काठमाडौं- स्थानीय निर्वाचन नजिकिँदै गर्दा देशव्यापी संगठनको सञ्जाल विस्तार गर्न जुटिरहेको राप्रपामा समान विचार भएका व्यक्ति, समूह र संगठनहरु समाहित हुने क्रम जारी छ।
यसै क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियानलाई संस्थागत रुपमै राप्रपामा समाहित गराएका छन्।
राप्रपाको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भए लगत्तै आफ्नो कार्ययोजनामा ६ महिनाभित्र समान विचार भएका व्यक्ति, समूह र दललाई राप्रपामा समाहित गर्ने अठोट लिएका लिङ्देनले गुरुङ नेतृत्वको अभियानलाई पार्टीमा समाहित गरेका हुन्।
राप्रपामा यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको अधिकांश हिस्सा, मिसन नेपाल लगायतका संगठन राप्रपामा समावेश भइसकेका छन् र विभिन्न समूहसँग औपचारिक अनौपचारिक संवाद र छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
यसैगरी राप्रपाले नेतृत्व लगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरि गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ। मोर्चाको अध्यक्षमा काठमाडौंका सुरज पाण्डे कालो बाहुनलाई चयन गरेको छ।
अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाइ पेस गर्न निर्देशन दिएका छन्। यसअघिका अध्यक्ष रहेका केदार धमला पार्टीको काठमाडौं महानगर समितिको अध्यक्ष भएकाले मोर्चाले नेतृत्व परिवर्तनका लागि पार्टीलाई आग्रह गरेको थियो।
राप्रपाले चैत २५ गते काठमाडौंमा स्थानीय तहको निर्वाचन केन्द्रीत आमसभा गर्दैछ, यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।