एजेन्सी – बलिउड अभिनेता सैफ अली खानको बान्द्रास्थित घरमा आक्रमण भएको छ।
उनको घरमा पसेर धारिलो हतियारले एक जना आक्रमणकारीले आक्रमण गरेका थिए। सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ।
अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए। उनले अभिनेतामाथि छुराले आक्रमण गरे। आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनको उपचार भइरहेको प्रहरीले बताएको छ।
‘यो सत्य हो कि सैफ अली खानको घरमा मध्यराति २ः३० बजे चोरी भएको थियो। परिवारका सदस्यहरू जागेपछि चोर भाग्न खोजे। सैफ अली खानमाथि चोरले आक्रमण गरे। उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ। यी चोटहरू त्यति गम्भीर छैनन्। उनलाई छुरा प्रहार गरिएको हो, चोरसँग झगडामा घाइते भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन,’ बान्द्राका डीसीपीले भनेका छन्।
उनलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उनको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।
बलिउड अभिनेता सैफ अली खानको उपचारमा संलग्न लिलावती अस्पतालको चिकित्सकको टोलीले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था खतरामुक्त रहेको र अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'बलिउड अभिनेता सैफ अली खानको शल्यक्रिया सफल भएको छ । उहाँको स्वास्थ्यको प्रगतिको निगरानी उपचारमा संलग्न चिकित्सकहरूले गरिरहेका छन् ।'
उनको परिवारका सबै सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
कहाँ बस्छन् सैफ अली खान?
बान्द्राको सतगुरु शरण भवनमा सैफ अली खानको ३ बेडरुमको आलिशान अपार्टमेन्ट छ। यहाँ टेरेस, बाल्कोनी र स्विमिङ पुल पनि छ। यस घरमा सैफसँग पत्नी करीना कपूर खान र छोराहरू तैमुर अनि जेह पनि बस्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।