क्षमता पनि नचाहिने, सीप पनि नचाहिने। प्रतिभा नभए पनि हुने, कठोर साधना पनि नगरे हुने। गुदी होस् नहोस्, बोक्रा ‘भाइरल’ भएमा खुदो पल्टिने।
झापातिर एउटा गरिब फुच्चे धोत्रो स्वरमा मार्मिक गीत गाउँदै यसो दुई-चार पैसा माग्दै हिँड्थे। कसैले भिडियो खिचिदिएछ। उनी रातारात भाइरल भए। र, आज ‘अशोक दर्जी’का रुपमा सेलिब्रिटी नै बन्न पुगेको छन्।
नेपाल आइडलको पहिलो सिजनमा बेसुरा गाएर चर्चामा आएका झक्कड थापा कुन हदसम्म भाइरल भए भने आइडलवालाहरुले उनलाई दोस्रो सिजनमा शुक्रबार अतिथिकै रुपमा डाक्नुपर्यो। यसैगरी आइडलकै अर्का बेसुरा गायक नरेश पातली पनि यतिबेला ‘भाइरल’ हुनुको लाभ लिइरहेका छन्।
भाइरल अर्थात् हल्ला। युट्युब च्यानलहरुले सिर्जना गरेको लोकप्रियताको नयाँ मापदण्ड। चिज उम्दा हो कि हैन, मतलब भएन, तर कसोकसो तपाईं भाइरल हुनुस्, सारा संसार तपाईंको पछि दौडन्छ। परार साल यस्तै भाइरल ज्वरोको सिकार भएकी थिइन्, कुसुम श्रेष्ठ अर्थात् ‘तरकारीवाली’। त्यसबेला तरकारीवालीको ख्याति निकै चुलिएको थियो। सुमन खरेलको कार्यक्रमदेखि नेपाल टेलिजिभनको टक शोमासमेत तरकारीवालीको अन्तर्वार्ता लिइएको थियो।
एकाध म्युजिक भिडियो र एउटा फिल्ममा देखापरेकी तरकारीवाली अचेल गुमनाम छिन्। उनको भाइरल ट्रेन्डिङ धेरै घटिसकेको छ। भाइरल सिन्ड्रोमको लक्षण नै यही हो, ह्वात्तै हल्ला हुने, ह्वात्तै सेलाउने। मिडियाको यो ‘भाइरल’ ज्वरो पनि मौसम परिवर्तन हुने बेला मानिसमा संक्रमण हुने भाइरल इन्फेक्सनजस्तै हुँदो रहेछ। चिकित्सकका अनुसार भाइरल इन्फेक्सनले एक सातासम्म मात्र शरीरलाई दुःख दिन्छ। एन्टिबायोटिक नखाई तातोपानी मात्र खाएर बस्ने हो भने व्यथा आफैं हराएर जान्छ। अर्थात् शरीरमा भाइरल इन्फेक्सनबाट हुने रुघाखोकी र ज्वरो दीर्घकालसम्म रहँदैन। युट्युबको भाइरल ट्रेन्ड पनि त्यस्तै हो। ह्वात्तै कोही रातारात हिट हुन्छ, विस्तारै त्यो भाइरल ज्वरो सेलाउँदै जान्छ।
अहिलेको सत्ता गठबन्धन विगतमा राम्रो काम गरेर, जनतामाझ समृद्धिको भरपर्दो आशा जगाएर, नैतिक र चारित्रिक रुपमा इमानदार र परिशुद्ध भएर जनतामाझ ‘हिट’ भएको हैन, राष्ट्रियताको ‘बेसुरा राग’ गाएर भाइरल भएको हो, नरेश पातलीको बेसुरा सरगमझैं।
संगीत, कला, चलचित्र, नाटक, हास्यरसमा मात्र हैन, राजनीतिमा पनि अचेल ‘भाइरल सिन्ड्रोम’ देख्न पाइन्छ। जस्तै, अहिलेको ओली सरकार पनि एउटा ‘भाइरल सरकार’ नै हो। जसरी झक्कड थापा र नरेश पातलीहरु रातारात भाइरल भए र अचेल ‘भद्रगोल सिरियल’मा अभिनय गर्न थालेका छन्, ठिक त्यसैगरी माके र एमालेको एकतापछि बनेको नेकपा पनि ‘भाइरल’ भएर सत्तामा पुगेको हो।
