यक्तिलाई सरकारी पदमा नियुक्ति गराई कांग्रेसलाई कमजोर बनाउने उनको रणनीति थियो।
गुप्ता इतिहास स्मरण गर्दै भन्छन्, ‘हरेक जस्तो जिल्लामा केही व्यक्ति र परिवारलाई बढी महत्व दिए। तर, त्यति महत्व दिनुपर्ने तिनीहरु थिएनन्।' कांग्रेसको प्रभाव घटाउन सक्नेलाई सरकारी पदमा ल्याइएको उनको तर्क छ।
झापामा प्रसाईं परिवारले कांग्रेसलाई अघि बढाएका थिए। उनीहरुको प्रभाव घटाउनका लागि गोपालचन्द सिंह राजवंशीलाई राजाले अघि सारे। सप्तरीमा चर्चामा नै नरहेका व्यक्ति इन्द्रदेव सिंह यादव, जगदिश झा र शत्रुघन सिंह यादवलाई राजाले परिचालन गरे। धनुषामा हेमबहादुर मल्ललाई कांग्रेसका विपक्षमा अघि सारे। सुनसरीमा ज्याउल हकलाई अञ्चलाधीश बनाइयो। पर्सामा संशुर हकलाई राजाले प्रयोग गरे।
गुप्ता भन्छन्, ‘कांग्रेसको प्रभाव घटाउनका लागि जिल्लामा कुनै हैसियत नभएकालाई पनि जिम्मेवारी दिए। कसैलाई जिल्ला पञ्चायतको सभापति बनाए। कसैलाई गाउँ फर्कमा ल्याए।’
पञ्चायतकालीन व्यवस्था अनुसार खडा गरिएका सार्वजनिक नियुक्तिमा राजा महेन्द्रले नसुनिएका व्यक्तिलाई प्रयोग गरेका थिए।
राणा शासनको अन्त्यसँगै मधेसमा फैलिएको कांग्रेसलाई विभिन्न पारिवारिक समुदायले सहयोग पुर्याएका थिए। पञ्चायतकालको प्रादुर्भावसँगै राजनीतिक दलमा प्रतिबन्ध लागेपछि राजनीति छोड्ने क्रममा कांग्रेसमा आस्थावान् नेता-कार्यकर्ताले पार्टी छोड्ने क्रम रहेको विश्लेषक आचार्यको बुझाइ छ।
अर्कोतर्फ कांग्रेस पछिल्लो चरणमा समावेशिता र विविधतालाई अँगाल्न नसक्ने पार्टीका रुपमा चित्रित हुन पुग्यो। ‘पार्टी एकांकी भयो, छोड्ने क्रम बढ्यो। पहिचानको आन्दोलनलाई कांग्रेसले आत्मसात नगरेपछि लामो समयको लगावमा पूर्णविराम लगाए’, आचार्य भन्छन्।
कांग्रेसका लागि सहादत
राजा महेन्द्र चढेको गाडीमाथि २०१८ माघ ९ मा जनकपुरमा बम आक्रमण गरेको आरोपमा दुर्गानन्द झा पक्राउ परे। २०२० माघ १५ मा उनलाई फाँसी दिइएको थियो। झालाई ५२ वर्षपछि २०७२ मा मात्रै सहिद घोषणा गरिएको थियो।
पञ्चायती व्यवस्थाविरुद्ध मधेसबाट कांग्रेसमा आस्थावान् कामेश्वर, कुशेश्वर, साकेतचन्द्र मिश्र, डा लक्ष्मीनारायण झा, शिवचन्द्र मिश्र, राम लक्ष्मणले सहादत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।