काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणका मुख्य व्यक्तिमध्ये एक किशोर बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। हङकङ लगायत बाह्य देशबाट आएको सुन नेपालबाट भारत पुर्याएर त्यसको व्यवस्थापन गर्ने मुख्य जिम्मा उनै बस्नेतको रहेको सीआईबीको दाबी थियो।
बस्नेत पक्राउ परेपछि थप उच्चपदस्थ व्यक्तिहरु पक्राउ पर्न सक्ने आकलन सीआईबीले गरेको थियो। तर सीआईबीले सोचेअनुसार उच्चपदस्थ व्यक्तिहरु कोही पनि कानुनी दायरामा आएनन्। भारतमा सुन व्यवस्थापनको मुख्य जिम्मा पाएको भनिएका उनै बस्नेत विरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। आफैंले दिएको बयानबाट पनि बस्नेत सुन तस्करीमा संलग्न रहेको खुल्छ।
तस्करीको सुनको व्यवस्थापकमध्ये एक रहेका भियना होटलका मालिक दावा छिरिङले किशोर बस्नेतलाई बिना लगानी होटलको १० प्रतिशत सेयर समेत दिन तयार रहेको कुरा अनुसन्धानबाट खुलेको छ। यो कुरा किशोरले आफ्नो बयानमा समेत स्वीकार गरेका छन्। सुन तस्करको व्यवस्थापक रहेका दावाले बिना लगानी १० प्रतिशतसम्म सेयर दिन तयार रहनुले पनि सुन तस्करी प्रकरणमा किशोरको भूमिका पनि मुख्य देखिन्छ।
यस्तो छ बस्नेतको बयान
यस मुद्दामा पक्राउमा परेका प्रतिवादीहरुमध्ये दावा छिरिङलाई मात्र चिन्दछु। दावा छिरिङकी श्रीमती अमला रोक्कालाई मैले करिब १४/१५ वर्ष अगाडिदेखि जडिबुटी बिक्री गर्ने सिलसिलामा चिनेको हुँ भने दावा छिरिङलाई करिब १० वर्ष अगाडि उनकी श्रीमती अमला रोक्कामार्फत चिनजान भएको हो।
सोपश्चात् दावा छिरिङलाई मैले जडिबुटी बिक्री गर्ने गरेको थिएँ। दावा छिरिङले चाइनिज साथीहरुलाई राख्नका लागि नक्साल, बालुवाटार, चुनदेवीतिर घर खोज्दिनू, हामी चाइनिज रेष्टुरेन्ट खोल्छौं भनेका थिए। चाइनिज रेष्टुरेन्ट खोलेपश्चात् बिना लगानी रेष्टुरेन्टको १० प्रतिशत सेयर मलाई दिने भनेका थिए। सोपश्चात् म दावा छिरिङले भने अनुसारको घर खोज्नको लागि प्रहरी प्रधान कार्यालय नक्साल पछाडि, बालुवाटार चुनदेवी गएको थिएँ। दावा छिरिङसँग मेरो भेटघाट भइरहन्थ्यो। विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीपश्चात् दावा छिरिङले ठमेलमा भियना नामको होटल सञ्चालन गरेका हुन्।
करिब ४ महिना अगाडि मलाई दावा छिरिङले चाइनिज साथीहरुलाई जडिबुटी खरिद गर्न ४/५ दिनको लागि भारत लानुपर्ने भएको हुँदा ४/५ दिनसम्म बसी फर्किनको लागि के कति रकम चाहिन्छ बुझ्नु भनी मलाई भनेका थिए। मैले चिनेका गाडीवालाहरुलाई बुझ्दा नेपाली पाँच लाख लाग्छ भनेको हुँदा मैले सोही कुरा दावा छिरिङलाई बताएको थिएँ।
मेरो जडिबुटीको कारोबार ज्याठा, ठमेलमा भइरहने हुँदा दावाले आजभन्दा करिब ३ महिना अगाडि मलाई फोन गरी मेरो गाडी ठमेल सञ्चय कोष अगाडिको हिमालयन जाभाको साइडमा आएको छ, सो गाडीको मान्छेलाई मेरो होटल भियनाको लोकेसन थाहा छैन। सो गाडीलाई मेरो होटल भियनासम्म ल्याइदिनू भनी गाडी नम्बर दिएपश्चात सो गाडीलाई मैले दावा छिरिङको होटल भियनासम्म पुर्याइदिएको हुँ। सो गाडीमा नेपाली चालक मात्र थिए। सो गाडी सानो भ्यान जस्तो थियो। सो गाडीमा पानी सफा गर्ने डिटरजेन्ट पाउडर ल्याएको भनी दावा छिरिङले भनेका थिए। मैले होटल भियनासम्म पुर्याइदिएर म फर्किएको थिएँ। सोवापत मलाई दावा छिरिङले भोलिपल्ट नेपाली २० हजार दिएका थिए।
