सिमेन्टमा एमजिओ बढाउँदा गुणस्तर प्रभावित : विज्ञ

नेपाल लाइभ | २०७६ मङ्सिर २५ बुधबार | Wednesday, December 11, 2019 १३:५४:०० मा प्रकाशित

काठमाडौं- सिमेन्टमा प्रयोग हुने म्याग्नेसिएम अक्साइड (एमजिओ) परिवर्तनको सरकारी निर्णयले सिमेन्टको गुणस्तरमा ह्रास ल्याउने विज्ञहरुले बताएका छन्। संसदको सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा उनीहरुले गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादनमा प्रयोग हुने रसायनको मात्रामा गरेको पुनारावलोकनले गुणस्तर खस्कने बताएका हुन्। 

रसायनशास्त्रका जानकार प्रा डा गोकर्णबहादुर महतराले एमजिओको मात्रा ५ बाट ६ प्रतिशत पुर्‍याउँदा प्रयोगको ५ वर्षमा यसको नकरात्‍मक प्रभाव पर्ने बताए। 'एमजिओको मात्रा ३ प्रतिशत गराउँदा राम्रो हो, तर ५ प्रतिशतसम्म चलाइएको छ यसभन्दा माथि दिदा गुणस्तर खस्कन्छ,' महतराले भने। 

त्यस्तै रसायनशास्त्रका जानकार डा नुतम भट्टराईले पनि ५ प्रतिशतभन्दा माथि पुर्‍याउँदा सिमेन्टको दीगोपनमा असर गर्ने बताए। नेपालले करिब ४.६ प्रतिशतको मापदण्डमा यस्तो गुणस्तर कायम गर्न सकिने अवस्था रहेपनि ६ प्रतिशत पनि मापदण्डमा पारिनुले सिमेन्टको गुणस्तरमा ह्रास आउने उनले बताए। 

छलफलमा लेखा समति सदस्य मोहन आचार्यले नेपाल भूकम्पीय जोखिममा पनि रहेको भन्दै गुणस्तरीय सिमेन्ट उत्पादन गर्नुपर्ने बेलामा एमजिओ बढाउने निर्णय गर्नु उचित नभएको टिप्पणी गरे। 

कात्तिक दोस्रो साता उद्योगमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले ओपिसी सिमेन्टमा अघुलनशील पदार्थ (आइआर)को मात्रा २ बाट ४ र एमजिओ मात्र ५ बाट बढाएर ६ सम्म पुर्‍याउँदा पनि हुने निर्णय लिएको थियो।