प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता स्थगित

नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 १८:४४:०० मा प्रकाशित

काठमाडौं– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता स्थगित भएको छ। 

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा  जेठ १ देखि २४ गतेसम्म हुने भनिएको प्रतियोगिता प्राविधक कारणले जेठ ८ देखि २४ गतेसम्मलाई सारिएको परिषद्  अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्। टीयू क्रिकेट मैदानमा मात्र हुने भनिएको प्रतियोगिताका खेलहरु अब टीयूसंगै मुलपानी क्रिकेट मैदानमा पनि खेलाइने प्रमुख शर्माले जानकारी दिए ।

तीन विभागीय टिम (त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ) र ७ प्रदेशका टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रत्येक दिन एक खेल हुने प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिनेछ। समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्। 

प्रतियोगिताको कुल पुरस्कार राशी ५० लाख रुपैयाँ रहेको इभेन्ट व्यवस्थापक नेपालय इन्टरनेशलले जनाएको छ। जसमा विजेतालाई २० लाख पुरस्कार प्रदान गरिनेछ। उपविजेतालाई १० लाख दिनेछ भने प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्। उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार प्राप्त गर्नेछन्। 

प्रतियोगितामा छक्का एक हातले क्याच गर्ने दर्शकलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ।

प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रहेको छ। जसमा राष्ट्रिय खेलकुद परिषदले ८० लाख प्रदान गर्नेछ भने बाँकी रकम नेपालयले प्रायोजनमार्फत उठाउनु पर्नेछ।