गुल्मी– गुल्मीमा एक भारतीय नागरिकलाई हत्या गरेर नदीमा फालेको आरोपमा दुई अभियुक्तलाई सार्वजनिक गरिएको छ। भारतको सुगौली पुर्वी चम्पारण बिहार वडा नं. १८ का ४४ वर्षका शेख आलिनामको हत्याको अभियोगमा गुल्मीको सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारीले आफैँ स्वीकार गरेपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार अभियुक्तलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। गत माघ १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सीमाना कालीगण्डकी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए। घटनाबारे प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा ७ जनाको टोली खटेर घटनाको अनुसन्धान गरेको थियो। शवकाे प्रकृति हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकोले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
गत माघ १२ गते मादक पदार्थ सेवन गरेको नसाको तालमा भारतीय नागरिकले आफ्नी श्रीमती विष्णुलाई जिस्काएकाे छविलालले बयान दिएका थिए। त्यही निहुँमा पछि श्रीमान् छविलाल र श्रीमती विष्णु मिलेर हथौडा प्रहार गरी हत्या गरेको प्रहरीसामु अभियुक्तहरुले बयान दिएको प्रहरी उपरीक्षक रानाभाटले बताए। मादक पदार्थ सेवन गरेको नसाको सुरमा आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलालले आफ्नै घरमा रहेको हथौडाले उनको टाउकोमा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। अभियुक्तलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मृतक आलिनामको शव उनले लगाएको कपडाका आधारमा सनाखत भएको थियो। शव मृतकका भिनाजुले बुझेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।