एजेन्सी–विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र पाकिस्तानको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले देशभर मलेरियाका मामिलाहरूमा तीव्र वृद्धिबारे चेतावनी दिएको डन समाचारले बताएको छ।
उनीहरूले मलेरियाको यो वृद्धिलाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको प्रभावसँग जोडेका छन्।
वार्षिक २० लाखभन्दा बढी सङ्क्रमित दर्ता भएपछि अधिकारीहरूले पाकिस्तान र व्यापक क्षेत्रका लागि बढ्दो खतरालाई नियन्त्रण गर्न तत्काल कडा कारबाही आवश्यक रहेको चेतावनी दिएका छन्।
विश्व मलेरिया दिवसको अवसरमा जारी गरिएको यो चेतावनीमा डब्लुएचओ र पाकिस्तानी अधिकारीहरू दुवैले रोगसँग लड्न सामूहिक प्रयासको आह्वान गरेका छन्।
“मलेरिया एक प्रमुख विश्वव्यापी खतरा हो र हामी प्रत्यक्ष रूपमा देखिरहेका छौँ कि जलवायु परिवर्तनले हाम्रो देशमा जोखिम र मामिलाहरू दुवै बढाइरहेको छ”, सङ्घीय स्वास्थ्यमन्त्री सैयद मुस्तफा कमलले भने।
उहाँले मलेरियालाई अन्त्य गर्नु स्वास्थ्य प्राथमिकता मात्र नभई सबै देशका लागि सुरक्षित, स्वस्थ र अधिक समतामूलक भविष्यमा एउटा लगानी पनि भएको जोड दिएका छन्।
‘पुनः लगानी, पुनः कल्पना, पुनः प्रज्वलन’ भन्ने अन्तर्राष्ट्रिय विषयवस्तुअन्तर्गत डब्लुएचओले सरकारहरू, सङ्गठनहरू र समुदायहरूलाई मलेरिया उन्मूलन प्रयासहरूका लागि समर्थन बढाउन आग्रह गरेको छ।
पाकिस्तानको मलेरियाविरुद्धको लडाइँ सन् २०२२ को विनाशकारी बाढीबाट गम्भीर रूपमा प्रभावित भएको थियो। उक्त बाढीले सन् २०२२–२०२४ अवधिमा थप ६६ लाख मामिला निम्त्याएको डनले बताएको छ।
सन् २०२१ मा रिपोर्ट गरिएको तीन लाख ९९ हजार ९७ को तुलनामा मामिलाहरू सन् २०२३ मा २७ लाखमा पुगेको थियो। परिणामस्वरूप डब्लुएचओको पूर्वी भूमध्य क्षेत्रमा मलेरियाका मामिलाहरू सन् २०२३ मा अनुमानित एक करोड दुई लाखमा वृद्धि भएको थियो। यो सन् २०१५ देखि एक सय ३७ प्रतिशत वृद्धि हो।
बढ्दो वृद्धिका बावजुद पाकिस्तानले विगत एक दशकमा मलेरियाको रोकथाम र उपचारमा उल्लेखनीय प्रगति गरेको छ।
डब्लुएचओसँग काम गर्दै र एड्स, क्षयरोग र मलेरियाविरुद्ध लड्न ग्लोबल कोषको सहयोगमा पाकिस्तानले सन् २०२४ मा मात्र एक करोड १४ लाखभन्दा बढी संदिग्ध मामिला जाँच गरेको छ र २० लाख पुष्टि भएका मलेरियाका बिरामीहरूको उपचार गरेको छ।
पाकिस्तानले २२ उच्च–भारित जिल्लामा ७८ लाख कीटनाशक–उपचारित जालीहरू पनि वितरण गरेको छ। यसले सन् २०२३ मा २७ लाखबाट गत वर्ष २० लाखमा मामिलाहरू घट्नमा योगदान पुर्याएको थियो।
“मलेरियाको रोकथाम र उपचार गरेर जीवन बचाउन पाकिस्तानसँग साझेदारी गर्न पाउँदा डब्लुएचओ गर्व गर्दछ”, पाकिस्तानमा डब्लुएचओका प्रतिनिधि डापेङ लुओले भने।
यद्यपि उनले जलवायु परिवर्तनले कडा परिश्रमबाट प्राप्त लाभलाई कमजोर बनाउँदै पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि खतरा निम्त्याइरहेको चेतावनी दिए।
“मलेरियालाई कसरी अन्त्य गर्ने भन्ने हामीलाई थाहा छ। यदि सबै सरोकारवालाहरूले लगानी गर्छन् र प्रतिक्रियालाई सुदृढ गर्न र जलवायु परिवर्तनले निम्त्याएको नयाँ जोखिमहरूसँग अनुकूलन गर्न एकसाथ काम गर्छन् भने हामी यो गर्न सक्छौँ”, उनले भने।
असी स्थानीय जिल्लामा पाँच हजार पाँच सय ७५ चिकित्सा सुविधाबाट सङ्कलन गरिएको तथ्याङ्कले बढ्दो तापक्रम र बारम्बार बाढीसँग सम्बन्धित मलेरियाका मामिलाहरूमा स्पष्ट वृद्धि भएको प्रवृत्ति देखाउँछ।
अन्य योगदान कारकहरूमा गहिरिँदो गरिबी, गुणस्तरीय निदान र उपचारमा सीमित पहुँच, बलुचिस्तान, आदिवासी क्षेत्र र खैबर पख्तुनख्वामा सुरक्षा चुनौतीहरूका साथै सिन्धका केही भागमा स्वास्थ्य सेवामा पहुँचको कमी समावेश छन्।
मलेरिया नियन्त्रण प्रयासहरू प्रभावकारी साबित भए पनि विशेषज्ञहरूले जलवायु परिवर्तनको प्रभावहरू पार गर्न, जीवन रक्षा गर्न र पाकिस्तानको स्वस्थ भविष्य सुरक्षित गर्न दिगो र समन्वित कार्य महत्त्वपूर्ण हुने कुरामा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।