हालै मेरा एक जना आफन्तको मृत्यु भएपछि चरम शोकमा रहेको मानिनुपर्ने उनका श्रीमान्ले मिनेट-मिनेटमा श्रीमतीको मृत्युपछिका खबर र घाटमा जल्दै गरेका दर्दनाक तस्बिर फेसबुकमा पोस्ट मात्र गरेनन् लाइभसमेत दिँदै गरे। लाग्दथ्यो उनी शोकमा होइन मृत्यु उत्सव मनाउँदैछन्। त्यति मात्र होइन, ती पोष्टहरुमा उनका घर परिवारभित्रैका सदस्यहरुले लाइक, सेयर र अनेकथरी कमेन्ट गरी हाजिरी जनाइरहेका थिए। अनि म सोच्न बाध्य भएँ कि सोसल मिडियाको काम यस्तै हो त? यही हो त शोक मनाउने र सान्त्वना दिने उपाय?
सानोठूलो दुर्घटना होस् वा आगलागी। अन्य दैवी प्रकोप नै किन नहोस्, अहिले मानिसहरु त्यहाँ उद्धार, सहयोगमा जुट्नुको साटो फोटो, भिडियो खिच्ने वा लाइभ प्रसारणतिर लागिहाल्छन्। मानवीय संवेदना धेरै परको कुरा। विवाह, व्रतबन्ध वा अन्य शुभकर्ममा पनि त्यो कार्य विधिपूर्वक सम्पन्न गर्नेभन्दा पनि सामाजिक सञ्जालकेन्द्रित गतिविधिमै हामी केन्द्रित हुन्छौं। सञ्जालमा टाँस्न मिल्ने सामग्रीमा हाम्रो ध्यान हुन्छ र टाँस्न मिल्ने तस्बिर भेटिएन भने थुकथुक गर्छौं। लाग्छ, हामीले गरेको सबै कर्म र खर्च ती दामी तस्बिरबिना पूरै अर्थहीन भए।
तपाईंको पोष्टमा लाइक वा कमेन्ट गर्नेमध्ये कति होलान् तपाईंलाई दु;ख पर्दा सँगसँगै धरधरी रोइदिने? तपाईं बिरामी पर्दा कुरुवा बसिदिने वा एक पिन्ट रगत चाहिँदा 'ओई म छु है' भन्दै लाइन लाग्ने? कति जना होलान्?
बच्चो जन्मेर नाल नखस्दै उसका फोटा छरपष्ट पारेर मात्र कहाँ पुग्छ र हामीलाई। त्यही बच्चो एक वर्षको नहुँदै उसको नाममा फेसबुक खोलेर चिनजानेकालाई फ्रेन्ड रिक्वेष्ट पठाइहाल्छौं। आजकालका स्कुलले प्राय: सबै विद्यार्थीलाई सयमा सय नम्बर नै दिएर पठाउँछन् तर हामी प्ले ग्रुपदेखिको रिजल्ट खिचेर सर्लक्क फेसबुकमा टाँसेर त्यसमा कति लाइक र कमेन्ट आए भनेर दिनभर गनेर बस्छौं।
श्रीमान-श्रीमति एक दिन कतै घुम्न गयौं भने घुम्न गएको ठाउँको रसस्वादनमा वा रमाइलो गफगाफको हामीलाई कुनै मतलब हुँदैन। कसरी राम्रो फोटो खिच्ने र बेलुका फर्केसि 'क्वालिटी टाइम विथ वाइफी' वा 'हबी' भन्ने क्याप्सन सहितको फोटो टाँस्ने हतार हुन्छ। रेस्टुरेन्टमा पुगेर पैसो खर्च गरी मगाएका परिकारको स्वाद लिनेमा हाम्रो ध्याउन्न हुँदैन, हुन्छ त ममको दस वटै डल्ला फोटोमा अट्यो कि अटेन भन्नेमा। बूढबूढीमा बोलचाल नभएको हप्तौं हुन सक्छ, तर हामी हेप्पी एनिभर्सरी वा जन्म दिनको उपलक्ष्यमा दुई पेजकै वर्णन लेख्छौं र भन्छौं 'माई बेष्ट हबी इन द वर्ल्ड'। हैन, एक जनाको यो संसारमा कति जना श्रीमान् वा श्रीमती हुन्छन् र बेटर वा बेष्ट भन्नलाई? चौबीसै घन्टा सँगै हुनेलाई कानमै भने हुन्न- ओई जन्मदिनको शुभकामना छ है भनेर?


