काठमाडौं– कक्षा ११ को छात्रवृत्तिका लागि कूल ४ हजार ३ सय कोटाका लागि ६ हजार १७ जनाको आवेदन परेको छ। जसका लागि १५ वटा परीक्षा केन्द्र तोकिएका छन्।
परीक्षार्थीहरुका लागि भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि, कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको छ।
यस्तै पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चावहिल, रत्नराज्य मावि बानेश्वर, सहिद शुक्र मावि बागबजार, संस्कृति मावि रानीपोखरी, शान्ति शिक्षा मन्दिर मावि ठँहिटी र सिद्धेश्वर मावि शान्तिनगर हुन्।
परीक्षा दिने विद्यार्थी कूल ६ हजार १७ जनामध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन्। त्यसैगरी व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना छन्। सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना छन्।
शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन्। यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मावि कुलेश्वरमा राखिएको छ। साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि बिहिबारदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्नेछन्।
आवेदन दिन योग्यता र छनोट प्रक्रिया
छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्यूनतम १.६ जीपीए ल्याएको हुनुपर्नेछ। सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नुपर्छ। संस्थागत (निजी) विद्यालयबाट उत्तिर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन सिफारिस गर्नुपर्छ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।
बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिवासी र जनजातिलाई १५ प्रतिशत, मधेसीलाई १२ प्रतिशत, खसआर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए।
उनकाअनुसार दलितलाई ९ प्रतिशत, मुस्लिमलाई २ प्रतिशत, थारुलाई ४ प्रतिशत, अपाङ्गता भएको व्यक्तिलाई २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४ प्रतिशत, सहिद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइनेछ।
पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ।
आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौं महानगरवासीलाई प्राथमिकता दिइनेछ। वैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ।
प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तिर्णाङ्क
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन्। उत्तिर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ। गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ) हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।