सडकको एउटै कार्यालयले ११ ठेकेदारसँग सोध्यो स्पष्टीकरण, १९ वटा ठेक्का लिएर काम अलपत्र पारेको आरोप

नेपाल लाइभ | २०७६ कार्तिक २० बुधबार | Wednesday, November 06, 2019 ११:१९:०० मा प्रकाशित

काठमाडौं- सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरी सडक डिभिजन, हर्कपुर, ओखलढुंगाले समयमै काम नगर्ने ११ निर्माण कम्पनीविरुद्ध स्पष्टीकरण सोधेको छ। सडक निर्माण तथा स्तरोन्नतिको १९ वटा ठेक्का लिएका ती कम्पनीसँग कार्यालयले स्पष्टीकरण सोधेको हो।

सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार ठेक्का सम्झौतापछि काम नगर्ने ती कम्पनीविरुद्ध ७ दिन भित्र स्पष्टीकरण पेश गर्न कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको हो। कार्यालयले तोकिएको समयमा जवाफ नदिए आवश्यक कारबाही अघि बढाउने पनि जनाइएको छ।

कार्यालयले ठेकेदार कम्पनीहरु मृत सञ्जिवनी राफिना जेभी बुद्धनगर, सूर्य बेलका जेभी इलाम, एडी बिल्डर्स बौद्ध र कार्की बिल्डर्स हेटौ‍ंडासँग स्पष्टीकरण सोधेको हो। यसैगरी एमके कन्स्ट्रक्सन लाहान र खोटाङ हलेसी कन्सट्रक्सन दिक्तेलसँग पनि स्पष्टीकरण सोधिएको छ। यो कम्पनीले २ वटा ठेक्का लिएर काम अलपत्र पारेको कार्यालयको सूचनामा उल्लेख छ।

यसैगरी ४ वटा ठेक्का लिएर अलपत्र पार्ने सिजनल इन्जिनियरिङ एन्ड कन्सट्रक्सन कन्सलटेन्सी काठमाडौंसँग पनि स्पष्टीकरण सोधिएको छ। यो कम्पनीले सडक मर्मतदेखि कालोपत्रेसम्मको ठेक्का लिएको थियो। यस्तै, २ वटा ठेक्का लिएर काम अलपत्र पार्ने बिबस इन्टरनेसनल कन्सट्रक्सन एन्स सप्लायर्स काठमाडौंलाई पनि ७ दिनभित्र जवाफ दिन भनेको छ।

कार्यालयले जानुकादेवी निर्माण सेवा रसुवा, पिटिआर अधिकारी कन्स्ट्रक्सन सन्धिखर्क, सुगम सफल कन्स्ट्रक्सन, भक्तपुर र सगरमाथा घिमिरे निर्माण सेवा, खोटाङसँग पनि स्पष्टीकरण सोधेको छ। यो कम्पनीले पनि २ वटा ठेक्का लिएको छ।