मुम्बई- ९० को दशकमा असाध्यै चर्चित बलिउड अभिनेता गोविन्दालाई चाहनेहरुको संख्या ठूलो थियो। उनीसँग विवाह गर्न चाहने महिलाहरुको संख्या नै निकै थियो।
हालै एक अन्तरवार्तामार्फत् गोविन्दा र उनकी पत्नी सुनिताले एक फ्यान भेष बदलेर घरमा कामदार बन्न पुगेको सार्वजनिक गरेका छन्।
जब गोविन्दाकी श्रीमती सुनिताले शंका गरिन्, त्यसपछि मात्रै उनी घरमा सहयोगीको काम खोज्दै आएकी ती युवती सम्पन्नशाली परिवारकी छोरी भएको खुल्यो।
त्यसबेला कामदार बनेकी ती युवतीका बुवासँग आठवटा कार रहेकोसमेत पत्ता लाग्यो। सुनिताले गोविन्दासँग विवाह गरेको भए पनि सार्वजनिक नगर्दाको समयको घटना रहेको उनीहरुले बताएका छन्।
बलिउड बबलसँग कुरा गर्दै गोविन्दाले भने, ‘एकदिन मैले उसलाई मेरो घर बाहिर उभिइरहेको भेटेँ। मैले उसलाई सोधेँ- तिमीलाई काम चाहिएको हो? यदि चाहिएको भए आमासँग कुरा गर्नू। आमाले सबै काम गर्ने भएकाले उनलाई सहयोगीका रुपमा राखिहाल्नुभयो।’
ती युवतीले काम भने गतिलो गर्न सकिनन्। गोविन्दा बाहिर हुँदा काममा उति मनसमेत नलगाउने उनी घरमा हुँदा सक्रिय हुन खोज्थिनन्। यही क्रममा एकदिन गोविन्दाकी पत्नी सुनिताले फोनमा कुरा गरिरहेको अवस्थामा फेला पारिन्।
त्यसपछि सुनितालाई शंका लागेर सोधिन्- ‘को हौ तिमी?’ ती युवतीले आफू काम खोज्न नभइ गोविन्दा मन पर्ने भएकाले उक्त भेषमा आएको बताइन्।
सुनिताका अनुसार उनीहरुले सन् १९८७ मा विवाह गरेका थिए। तर एक वर्षसम्म सार्वजनिक गरेनन्। त्यतिबेला करिअरको चुचुरोमा रहेका गोविन्दाको करिअरमा असर पर्ने भएकाले उनीहरुले विवाहको कुरा लुकाएका थिए। उनकी छोरी टीनाको पहिलो जन्मदिनमा मात्रै सार्वजनिक गरेका हुन्।
उनीहरुको विवाहको ३६ वर्ष पूरा भएको छ। सुनितालाई गोविन्दाको आमाले मन पराएको उनीहरुले खुलाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।