पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित प्रदेश मन्त्रिपरिषद्का सबै सदस्यले मन्त्री रवीन्द्र अधिकारीको घर पुगेका छन्। हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको परिवारलाई समवेदना प्रकट गर्न घर नै पुगेका हुन्।
कास्की-२ बाट प्रतिनिधिसभामा निर्वाचित अधिकारीको परिवारलाई भेट्न प्रदेश मन्त्रिपरिषदका सबै सदस्य मन्त्री अधिकारीको घर पुगेका हुन्।
मन्त्री अधिकारीको शव भोलि पोखरा लगिने र अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
यसअघि गण्डकी प्रदेश सरकारको बैठक बसी मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। 'मन्त्री अधिकारीको अन्तिम संस्कारका प्रदेश सरकारलाई संघीय सरकारले अधिकार प्रत्यायोजन गरेको छ। सोही अनुसार तयारी प्रदेश सरकारले गरेको छ,' उनले भने।
मन्त्री अधिकारीको शव पोखरा पुगेपछि पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने समेत उनले बताए।
त्यसपछि शवयात्रा गरी दाहसंस्कार गरिने कार्यक्रम रहेको बताइएको छ।
मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि भोलि संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल कानुनमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलगायत सरकारी प्रतिनिधिका साथै नेकपाका महासचिव विष्णु पौडेल, तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता पोखरा आउने तय भएको मुख्यमन्त्री गुरुङले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।