काठमाडौं– पोखरेली गजलकारहरूले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि त्यो गजल नै हुने ठहर गरेका छन्।
पोखरामा आयोजित गजलप्रेमीहरूको भेलाले नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको निष्कर्ष निकालेको हो।
भेलाले जारी गरेको सातबुँदे घोषणापत्रमा गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेको अभियानले नवप्रवेशी गजलकारलाई दिग्भ्रमित पार्ने उल्लेख छ। भेलामा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले गजलमा आएको विवादले राम्रा गजलकामासमेत गजलप्रति वितृष्णा जगाएको बताए। विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभइ विनाश गरिरहेको धारणा उनको थियो।
गजलमै विशेषज्ञता हासिल गरेका विद्वानहरूलेसमेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको बताएका छन्।
कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सुत्रको नियममा बाँध्ने प्रयास गर्न नहुने धारणा राख्दै वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजललाई पाठक, स्रोताले आत्मसात् गरेको बताउँदै उनले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने सोच राख्न नहुने पनि बताए।
केही समयदेखि गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही गजलकाहरूले अभियान सञ्चालन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।