दक्षिण कोरिया- दक्षिण कोरियामा बस्ने नेपाली महिलासमेत असुरक्षित रहेको बताउँदै आएका छन्। नेपालमा महिला र बालिका बलात्कृत हुनुमा महिलाको पहिरनलाई कतिपयले कारण मान्ने गरेकोमा कोरिया बस्ने नेपाली महिला भने पूर्ण असहमत छन्।
समग्रमा दक्षिण एसियाली राष्ट्रका महिलाहरू नै कुनै न कुनै रूपमा हिंसाबाट पीडित छन्। एसियाली राष्ट्रकै कुनै कुनामा महिला असुरक्षित छन् र कुनै क्षेत्रका महिला भने पूर्ण सुरक्षित छन्। कोरियामा महिला हिंसाका घटना एकदमै थोरै हुन्छन्।
भूगोलअनुसार किन फरक पर्छ त महिला हिंसाका घटनाको संख्या? महिला हिंसा कम हुने देशबाट नेपालले सिक्न सक्ने विषय के–के हुन सक्छन्? लामो समयदेखि दक्षिण कोरिया बसोवास गर्दै आएका र कोरियाका सामाजिक क्षेत्रमा सक्रीय सहभागिता जनाउँदै आएका सरोकारवालाहरू यसो भन्छन्-
पैतृक सम्पत्तिमा समान अधिकार हुनुपर्छ
बाला राई, पत्रकार
नेपाल पितृसत्तात्मक मुलुक हो। कोरिया मातृसत्तात्मक मुलुक हो। त्यसैले यहाँका महिला आफैमा अधिकारसम्पन्न छन्। यद्यपि कोरियामा महिलाहिंसाका घटनालाई गम्भीर रूपमा लिईन्छ। जति कानुन छ, त्यसलाई पूर्ण पालना गरिन्छ। नेपालमा कानून जति नै कठोर बनाएपनि कार्यान्वयन पक्ष एकदमै फितलो छ।
कोरियामा बाबुको पहिचान नभएपनि महिलाले सन्तानलाई नागरिकता दिलाउन सक्छिन् तर नेपालमा अझैसम्म त्यो संभव छैन। त्यस्तै कोरियामा बाबुआमाका निम्ति सबै सन्तान बराबर हुन्छन्, छोरा होस वा छोरी। जति सन्तान छन् सबैको पैतृक सम्पत्तिमा समान हक हुन्छ तर नेपालमा अविवाहित महिलाले ३५ वर्ष पूरा भएमा मात्र आमाबाबुको सम्पत्तिमा दाबी गर्न पाउँछन्।
मेरो विचारमा कोरियामा जस्तै देशका मुख्य सहरमा रेडलाईट एरिया तोकेर वेश्यावृत्तिलाई वैधानिक रूपमा व्यवस्थित गरेर सञ्चालन गर्न सकिन्छ। यसो भएमा महिला बलात्कारजस्ता जघन्य अपराधमा कमी आउन सक्छ।
कानून सबैका निम्ति समान हुनुपर्छ
यज्ञराज सुवेदी, प्रमुख, किमे माईग्रेण्ट सेण्टर
कोरियामा पनि महिला हिंसा वा दुव्र्यवहारका घटना हुँदै नहुने होईन। महिला हिंसाका घटना यहाँ पनि प्रशस्तै सुनिन्छन्। तर यहाँ कानूनको पूर्ण कार्यान्वयन हुन्छन्। महिला हिंसा न्यूनीकरण गर्न कानूनी व्यवस्थाको कार्यान्वयन नै नेपालले सिक्नुपर्ने मुख्य विषय हो।
कोरियामा अपराधीलाई कसैको संरक्षण हुँदैन। कानून हरेक देशमा आ—आफ्नै प्रकृतिका हुन्छन्। भूगोल र संस्कृतिअनुसार देशलाई सुहाउँदो तरिकाले कानून निर्माण गर्नुपर्छ र यसको पूर्ण कार्यान्वयन गनु पर्छ। कोरियामा जस्तै नेपालमा पनि कानून सबैका निम्ति समान हुने हो भने महिला हिंसा न्यूनीकरण गर्न सम्भव छ।
कानून कार्यान्वयनमा नातावाद र कृपावादको अन्त्य हुनुपर्छ
बिना ढुंगाना, व्यवसायी
म एक व्यवसायी हुँ। यहाँ म रातको जुनसुकै समयमा पनि बाटोमा एक्लै हिँड्न सक्छु। शहरक सबै क्षेत्रमा सिसी क्यामेरा जडान छ। त्यो मात्र हैन, यहाँका हरेक व्यक्तिमा असल संस्कार रहेको म पाउँछु। महिला गाडीमा चढ्नासाथ महिलाको लागि छुट्याईएको सिटमा बसेको व्यक्ति उठ्छ। बाटोमा हिँड्दा कतै धक्का लाग्न पुगेमा ‘छुईसोङ हामीदा’ (माफ दिनुहोस्) भन्दै शिर निहुर्याउँछन्।
यस्तो संस्कार युवा तथा बालबालिकामा पाइन्छ । उनीहरूमा सानैदेखि असल संस्कारको विकास गरिएको छ। अर्को कुरा नेपालमा छोटा लुगा लगाएर विकृति बढ्यो, महिला हिंसा बढ्यो भनिन्छ तर यहाँका विश्वविद्यालयमा अध्ययन गर्ने छात्राले मिनिस्कट लगाएर जान्छन्। त्यसैले पहिरनको विषय होईन हाम्रो मानसिकता नै गलत छ।
‘नेपाली आमालाई सन्तानको रूपमा छोरा मात्र देउ, भगवान् राक्षसी प्रवृत्ति भएको छोरालाई जन्म नदेउ भगवान् ! छोरीलाई सुरक्षित राख्न गाह्रो छ मेरो देशमा’ भन्ने अवस्था नेपालमा छ। कानून कार्यान्वयनमा नातावाद र कृपावादको अन्त्य जहिलेसम्म हुँदैन, दोषीले सजायाँ पाउँदैन।
काेरियामा महिला सुरक्षित छन्
शेयोङ लिम्बू, इपीएसबाट काेरिया अाएकी कामदार
यहाँको कानुनमा के छ, त्यो त मलाई जानकारी छैन। तर म आफूलाई अत्यन्तै सुरक्षित छु भन्ने अनुभुति गर्न पाएकी छु। यहाँ हिँडडुल गर्दा समयको बन्देज छैन अर्थात् जुनकुनै समयमा जुनसुकै क्षेत्रमा जाँदा पनि सुरक्षित छु। नेपालमा त मान्छेबाट मान्छे नै असुरक्षित छन्। यहाँ त्यस्तो असुरक्षा छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।