तिमी मलाई हेर्न देऊ
मेरा आफ्नै आँखाबाट
गाउन देऊ मेरै गीत
मेरो आफ्नै भाकाबाट!
तिम्रा आँखा तिम्रो हेराइ
मेरो भन्दा फरक छ
तिम्रो गीत तिम्रो भाका
मेरोभन्दा फरक छ!
तिमी मेरो पतनमा
उत्थान देख्ने मान्छे
तिमी मेरो वर्वादीमा
गौरव लेख्ने मान्छे!
लेख्न देऊ मेरो कथा
मेरा आफ्नै मनबाट
लेख्न सक्छु मैले पनि
मेरो आफ्नै पनबाट!
तिमी हाम्रो चित्कारमा
खुसी हुने मान्छे
तिमी हाम्रो अभावमा
खुसी हुने मान्छे!
बोल्न देऊ मेरा कुरा
मेरो आफ्नै मुखबाट
खुल्न देऊ तिमी मलाई
मेरा आफ्नै दु:खबाट!
तिमी मेरो हारमाथि
शासन गर्ने मान्छे
तिमी मेरो शिरमाथि
आसन गर्ने मान्छे!
फुल्न देऊ मलाई तिमी
मेरै पाखा पखेरीमा
डुल्न देऊ मलाई पनि
देशको दलान मझेरीमा!
२०७९ पुस २७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।