कुनै पनि व्यक्ति, गीत, चलचित्र या राजनीतिक दल भाइरल हुनुका पछाडि केही न केही फण्डा अवश्य हुन्छ । झक्कड थापा र नरेश पातलीको फण्डा भनेको बेसुरा गाउनु हो। यो संसारमा या त राज सिग्देलजस्ता पर्फेक्ट सुरमा गाउने कलाकारको भाउ छ, या नरेश पातलीजस्ता पर्फेक्ट बेसुरा गाउनेको । बीचका पेन्डुलमहरुको कुनै काम छैन।


ओली सरकार भाइरल हुनुको मुख्य कारणचाहिँ राष्ट्रवादी फण्डा हो। भारतले नाकाबन्दी लगाइदिएपछि ओलीले त्यसको विरोधमा दुई-चार वटा उखानटुक्का के बोलेका थिए, उनी रातारात भाइरल भइहाले। महाकाली सन्धिदेखि प्रतिगमन आधा सच्याउनेसम्मका हर्कतका कारण बदनाम र गुमनाम अवस्थामा पुगेको एमाले र कमरेड ओलीको खाँडो त्यसबेलादेखि नै जागेको हो। भारत विरोधी सेन्टिमेन्टलाई भजाएर रातारात भाइरल भएका कमरेड ओलीले आफ्नो भाइरल व्यक्तित्वलाई नभजाउने कुरै थिएन। गएको चुनावमा मजैले भजाए। राष्ट्रियताको यो भाइरल रागलाई भजाउने मामिलामा माकेका अध्यक्ष प्रचण्ड पनि पछि परेनन्, उनले आफ्नो पार्टीलाई नै ‘भाइरल ग्याङ’मा समाहित गराए। ‘वाम गठबन्धन’को नयाँ फण्डा पनि भाइरल भयो, जसले वामपन्थीहरुलाई सत्तामै पुर्यायो र, यतिबेला मुलुकमा ओली नेतृत्वको ‘भाइरल सरकार’ छ।
झक्कड थापा अचेल विभिन्न च्यानलहरुमा अन्तर्वार्ता दिइरहेका भेटिन्छन्। नरेश पातली पनि आधुनिक गेटअपमा कुनै नायकझैं अन्तर्वार्ता दिइरहेका देखिन्छन्। आफ्नो बेसुरापनमा सारा जगत् हाँसिरहेको, आफ्नो अक्षमताको आम उपहासकै कारण आफू भाइरल भएको र आफ्नो ख्याति असक्षमताको जगमा चुलिएको भन्ने कुराको कुनै बोध नभएझैं यी दुई ‘भाइरल भाइ’हरु विजयी मुद्रामा मिडियामा प्रकट भइरहेका छन्। प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री र अन्य टेलिभिजन शोहरुमा प्रदर्शन गर्ने दुई तिहाइको दम्भ पनि झक्कड र पातलीको फुर्तीफार्तीभन्दा खासै भिन्न छैन।
झक्कड थापा र नरेश पातली हुन् या आजका सत्तारुढ गठबन्धन, उनीहरु भाइरल हुनुसँग साधना, त्याग, समर्पण र लगावको कुनै साइनो छैन। क्षमताबिना रातारात भइरल भएर त्यसको लाभ लिनु भनेको राफल चिठ्ठा परेसरह हो, बिनामिहिनेत र श्रमको पैसा कमाएसरह हो । आखिर कमरेड ओलीलाई पनि त सत्ताको चिठ्ठै परेको हो।
आज जसलाई हामी परिवर्तनका एजेण्डा भनिरहेका छौं, ती एजेण्डा खासमा माओवादीले नै अघि सारेको हो। गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशिता आदि माओवादी ‘जनयुद्ध’पछि ज्वलन्त भएका एजेण्डा हुन्।
