काठमाडौं– चिरपरिचित खेल पत्रकार तथा लेखक नवीन अर्यालको नयाँ कृति ‘नेपाल–जापान खेल सम्बन्ध’ आउँदो शुक्रबार (२ असोज) जापानको नागोया शहरमा बिमोचन हुने भएको छ ।
नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स्थापना भएको तथ्यलाई लेखक अर्यालले आफ्नो नयाँ पुस्तकमा उजागर गरेका छन् ।
अर्यालको पहिलो खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ २०८० सालमा बिमोचन भएको थियो । जापानमा बिमोचन हुने ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तक तयार पार्न दुई वर्ष लागेको लेखक अर्यालले बताएका छन् ।
“नेपाल र जापानबीचको खेल सम्बन्ध सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको पहिलो एशियाली खेलकुदबाट सुरु भएको हो । यसपछि कसरी हाम्रो सम्बन्ध स्थापित भयो यही कुरालाई पुस्तकमार्फत उजागर गर्न खोजेको छु,” लेखक अर्यालले भने ।
नेपालमा जुडो, कराते र सफ्ट टेनिस जस्ता खेल भित्र्याउने कार्यमा जापान सरकार सक्रिय थियो । नेपालको भलिबल, जिम्न्यास्टिक, ब्याडमिन्टन जस्ता खेलहरूलाई पनि अहिलेको अवस्थामा ल्याउन जापान सरकारको ठूलो सहयोग प्राप्त छ ।
२०३० सालमा जापानको चर्चित मोटर कम्पनी टोयटाका अध्यक्ष सोइची साइतोको नेपाल आगमन र टोयटा कम्पनीले नेपालको खेल क्षेत्रमा गरेको लगानीलगायत थुप्रै विषयवस्तु समेटिएको पुस्तक हो, ‘नेपाल–जापान खेल सम्बन्ध’ ।
“जापानी पर्वतारोहीलाई नेपालको हिमालहरूमा सफल बनाउन नेपाली शेर्पाहरूले गरेको योगदानलाई पनि मैले पुस्तकमा स्थान दिएको छु,” उनी भन्छन् ।
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगतामा भाग लिएको ७५ वर्ष पूरा भइसकेको छ । यसै उपलक्ष्यमा एशियाली खेलकुदको अयोजना स्थलमा पुगेर पुस्तक बिमोचन हुन लागेको पहिलो अवसर हो । पुस्तकको सहयोगले नेपाल र जापानको खेल कूटनीतिलाई भविस्यमा अझैं सशक्तढंगले अगाडि बढाउन सहयोग पुग्नेमा लेखक अर्याल आशावादी छन् ।
लेखक अर्याल विगत २७ वर्षदेखि खेल पत्रकारितामा सक्रिय छन् । उनको यो पुस्तक जापानको आइची–नागोया शहरमा रहेको दियालो रेस्टुरान्टमा साँझ ५ बजे बिमोचन हुँदैछ । जापानले २० औं एशियाली खेलकुदको आयोजना पनि आइची–नागोयामा गर्दैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।