काठमाडौं– महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन्। २०८० माघ २३ गते सम्पन्न बैंक सञ्चालक समितिको ५८५औं बैठकले लम्साललाई माघ २४ गतेबाट लागु हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
उनले २ पटक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी विकास बैंकको नेतृत्व गरिसकेका छन्। बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लम्साल पछिल्लो समय तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि गत माघ १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।
यसअघि २०७७ सालमा पनि लम्सालले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरेका थिए।
१५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग बैंकिङ क्षेत्रको २८ वर्षको अनुभव छ। यसबीचमा उनले विभिन्न वाणिज्य र विकास बैंकको उच्च व्यवस्थापन तहमा रहेर काम गरेका छन्।
सीईओ लम्सालले बैंकप्रतिको जनविश्वासलाई अझ बलियो बनाउादै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नशील रहन कर्मचारीहरुलाई आग्रह पनि गरे।
नवनियुक्त सिईओ लम्सालले केन्द्रीय बैंकको नीति, नियमको अनुपालना गर्दै सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्ने बताए। ‘ग्राहकलाई गुणस्तरीय सेवा र सेयरधनीलाई उच्च प्रतिफल’ अवधारणालाई केन्द्रबिन्दुमा राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।