काठमााडौ– ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ट्रेलर सार्वजनिक भएको हो। सिनेमा कार्तिक १५ गते रिलिज हुँदैछ।
ट्रेलरमा गन्धर्व समुदायको पुर्ख्यौली पेसा, उनीहरूले गर्नुपर्ने वर्ग संघर्ष, भोगनुपर्ने सामाजिक विभेद, प्रेम, बिछोड, र शैक्षिक अवस्थालाई चित्रण प्रस्तुत गरेको छ। सिनेमामा कथा र निर्देशन सरोज पौडेलको रहेको छ।
विजय बरालको शीर्ष भूमिका रहेको सिनेमामा मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत लगायतका कलाकारहरूको अभिनय छ। यस्तै बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, र जान्वी पौडेल पनि यस सिनेमामा महत्त्वपूर्ण भूमिकामा छन्।
सेभेन सिज सिनेमा र बासुरी फिल्मसको संयुक्त प्रस्तुति रहेको यस सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्माताहरू रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।
सिनेमामा ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र उनीहरूलाई समाजले हेर्ने दृष्टिकोणको कथामा आधारित छ। निर्माता पौडेलका अनुसार, यो सिनेमा गन्धर्व समुदायको संघर्ष र सामाजिक समस्याहरूको गहिरो चित्रण हो।
विजय बराल, जो सिनेमामा मुख्य भूमिकामा छन्, टिजर सार्वजनिक भएपछि दर्शकको सकारात्मक प्रतिक्रिया र समर्थन पाएर उत्साहित भएका छन्। उनले आफ्नो चरित्रलाई न्याय गरेको महसुस गर्दै प्रशंसा पाउँदा खुसी लागेको बताएका छन्।
निर्देशक पौडेलले आफ्नै गाउँ र समाजको कथा भन्नुपर्ने महसुस गर्दै यो विषय चयन गरेको बताएका छन्। यो कथा नेपाली निम्न मध्यमवर्गीय परिवारहरूको जीवनसँग मेल खान्छ, जसले गर्दा दर्शकले यसलाई आफ्नै अनुभवसँग जोड्न सक्छन्।
सिनेमाको संगीत प्रशान्त शिवाकोटीले दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी वादन, र मेलिना राई, प्रशान्त शिवाकोटी, तथा पुष्पन प्रधानको स्वर सुन्न पाइन्छ। सिनेमाका संवाद महेश दवाडीले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।