जनकपुर- जनकपुरदेखि भारतको जयनगर रूटमा चलाउनका लागि रेल विभागले २ वटा 'डेमु' (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल किन्न लागेको छ। मन्त्रिपरिषद्को चैत ४ गतेको बैठकले भारत सरकारसँग रेल किन्न रेल विभागलाई स्वीकृति दिएको छ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार खरिद सम्झौतामा हस्ताक्षर गर्न केही दिनभित्रै भारतीय अधिकारी काठमाडौं आउँदैछन्। भारतीय रेल मन्त्रालयले सम्झौताको ३ महिनाभित्र नेपाललाई 'डेमाे' रेल दिनसक्ने बताइएको छ। रेल बनाउने फ्याक्ट्री भारतको मद्रासमा छ।
मिश्रका अनुसार जनकपुर-जयनगर रूटमा चल्ने उक्त रेलमा दुबैतर्फ इन्जिन हुन्छन्। जुन डिजेलबाट निकालिएको बिजुलीबाट चल्छन्। यो रेल सोलारबाट पनि चल्न सक्ने बताइएकाे छ। प्रतिघन्टा १ सय किलोमिटरको गतिमा कुद्ने उक्त रेलमा एकै पटकमा १२ सय यात्रु यात्रा गर्न सक्छन्। रेलमा पाँच वटा डिब्बा (केच) हुन्छन्।
‘एउटा कोचमा झन्डै १ सय जनाको सिट हुन्छ। थप डेढ सय यात्रु उभिन सक्छन्,’ मिश्रले भने, ‘भिआइपी यात्रुका लागि एउटा कोच वातानुकुलित (एसी) पनि हुन्छ।’ उनले रेलमा नेपाली राष्ट्रियता झल्किने गरी पेन्टिङ र चित्रहरू कोरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।