डडेलधुरा– शहीद भीमदत्त पन्तको ७१औं स्मृति दिवस आज (बुधबार) विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
शहीद भीमदत्तको स्मृति दिवसको अवसरमा उनको जन्मभूमि डडेलधुरासहित सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा मनाइँदैछ।
१९८३ मंसिर १० गते डडेलधुराको कारीगाउँमा जन्मेका भीमदत्त पन्तले ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।
भारत उत्तर प्रदेशको सिन्हाइबाट संस्कृत बिषयमा हाइस्कुल सम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो। यसले नै उनमा राजनीतिक स्वभाव बढायो। सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए।
भारतमा अध्ययनरत रहेका अवस्थामा अंग्रेजविरुद्धको आन्दोलनमा सरिक हुँदा पन्त पक्राउ परेका थिए। त्यसपछि २००३ सालमा जेलबाट छुटेर उनी नेपाल फर्किए। नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेसको आन्दोलनमा सहभागी भए। गरिब, दलित, जनजाति किसानहरुलाई संगठित गरी राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि कांग्रेस राणा समेतको सरकारमा सहभागी भएपछि पन्तले कांग्रेस परित्याग गरे। कांग्रेस छाडेपछि उनले किसान आन्दोलन सुरु गरे। जसक्रममा उनी कम्युनिस्ट विचारधाराप्रति झुकाव राख्न थाले। २००९ सालमा काठमाडौं गएर उनले कम्युनिस्ट पार्टीका नेताहरुसँग कुरा गरे।
किसान आन्दोलन सुरु गरेका उनले २००९ सालमा कञ्चनपुरको ब्रह्मदेवमा नुन राखिएको गोदाम कब्जा गरेर किसानलाई वितरण गरे। त्यसपछि उनी नेपालीसँगै भारतीय शासकको समेत निगरानीमा परे। किसान आन्दोलनकै क्रममा उनका दुई छोरा प्रेमराज र लीलाराज तथा छोरी रेवाको मृत्यु भयो।
गरिबहरु संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन। उत्पादन बढाउनुपर्छ। अनावश्यक खर्च घटाउनु पर्छ। प्रकृति बिग्रने काम गर्नु हुँदैन भन्ने जस्ता कुरामा पनि भीमदत्तले सचेतना अभियान चलाएका थिए।
सामाजिक जागरणसहित परिवर्तनका लागि मुक्ति सेना गठन गरेर सशस्त्र संघर्ष सुरु गरेका पन्तलाई मार्नका लागि नेपालले भारतीय सेनाको समेत सहयोग मागेको थियो। नेपाली कांग्रेसका मातृका प्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले पन्तको आन्दोलन दमन गर्नका लागि भारतसँग सैनिक सहयोग मागेको थियो।
त्यसपछि भारतीय सेनाले पन्तको आन्दोलनविरुद्ध पश्चिम तराईमा दमन सुरु गरेको थियो। तराईमा भारतीय सेनाको समेत मद्दत लिएर सरकारी पक्षबाट तीब्र दमन सुरु भएपछि पहाड लागेका पन्तको २०१० साल साउन १७ गते डडेलधुराको आलिताल र डोटीको छतिवनको सीमानामा पर्ने गल्लेक गाउँमा उनको हत्या भएको थियो।
नेपाली र भारतीय सेनाको घेराबन्दीमा परेका पन्त गल्लेकमा आफ्ना मितको घरमा बसेका थिए। पन्तको हत्या गर्न सरकारी पक्षले उनका मितलाई नै प्रयोग गरेको थियो।
गल्लेकबाट नियन्त्रणमा लिइएका पन्तको टाउको काटेर हत्या गरिएको थियो। पछि उनको टाउको डडेलधुराको खलंगामा, बाँसको खम्बा गाडेर टांगिएको थियो।
क्रान्तिकारी किसान नेता पन्तलाई राज्यले निकै पछिमात्र शहीद घोषणा गरेको हो। सरकारले पन्तलाई २०७२ फागुन १९ गते शहीद घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।