काठमाडौं– रिलिजको पुर्वसन्ध्यामा देशभरका हलमा शो संख्यामा कब्जा जमाएको 'डिग्री माइला'ले सो बेलामा रिलिजको तीन दिनमा ५ करोड ग्रस कमाइ गर्ने वितरकहरुको अनुमान थियो।
सो सिनेमाले अनुमान अनुसारको कमाइ गर्न भने सकेनन्। सिनेमाले तीन दिनमा पाँच करोड कमाउने अपेक्षा वितरकको भएपनि सिनेमाले यो अनुमानको कमाइ साता दिनमा पूरा गरेको छ।
रामबाबु गुरुङ निर्देशित सिनेमाले एक हप्तामा ५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी निर्माणपक्षले आज एक पत्रकार भेट मार्फत दिएको हो।
निर्माण पक्षका अनुसार सिनेमाले साता दिनको अवधिमा काठमाडौं उपत्यकामा दुई करोड ५० लाख र मोफसलमा २ करोड ५५ लाख रुपैयाँ कलेक्सन गरेको छ।
सिनेमाले रिलिजको पहिलो दुई दिनमा तीन करोड ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकारी निर्माणपक्षले दिएको छ।
दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा रहेको सिनेमामा बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ रहेका छन्।
क्रिश लामा सिनेमाका कार्यकारी निर्माता रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक छ। सिनेमालाई दुई क्यामेराम्यान शिवराम श्रेष्ठ र राइली एस शिनले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।