पाँच दिनमा साटियो ८ अर्ब बराबरको नयाँ नोट

नेपाल लाइभ | २०७६ असोज १५ बुधबार | Wednesday, October 02, 2019 १२:०२:०० मा प्रकाशित

काठमाडौं- दसैंका लागि भनेर ५ दिनमा ८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार मंगलबार बेलुकासम्ममा ८ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट साटिएको हो। राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट बाँड्न सुरु गरेको थियो। यसरी साटिएका नयाँ नोटमा पाँच, दश, बीस, पचास र सय दरका नोट रहेका छन्।

खासगरी बडादसैं पर्वमा साना दरका नयाँ तथा सुकिला नोटको माग उच्च हुने गरेको छ। दसैंमा ठूलाबडाबाट आसिर्वादसँगै दक्षिणा दिने चलन छ भने यसरी दिइने दक्षिणामा सकभर नयाँ नोट प्रयोग गरिन्छ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालयको मुद्रा व्यवस्थापन विभाग बालुवाटार, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नयाँ नोट सटही र वितरण गरिरहेको छ।

त्यसैगरी, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको छ।