सिभिल मलमा हिमालयन बिन्स कफी नामको रेष्टुरेन्ट सञ्चालन गर्ने पेम्बा भतिज भन्ने पेम्बा शेर्पालाई भेटी कुराकानी गर्ने क्रममा दावा छिरिङले डिटरजेन्ट पाउडर भनी सुन पगाल्न प्रयोग हुने केमिकल ल्याएको रहेछ भनी मैले पेम्बा भतिज भन्ने पेम्बा शेर्पालाई बताएको थिएँ।
निज दावा छिरिङ यस मुद्दामा पक्राउ पर्नुभन्दा अन्दाजी १५ दिन अगाडि मलाई फोन गरी लाजिम्पाटस्थित क्याफे डी स्यालोनमा दिउँसो ३ बजेतिर बोलाई भेटघाट गर्ने क्रममा दावा छिरिङले सुनको बिस्कुट भएको फोटो देखाई ठमेलमा अन्य चाइनिजहरुले यस्तो किसिमको सुन ल्याउँदैछन्, सुन खरिद गर्ने मानिस खोज्नू, सुन बिक्री गर्ने र खरिद गर्नेले आफैं कारोबार गर्छ, सो बापत प्रति किलो २० हजार नेपाली कमिसन आउँछ भनेका थिए।
सो दिन मैले निज दावा छिरिङलाई २० हजारमा काम गर्दिनँ भनी फर्किएको थिएँ। निज दावा छिरिङ र आगो भन्ने चाइनिज नागरिक पुल्चोक जान भनी हिँडेका थिए। सो भेटघाट भएको भोलिपल्ट दावा छिरिङलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेपश्चात् मलाई समेत पक्राउ गर्ने डरले म भारततिर गएको थिएँ।
म, दावा छिरिङको भाइ गम्बु र आगो भन्ने चाइनिज नागरिक ठमेल छाया सेन्टरस्थित रहेको हिमालयन जाभा सेन्टरमा कफी खाएर बसिराखेको समयमा दावा छिरिङको भाइ गम्बु र आगो भन्ने चाइनिज नागरिकले चाइनिज भाषामा निज दावा छिरिङले गाडीमा ल्याएको डिटरजेन्टले सुन सफा गर्न प्रयोग हुने भनी कुरा गरेका थिए। म अलिअलि चाइनिज भाषा बुझ्ने र बोल्न सक्ने भएकोले मैले थाहा पाएको हुँ। सोही कारण मैले पेम्बा भतिज भनिने पेम्बा शर्पालाई दावा छिरिङले डिटरजेन्ट पाउडर भनी सुन पगाल्न प्रयोग हुने केमिकल ल्याएको रहेछ भनी बताएको हुँ।
मेरो मोबाइलमा भेटिएका सुनका बिस्कुटका फोटाहरु गुगलबाट सर्च गरी राखेको हुँ। ‘आई सेन्ड टु पर्सन फाउण्ड द गोल’ भनी पठाएको म्यासेज हुवाई माइन्स कम्पनीका चिन भन्ने व्यक्तिलाई पठाएको हुँ।
‘गोल्ड बिजनेस पर्सन हि इज नेपाल, एभ्री डे हि ट्रेड ५० किलो गोल्ड’ भनी मैले चाइनिज महिला लीलाई पठाएको हुँ। ली चाइनाको बैंकमा काम गर्ने केटी हुन्। दैनिक ५० किलो सुनको कारोबार गर्ने व्यक्ति हिस्सान हुन्। निजको दुबईमा सुनको पसल रहेको छ। अडियो क्लिप्स सुनाई सोधनी गरिन्छ की ‘गोल्ड का बात आप भैया से बात किजिएगा, मे आपने जो अकाउन्ट दिया हे, यो एक करराहा हूँ आप गोल्ड के बारेमा एक बार भैया से बात किजियगा, किशोर भैया से बात किजियगा’ भन्ने अडियो बर्माको राजु भन्ने व्यक्ति र भारतका हरिश राणाबीच सुनको कारोबार गर्ने क्रममा भएको कुराकानीको अडियो क्लिप्स मलाई बर्माको राजु भन्ने व्यक्तिले पठाएको हो।
‘गोल्ड बिजनेस पर्सन हि इज नेपाल, एभ्री डे ही ट्रेड ५० किलो गोल्ड’ भनी मैले चाइनिज महिला लिईलाई पठाएको हुँ। लिई चाइनाको बैंकमा काम गर्ने केटी हो। दैनिक ५० किलो सुनको कारोबार गर्ने व्यक्ति हिस्सान भन्ने हुन्। उनको दुबईमा सुन पसल छ।
‘गोल्डका बात आप भैया से किजिएगा, मे आपने जो अकाउन्ट दिया हे, एक एक कर रहा हुँ आप गोल्ड के बारेमे एक बार भैया से बात किजिएगा, किशोर भैया से बात किजियगा’ भन्ने अडियो बर्माको राजु भन्ने व्यक्ति र भारतको हरिश राणाबीच सुनको कारोबार गर्ने क्रममा भएको अडियो क्लिप मलाई बर्मा भन्ने राजुले पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।