काठमाडौं– सर्वोच्च अदालतले श्रीमतीको हत्या गरी जलाएको आरोपमा सशस्त्रका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई दोषी ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको इजलाशले कोइरालाको मुद्दामा फैसला सुनाएको हो।
असार १५ गते भएको फैसलामा सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै कोइरालालाई अपराधबाट उन्मुक्ति दिन नमिल्ने ठहर गरेको हो। २०७३ जेठ २३ गते कोइराला र तारा रेग्मीसहितलाई विपक्षी बनाउँदै सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो। कोइरालाको हकमा उच्च र जिल्लाले दोषी ठहर गरे पनि प्रेमिका रेग्मीको हकमा फैसला चित्त नबुझेको भन्दै सरकारी पक्ष सर्वोच्च पुगेको थियो। सरकारको पुनरावेदन लगत्तै कोइराला पक्षबाट पनि मुद्दा सर्वोच्च लगिएको थियो। उक्त मुद्दामा चार वर्षपछि सर्वोच्चले फैसला सुनाएको हो।
जिल्ला अदालतले २०७१ बैशाख ७ गते श्रीमती हत्यको अभियोगमा सशस्त्र प्रहरी बलका पूर्वडिआइजी कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। जिल्लाले कोइरालाकी प्रेमिका तारा रेग्मीलाई एक वर्ष कैद सजाय सुनाएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायधीश मोहम्मद जैनुद आजादको इजलासले पूर्वडिआइजी कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो।
२०६८ पुस २७ गते कोइरालाले बूढानिलकण्ठस्थित घरमा श्रीमती गीता ढकाल कोइरालाको घाँटी थिचेर हत्या गरी शव मकवानपुरकाे टिस्टुङमा जलाएको पाइएको थियो।
यसरी सुरु भयो घटना
डिआइजी कोइराला र श्रीमती गीता कोइरालाकाे सम्बन्ध राम्रो थिएन। उनीहरु अलग अलग बस्दै आएका थिए। उनीहरुका २ वटा छोरा थिए।
एक्कासी गिता ढकाल बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि माइती पक्षले खोजी गरे। तर, पत्ता लाग्न नसकेपछि २०६८ पुस २९ गते रञ्जनले श्रीमती गीता ढकाललाई बेपत्ता पारेको भनेर माइती पक्षले हनुमानढोकामा उजुरी दिर्ता गराए।
तत्कालीन समयमा हनुमानढोकमा रञ्जनका साथी एसएसपी राजेन्द्र श्रेष्ठ थिए। त्यतीबेला यो निकै हाइप्रोफाइल अपराधको घटना थियो। बहालवाला डिआइजीले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेको थियो। यसको अनुसन्धान पनि निकै जटिल र दवावपूर्ण थियो।
प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन, तर रञ्जनलाई पक्राउ गर्न चर्को दबाब थियो। तत्कालीन समयमा सञ्चार माध्यमले पनि यसलाई महत्त्व दिएका थिए।
यही दबाबका बीचमा प्रहरीले रञ्जनलाई बयानमा बोलायो। उनी उपस्थित भए र हरेक पटक अस्वीकार गरे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राति–राति एक्लै हिँड्ने, कतै गई हाेली,’ उनले यस्तो बयान दिने गरेका थिए। तर, माइती पक्षले भने उनैले अपहरण गरेको जिकिर गरिरहेका थिए।
रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै तनावग्रस्त थियो। त्यतिबेला उनीहरु छुट्टएिर बस्थे। ठूला भइसकेका दुई छोराहरु आमासँग बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएकाे थियाे।
रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो। गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राति साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान पाँच बजेतिर फर्केको क्लु प्रहरीलाई हात लाग्यो। त्यसपछि प्रहरीले हरेक गतिविधिमाथि निगरानी बढायो।
२०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँ नजिक यसरी शव जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थाले। रञ्जन घटनास्थलमा दोस्रोपटक पुगे। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाए। तर, आफू सशस्त्रको डीआइजी भनेर उनी सजिलै छुट्न सफल भए।
हनुमानढोकका रञ्जन पुगेको खबर लगत्तै पक्राउ गर्न सर्कुलर गरियो। त्यहाँबाट फर्किने क्रममा नागढुंगामा पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। शवको डिएनए टेष्ट गरियो त्यसबाट पनि शव गीताकै भएको प्रमाणित भयो।
प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि शवसलाई गाडीमा हालेर पालुङ पुर्याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर, लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो।
दोस्रो प्रेमले हत्यासम्म पुर्यायो
पोखराका रञ्जन र काठमाडौंकी गीताबीच २०५० जेठ ३१ गते मागी विवाह भएको थियो। विवाहकाे केही समय उनीहरुको सम्बन्ध राम्रै चल्यो। तर, केटी भनेपछि हुरुक्क हुने रञ्जनको स्वभावले सम्बन्धमा दरार आउन थाल्यो। यसबीचमा उनीहरुका दुई छोरा पनि जन्मिए।
कान्छो छोरा जन्मिदासम्म अर्थात् २०५७ सम्म रञ्जनले बाहिर अर्कै केटी राखेको सूचना गीताले पाइन्। त्यसपछि उनीहरुसँगै बस्ने अवस्थामा रहेन। गीता आफ्नो माइतीले दाइजोमा दिएको बालुवाटारको जग्गामा घर बनाएर बस्न थालिन्। रञ्जन भने सातदोबाटोस्थित आफ्नै घरमा बसे। एउटा छोरा बुबासँग र एउटा आमासँग बस्थे।
यसैबीच उनीहरुमा सम्पत्तिको झगडा सुरु भयो। गीताले ०६८ मंसिर १४ गते जिल्ला अदालतमा मानाचामल भराइपाउँ भन्दै अंशमुद्दा हालिन्। अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो। सम्भवतः यही घटनापछि रञ्जनले गीताको हत्या योजना बुन्न थालेका हुन्।
हत्याको योजनामा रञ्जनकी प्रेमिकाको पनि संलग्नता रहेको आधारमा उनलाई पनि छानविनको दायरामा ल्याइयो। अदालतले २०७१ बैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो। उनी हाल डिल्लीबजार कारागारमा जेल सजायँ काटिरहेका छन्। उनकी प्रेमिका तारा रेग्मीलाई पनि योजनामा संलग्न रहेको ठहर गर्दै एक वर्षको जेल सजायँ सुनाइएको थियो।
मन्त्रिपरिषद्ले रञ्जनलाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी सशस्त्रबाट बर्खास्त पनि गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।