काठमाडौं- विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग ७८ लाख धरौटी माग गरेको छ।
७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसँग ७८ लाख नै धरौटी माग गरेको हो।
उनलाई बैंक ग्यारेन्टीमा रिहा गर्न अदालतले बिगो बराबरको धरौटी माग गरेको हो। नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठकलाई रिहा गर्न प्रक्रिया अघि बढाइएको विशेषले जानकारी दिएको छ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले यस्तो आदेश गरेको हो।
पाठक मंगलबार सुटुक्क विशेषमा हाजिर भएका थिए।
विशेषले उनलाई बयान लिदै आजै थुनछेक बहस भएको थियो।
सरकारी वकिल र पाठकका कानुन व्यवसायीको बहसपछि धरौटी माग गरी रिहा गर्ने आदेश गरेको हो।
उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने अझसम्म फरार छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले आफ्नै पूर्व आयुक्तलाई मुद्दा हालेको यो पहिलो पटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।