काठमाडौं- शेयर लगानीकर्ता दबाब समूहले धितोपत्र बोर्डमा नियुक्त हुने नयाँ अध्यक्षका लागि धितोपत्र सुधारका लागि तयार पारिएको ५८ बुँदे कार्ययोजनाको कार्यान्वयन पहिलो शर्त हुनुपर्ने माग राखेको छ।
अघिल्लो वर्ष पूँजीबजारको सुधारका लागि भनेर अध्ययन समिति गठन गरिएको थियो भने सोही समितिले पूँजीबजार सुधारका तत्कालीन र दिर्घकालीन गरी ५८ बुँदे प्रतिवेदन तयार पारेको थियो।
सो प्रतिवेदनमा उल्लेख भएका विषयहरु कार्यान्वयन हुन नसक्नु नै पूँजीबजार सुस्ताउनुको कारण रहेको लगानीकर्ताहरुको भनाइ छ।
धितोपत्र बोर्डको अध्यक्षबाट ४ वर्षे कार्यकाल सकेर डा रेवतबहादुर कार्की गत असोज महिनामा बोर्डबाट बिदा भएका थिए।
पूर्व अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा ५८ बुँदे सुझावमध्येका अधिकांश विषय कार्यान्वयनमा ल्याएको दाबी गरे पनि लगानीकर्ता भने कार्कीको काम गर्ने शैलीकै कारण पूँजीबजार सुस्ताएको बताउँछन्।
कार्कीको कार्यकालपछि नयाँ अध्यक्षमा कस्तो व्यक्ति आउँछ र त्यसले पूँजीबजारमा कस्तो प्रभाव देखिन्छ भन्ने विषयमा लगानीकर्ताले चाँसो देखिनु स्वभाविक रहेको भन्दै शेयर लगानीकर्ता दबाब समूहले उपयुक्त पात्र छनोटका लागि आग्रहसमेत गरेको छ।
‘आम लगानीकर्ताको अपेक्षा भनेको विषम परिस्थितिमा गुज्रिरहेको बजारलाई सही दिशा प्रदान गर्न सक्ने, पूँजीबजारसँग सम्बन्धित दक्ष ज्ञान भएको, आर्थिक रुपमा पारदर्शी अनुभवि व्यक्ति आओस भन्ने हो। पूँजी बजारका लागि सुझाव समितिले तयार पारेको ५८ बुँदे कार्ययोजना कार्यान्वयन हुन बाँकी रहेकाले त्यसको कार्यान्वयनलाई प्रमुख जोड दिनुपर्दछ,’ दबाब समूहको प्रेस विज्ञप्तिमा भनिएको छ।
-प्रतीकात्मक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।