वर्ष दिनमा एक पटक पनि आफ्ना बाबुआमालाई फोन नगरे पनि कुशेऔंसी वा माता तीर्थ औंसीको दिनमा बावु, आमा वा अझ एक कदम अघि सरेर सासू ससुराका फोटा फेसबुकमै राखेर कोटीकोटी प्रणाम गर्छौं। त्यसको बदला २ रुपैयाँ खर्च गरेर एक कल फोन हान्दा आखिर बिग्रिन्छ के? सबैका मातापिताले फेसबुक नचलाए पनि मोबाइलको पहसँचमा त हुनुहोला।
मिठा शब्द र आकर्षक फोटा राखे पनि भित्रभित्रै कति एकलकाँटे, खोक्रो र नक्कली जीवन बाँचिरहेका छौं हामी? सञ्जालतिर हजारौं साथी र फलोअर हुने हामी, वास्तविक जीवनमा सुख, दु:ख पर्दा कति सहयोगी छौं?
हामी कहिलेकाहीँ विदेशतिर लाग्छौं। किन पछि पर्नु भनेर भिसा र टिकटकै फोटो हालिहाल्छौं। मानौं यसरी विदेश जाने यो देशको पहिलो र एक मात्र मानिस मै मात्र हुँ। यसरी यात्रा विवरण दिनु सायद व्यक्तिगत सुरक्षाको हिसाबमा पनि त उपयुक्त नहुन सक्छ। यता बस्दा कुर्ता सुरुवाल पनि लगाउन असजिलो लाग्नेले उता पुगेको एक हप्ता नपुग्दै स्विमिङ कस्ट्युममा फोटा राख्छौं। हामी यता कति कुण्ठित भएर बसेका रहेछौं त? त्यतिले मात्र कहाँ पुग्छ र, 'तेल भिसा'मा उता लगेका बाजे बजैलाई त्यस्तै नसुहाउँदा कपडा भिराइदिएर जबरजस्ती हाँस्न लगाएर अनेकथरी फोटा सार्वजनिक गरिदिन्छौं।
हाम्रो ध्यान नकारात्मक सामग्रीको खोजी र त्यसलाई बढावा दिनेतिर किन केन्द्रित भइरहेको छ? सञ्जालमा हामी प्राय: यो समाज पूरै ध्वस्त भएजसरी किन प्रस्तुत हुन्छौं? सडकमा सानातिना खाडल देख्यो कि सेल्फी खिचेर दुनियालाई गाली गर्ने हामीले त्यही बाटोमा ४ दिनपछि जाँदा बाटो बनेर चिटिक्क परेको देख्दा त्यसको तस्बिर राख्न किन कन्जुस्याइँ? समाजमा सबै विग्रेको, भत्केको वा खत्तम भइरहेको मात्र पनि त छैन। राम्रो काम गर्ने जनप्रतिनिधि वा कर्मचारी पनि त होलान्। जो तल्लो तहमा बसेर काममा रमाउँछन्। हामीले उनीहरुलाई प्रोत्साहन किन नगर्ने? त्यसले समाजमा सकारात्मक सन्देश र वातावरणको सिर्जना गर्ला अनि अरुलाई पनि त्यस्तै गर्ने प्रेरणा मिल्ला कि? हामी किन नकारात्मक कुरालाई मात्र भाइरल बनाउने, के यो समाजलाई सुधार्न हाम्रो पनि भूमिका छैन र?
यसरी सञ्जालकै लागि बाँचिरहँदा हामी अपनत्व, वास्तविक भलाकुसारी र मानवीय संवेदनालाई कता धकेल्दैछौं? यसको नशामा चुर्लुम्म डुबेर हामी जीवन र जगतको खास मूल्य र मान्यतालाई कता लैजाँदैछौं? मिठा शब्द र आकर्षक फोटा राखे पनि भित्रभित्रै कति एकलकाँटे, खोक्रो र नक्कली जीवन बाँचिरहेका छौं हामी? सञ्जालतिर हजारौं साथी र फलोअर हुने हामी, वास्तविक जीवनमा सुख, दु:ख पर्दा कति सहयोगी छौं? ती हजारौं साथीमध्ये कति जना तपाईंलाई दु;ख पर्दा सँगसँगै धरधरी रोइदिने वा काँध थाप्ने कति जना तयार होलान्? तपाईं बिरामी पर्दा कुरुवा बसिदिने वा एक पिन्ट रगत चाहिँदा 'ओई म छु है' भन्दै लाइन लाग्ने कति जना होलान्? तपाईंको पोष्टमा लाइक वा कमेन्ट गर्नेमध्ये? जुन तपाईं दिनभर आहा यति लाइक र कमेन्ट पुग्यो भनेर गनेर बस्नुहुन्छ, के अब यो सोच्ने बेला भएन र?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।