कोरियामा कामदारप्रति दुर्व्यवहार गर्ने रोजगारदातालाई ३ कराेड जरिवाना र ३ वर्ष कैदको व्यवस्था

  शिव भुसाल | २०७६ असार ३१ मंगलबार | Tuesday, July 16, 2019 २२:१७:०० मा प्रकाशित

दक्षिण कोरिया- काेरियामा मजदुरलाई राेजगारदाताले दुर्व्यवहार गरेकाे ठहर भएमा ३ वर्ष कैद र ३ कराेड काेरियन वन जरिवाना हुनसक्ने ‍व्यवस्था मंगलबारबाट लागू भएको छ।

उक्त कानुन लागू भएसँगै अब काम गर्ने क्रममा राेजगारदाताले विभिन्न बाहानामा मजदुरलाई दुःख दिएमा मजदुरले यहाँकाे श्रम कार्यालयमा उजुरी गर्न सक्नेछन्।

कानुन लागू भएपछि यहाँ कार्यरत मजदुरसँगै यहाँ क्रियाशील मजदुर आन्दाेलनका अगुवा उत्साहित बनेका छन्।

प्रवासी श्रमिक संगठनका अध्यक्ष उदय राईले आफूहरूकाे लामाे संघर्षले उक्त कानुन लागू भएकाे भन्दै कानुनले यहाँ कार्यरत विदेशी श्रमिकलाई विशेष सहयाेग पुग्ने बताए।

कस्ता कस्ता दुर्व्यवहारमा परेमा उजुरी गर्न सकिन्छ? 
अध्यक्ष राईका अनुसार कम्पनीमा काम गरिरहेकाे समयमा राेजगारदाताले समान फ्याँक्ने, टेबल ठटाउने, कुटपिट गर्ने ,गालीगलौज गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने, अन्य सहकर्मीको अगाडि अपमानजनक शब्द बोल्नेमाथि यस्तो सजाय हुन सक्छ। 

यसैगरी, अनलाइनमार्फत अपमान गर्ने, निष्काशन गर्ने ,काम दिन्न भनेर धम्की दिने, कम्पनीले दिने भोजमा जान कर गर्ने, रक्सी खान कर गर्ने, चुरोट पिउन कर गर्ने वा पिउन नदिने, कम्पनीको आफ्नो काम अरु सहकर्मीलाई गर्न लगाउने काम गरे पनि यो कानुन आकर्षित हुने बताइएको छ। 

सूचना उपलब्ध नगराउने वा निर्णय गर्ने अधिकारबाट बञ्चित गराउने, विशेष धर्म मान्नको लागि वा कुनै समूहलाई समर्थन गर्न कर गर्ने, रातमा काम गर्न वा आइतबार काम गर्न अनावश्यक दबाब दिनेलगायतका काम गरे पनि यो कानुन अनुसार सजाय हुनसक्नेछ। 

बिदा, बिरामी बिदा विभिन्न कल्याण सुविधा उपयोग गर्न नदिने, मानसिक तनाब दिने, काम गर्ने वातावरण नाजुक बनाउने, काम सिँकाउदा दु:ख दिने, काम गरेको वा आराम गरेको अवस्थाको चियो गर्ने लगायतको गतिविधि गरेमा उजुरी गर्न सकिने अध्यक्ष राईले बताए।

राईले मजदुर संगठनकाे आन्दाेलनले धेरै अधिकार सुनिश्चित हुँदै गएकाले काेरियामा डब्लुपिएस लागू गराउने संगठनकाे आन्दाेलनलाई सहयाेग गर्न यहाँका मजदुरसँग आग्रह गरे।