२०६२/०६३ को जन आन्दोलनमा पनि ओलीको खासै सक्रिय भूमिका देखिएन। अग्रपंक्तिमा झलनाथ खनाल, वामदेव गौतम र माधव नेपालहरु थिए। माओवादीसँग वार्ता गर्ने र १२ बुँदे समझदारीको वातावरण बनाउने काममा एमालेका यिनै नेताहरुको भूमिका थियो। कमरेड ओलीचाहिँ संघीयता, धर्म निरपेक्षता र गणतन्त्रकै पक्षमा थिएनन्। दोस्रो संविधानसभाको निर्वाचन भइसकेपछि सानेपास्थित सिद्धार्थ कटेजमा आयोजित साप्ताहिक सञ्जालका पत्रकारहरुको भेलामा ओलीले ‘विदेशी छौंडाहरुले संघीयता लादेर देशमा विखण्डनको विजारोपण गरे’ भनेकै हुन्।
सत्तामा आसन जमाइरहेका ‘झक्कड थापा’हरुमा नैतिकता, इमान र जनताप्रतिको उत्तरदायित्व भाव पटक्कै देखिंदैन।
परिवर्तनका एजेण्डाप्रति न त लगाव, न आजको दिन ल्याउनका लागि कुनै सार्थक योगदान। अर्थात् न त शास्त्रीय संगीतको ज्ञान, न लामो सुर साधना । जसरी झक्कड थापा बेसुरा गाएर रातारात भाइरल भए, कमरेड ओली पनि नेपाली राजनीतिमा सत्ता स्वार्थको गणितको खेलमा एकाएक भाइरल भए। भाइरल भइसकेपछि सारा संसार उनकै पछाडि दौडँदो रहेछ। भारतदेखि चीनसम्म, प्रचण्डदेखि उपेन्द्रसम्म अचेल ओलीको भाइरल ट्रेन्डिङ भजाउन उद्यत छन्। अशोक दर्जीको भाइरल ट्रेन्डिङ भजाउन टंक बुढाथोकीहरु लागेझैं ओलीको भाइरल ट्रेन्डिङबाट गएको चुनावमा प्रचण्डले समेत लाभ लिए।
भाइरल ट्रेन्डिङ सदा टिकाउ हुँदैन। चाइनिज मालझैं यो केही समय ह्वात्तै बढ्छ अनि विस्तारै सेलाउँदै जान्छ। जगैदेखि बलियो, साधनाले खारिएको र सक्षम कलाकार लामो समयसम्म टिक्छन्, भाइरल तत्वहरु पानीको फोकासरह हुन्छन्। अहिलेको सत्ता गठबन्धन विगतमा राम्रो काम गरेर, जनतामाझ समृद्धिको भरपर्दो आशा जगाएर, नैतिक र चारित्रिक रुपमा इमानदार र परिशुद्ध भएर जनतामाझ ‘हिट’ भएको हैन, राष्ट्रियताको ‘बेसुरा राग’ गाएर भाइरल भएको हो, नरेश पातलीको बेसुरा सरगमझैं।
नेपालीको चेतनामा अझै पनि स्वनिर्णय संस्कारको विकास हुन सकेको छैन। हाम्रो दिमागलाई भिडले नियन्त्रण गर्छ। स्वविवेक र स्वनिर्णयको अभावमा कमसल चिजको ख्याति हुन्छ, उम्दा चिज छायाँमा पर्छ। राष्ट्रियताको बेसुरा नक्कली रागको पोल त केही साताअघि जनकपुरमा खुलिसकेकै हो, बिम्स्टेक सम्मेलनका क्रममा झन मजाले खुल्यो। झक्कड थापा र नरेश पातली बेसुरा भए पनि उनमा निर्दोषपन र इमानदारिता झल्कन्छ, कुनै आडम्बर, ढोँग र पाखण्ड छैन। तर, सत्तामा आसन जमाइरहेका ‘झक्कड थापा’हरुमा नैतिकता, इमान र जनताप्रतिको उत्तरदायित्व भाव पटक्कै देखिंदैन।
अचेल यो भाइरल सरकार ट्रेन्डिङ सूचीबाट धेरै तल झरिसकेको छ। सायद यही कारण सत्तारुढ दलका अध्यक्ष प्रचण्ड भाइरल हुने नयाँ फण्डाको खोजी गर्दै भारत भ्रमणमा गएका हुन सक्छन्, उनी चीन पनि जाँदैछन्। ओलीको भाइरल ट्रेन्डिङ घटिसकेकाले अब भाइरल हुने पालो प्रचण्डको त हैन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।