काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण घटना सम्बन्धमा अनुसन्धान गरेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आज सरकारलाई प्रतिवेदन बुझाएको छ।
गत कात्तिक २७ गते आयोगले घटनाको अनुसन्धान गर्न विज्ञसहितको एउटा टोली गठन गरेको थियो। पूर्वमहान्यायधीवक्ता नरेन्द्र पाठकको संयोजकत्वोमा गठन भएको टोलीमा पूर्व एआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका केही अधिकारी थिए।
विज्ञसहितको उक्त टोलीले तयार पारेको १५ पृष्ठ लामो प्रतिवेदन आज सरकारलाई बुझाइएको हो।
प्रतिवेदनमा निर्मला पन्त हराएको जानकारी आउँदादेखि नै प्रहरीले तत्काल खोजी नगरेर गल्ती गरेकोदेखि डिएनए परीक्षण प्रक्रिया नै त्रुटिपूर्ण भएकोसम्म औंल्याएको छ।
त्यस्तै, आयोगले सरकारलाई ४ बुँदे सिफारिस दिएको छ भने २४ बुँदे निर्देशन दिएको छ। सिफारिसमा चिकित्सकमाथि अनुसन्धान गर्नुपर्ने, प्राविधिकमाथि पनि अनुसन्धान गर्नुपर्ने, घटनाका घाइते अर्जुन भण्डारीलगायतको नि:शुल्क उपचार हुनुपर्ने, डिएनए गलत रहेकाले प्रहरी अनुसन्धानबाटै हत्याराको खोजी गरिनुपर्ने कुरा सिफारिस गरिएको छ।
२४ बुँदे निर्देशनमा अपराध अनुसन्धानको लागि छुट्टै अपराध अनुसन्धान विभाग गठन गरिनुपर्ने, दक्ष जनशक्ति र पर्याप्त स्रोत साधन उपलब्ध हुनुपर्ने, सिसिटिभी जडान गरिनु पर्ने, केन्द्रीयस्तरमा गुनासो सुन्ने संयन्त्रको विकास हुनुपर्ने लगायतका २४ बुँदे निर्देशन सरकारलाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।