काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले संघीय लोकतान्त्रिक गणतन्त्रले औपचारीक रुपमा संवैधानिक रुपमा जातिय भेदभाव र छुवाछुत अन्त्य गरे पनि व्यवहारीक रुपमा खास गरी ग्रामिण क्षेत्रमा यो शोषण अझै कायम रहेको बताएका छन्।
आज काठमाडौंमा जातीय भेदभाव र छुवाछुतविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले लामो समयदेखि रहेको शोषण, दमन र उत्पीडनको अवशेस पूर्ण रुपले उन्मुलन हुन अझै बाँकी रहेकाले सबैले यसका बिरुद्ध एकजुट भएर लाग्नु पर्ने बताए।
लामो संघर्ष र बलिदानबाट अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र आउन सफल भएको भन्दै यस पछि मात्रै सदियौ देखिको भेदभाव अन्त्य हुँदै गएको मन्त्री तामाङको भनाइ छ।
मन्त्री तामाङले यदी सबै उत्पीडितहरु मिलेर नलडेको भए, पूर्खा र शहीदहरुले नलडेका भए अहिलेको संघीयता, गणतन्त्र संभव स्थापना असंभव रहेको भन्दै अझै पनि यो परिवर्तन उल्ट्याउन लाग्ने तत्वहरुले षड्यन्त्र गरीरहेको भन्दै यसलाई असफल पार्नु पर्ने बताए।
यो जातिय उत्पीडन र भेदभाव बर्गीय उत्पीडन र भेदभावकै हिस्सा भएकाले जातीय मुक्ति आन्दोलनलाई बर्गीय मुक्ति आन्दोलनसँग नजोडी सफल नहुने उनको भनाइ छ। संविधान र कानुनमै कसैले पनि भेदभाव र छुवाछुत गर्छ भने दण्डनीय हुने व्यवस्था गरेको र शोषणको अन्त्य गर्न सफल भए पनि व्यवहारीक रुपमा केही अंशमा त्यो बाँकी रहेको उनले बताए।
भोजभतेर, सार्वजनिक स्थल, होटल रेष्टुरेन्ट आदीमा भने लगभग छुवाछुत पूर्ण रुपले अन्त्य भइसकेको तर पनि ग्रामिण भेगमा रहेको छुवाछूत र भेदभाव कायमै रहनु निन्दनीय भएकाले सबैले मिलेर यसको अन्त्य गर्नु पर्ने बताए।
नेपाल र भारत जस्तो देशमा धार्मिक आधारमा विगतमा शासन चल्दाको समयमा सबै भन्दा बढी छुवाछुत र भेदभाव मात्र हैन मानवलाई पशु भन्दा पनि तल राख्ने संस्कार र परम्परा थियो भन्दै उनले आजको दुनियामा यो भेदभाव कुनै पनि अर्थमा स्वीकार्य नहुने मन्त्री तामाङको भनाइ छ।
उनले माओवादी पार्टी भित्र कुनै पनि नेता कार्यकर्ताले जातिय भेदभाव गरेमा उसलाई पार्टी सदस्य नराख्ने गरी कार्बाही गर्ने व्यवस्था रहेको भन्दै अन्य पार्टीहरुलाई पनि सोही व्यवहार लागू गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।