डोल्पा- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा विस्तार गरेको छ। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी इन्स्योरेन्सले शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो। कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बिमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए।
अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बिमाको दायरामा ल्याउन सुझाएका थिए। अध्यक्ष चापागाईले बिमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बिमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तीव्र गतिमा बिमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बिमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान दिएको जनाए।
करिब एक तिहाई बजारहिस्सा ओगटेको दाबी गर्ने कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
स्वदेश र विदेशमा गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बिमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।