को हुन् साढे १९ करोडभन्दा बढी करछलीकाे आरोप लागेका म्यानपावर व्यवसायी तामाङ?

रमेश भारती 

Nepal Live

काठमाडाैं- आन्तरिक राजस्व अनुसन्धान विभागले स्काई ओभरसिजका मालिक बलबहादुर तामाङलाई करछली गरेको आरोपमा मुद्दा दर्ता गरेको छ।

तामाङविरुद्ध विगो र जरिवानासहित १९ करोड ५८ लाख रुपैयाँ करछली गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएकाे विभागका महानिर्देशक दिर्घराज मैनालीले जानकारी दिए। तामाङविरुद्ध विभागले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी विगो रकम र १३ कराेडभन्दा बढी जरिवानासहित ३ वर्षको कैद हुनुपर्ने भन्दै मुद्दा दर्ता गराएको छ।

करछलीकाे आरोप लागेका तामाङ २० वर्षदेखि यो व्यवसायमा सं‌लग्न छन्।

ताप्लेजुङ घर भएका तामाङले सन् १९९८ देखि म्यानपावर संस्था दर्ता गरी दुबई, साउदी अरब, कतार, मलेसिया र बहाइनमा कामदार पठाउँदै आएका छन्। विशेषगरी उनले दुबईका क्यारिफाेर, म्याकडाेनल्स लगायतका कम्पनीहरुमा कामदार पठाउँदै आएका थिए।

तामाङको म्यानपावरबाट मात्रै पछिल्लाे २० वर्षमा १ लाख ४४ हजार ७ सय ४७ कामदार पठाएकाे खुलेकाे छ। कामदार पठाउँदा उनले प्रत्येक कामदारबाट ३५ देखि ५० हजार रुपैयाँ तथा राेजगारदाता कम्पनीबाट प्रति कामदार ४ सय अमेरिकी डलर लिँदै आएका थिए।

तामाङ पछिल्लो समय भने व्यवसायसँगै नेकपाको राजनीतिमा होमिएका थिए।

तामाङलाई २०७४ मंसिरमा भएको प्रतिनिधिसभा सभा सदस्यका लागि नेकपा ताप्लेजुङ उम्मेदवारमा सिफरिस गरेको थियो। तर, उनले टिकट भने पाउन सकेनन्। तामाङ ताप्लेजुङका पर्यटकीय स्थलको प्रबर्द्धन र विकासमा समेत लागि परिरहेका थिए।

उनी पार्टीको राजनीतिसँगै व्यवसायीको नेतृत्वमा समेत पुगिसकेका छन्। २०६९ सालमा भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनबाट अध्यक्षमा उनी विजयी भएका थिए। तर, उनले पुरै कार्यकाल भने बिताउन पाएका थिएनन्।

राजनीतिक पहुँचकै आधारमा पेसा व्यवसाय गर्दै आएका तामाङ म्यानपावर व्यवसायमा सिन्डिकेट लाद्न समेत लागि परेको आराेप लाग्दै आएकाे छ।

तामाङले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा राज्यमन्त्री टेक बहादुर गुरुङले लागू गरेको 'फ्रि-भिसा तथा टिकट'को समेत विरोध गर्दै आएका थिए।

उनी यसअघि पनि अख्तियार र सम्पत्ति सुद्धीकरण विभागको फन्दामा समेत परेका थिए। तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले समेत बेलाबेलामा पक्राउ गर्दै बयान लिँदै छाड्दै आएकाेसमेत खुलेकाे छ।

तामाङको म्यानपावरमा विभागले २०७३ सालमा छापा मारेर काजपत्र नियन्त्रणमा लिएको थियो। विभागले कागजपत्र लिएको दुई वर्षपछि अदालतमा मुद्दा दर्ता गराएकाे छ।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने