काठमाडौं– गत फागुन १ गते बालाजुमा भएको प्रहरीको गाडी आगजनी, तोडफोड तथा लुटपाटको घटनामा कमजोर कमाण्ड भएको भन्दै प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाही गरिएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी बमलाई नसियतको कारबाही गरिएको हो। बालाजु वृत्तको क्षेत्रमा घटना भएको भएपनि थप मद्दतका सोह्रखुट्टेबाट तत्काल पुगेर कारबाही अघि बढाउनुपर्नेमा उक्त कार्यमा चुकेको भन्दै डीएसपी बमलाई नसियत दिइएको हो।
नसियत दिइएको मितिले एक वर्षभित्र डीएसपी बमलाई पनि बढुवा गर्न नमिल्ने बताइएको छ।
गत फागनु १ गते यातायात मजदुरले गरेको आन्दोलनको क्रममा प्रहरीकै भ्यानमाथि आगजनी भएको थियो।
उक्त घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। उक्त समितिले डीएसपी बमलाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार उनलाई नसियत दिइएको हो।
समितिकै सिफारिसमा आधारमा बालाजुका तत्कालीन डीएसपी रविन बिष्टको तीन वर्ष बढुवा रोक्का गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।